अनि रेणुले भिडियो क्लिप्स नै खोलेर देखाइदिइन्…


  • काठमाडौं । 
नेपालको चुनाव न हो, जित्दासम्म सबै ठीक, हारेपछि ‘यो पनि बेठीक, त्यो पनि बेठीक !’ भरतपुर महानगर प्रमुखमा प्रम पुष्पकमलपुत्री रेणुले हारिसकेकी छैनन् तर स–साना कुरालाई लिएर भित्रभित्रै समस्या भने सुरु भइसकेका छन् ।

अहिले दाहाल परिवारभित्र लफडा चलेको छ, नारायण दाहालको भूमिकालाई लिएर । पहिला रेणुलाई काठमाडौंबाट भरतपुर लैजाने र महानगर प्रमुख उठाउने कुरा नारायणले नै चलाएका हुन् । काठमाडौंको क्षेत्र नं. १ लाई आधार बनाएर पार्टी काम गरिरहेकी रेणुलाई उता लैजाने कुरा भएपछि त्यही क्षेत्रमा काम गर्ने झक्कुप्रसाद सुवेदीहरुले हत्तपत्त रेणुको पार्टी जिम्मेवारी चितवन जिल्लामा सारिएको पत्र तयार पारे ।

यसपछि रेणुले नमान्ने कुरै थिएन । जब रेणु जान राजी भइन् र भावी मेयरकी प्रत्याशीका रुपमा उनी प्रचारित हुन थालिन्, त्यसपछि नारायण आफैं लोभिए । उनले ‘आफैं उठ्छु’ सम्म भने । रेणुले ‘त्यसो भए अब म उठ्दिनँ । सबैतिर हल्ला भएपछि आफैं उठ्छु भन्ने ?’ भन्दै गुनासो गरिन् । तर, प्रम पुष्पकमलले भरतपुर पार्टी एक्लैले नजित्ने, काँग्रेससँग सहकार्य गर्नुपर्ने र सहकार्यका निम्ति नारायणलाई भन्दा रेणुलाई अगाडि सार्दा सहज हुने बताएपछि नारायण आकांक्षीका रुपमा पछि हटे ।

हिजोआज बालुवाटारमा कुरा चल्न थालेको छ कि, नारायण दाहालको भूमिका पहिलादेखि नै राम्रो थिएन । उनीहरु १३ दिने दाजुभाइ हैनन् । मर्दापर्दा जुठोसम्म लाग्दैन । दाहाल–दाहाल मात्र हुन्, घरसम्म चितवनको शिवनगर हो, पहाड पनि कास्की, ढिकुरपोखरी । तर, नाता पर्ने हैनन् । तर, नारायण आफूलाई पुष्पकमलका सहोदर भाइ भन्ने गर्छन् ।

उनका आफ्नै भाइ त गंगा दाहाल हुन्, विदेशमा छन् । बाको नाम भजाएको भनेर रेणु, प्रकाशहरु अहिलेसम्म फायर छन् । अहिले उनीहरु नारायणसँग फायर हुनुको कारण बनेका छन्, चितवनको एसपी दीपक थापा । उनलार्य ‘हाम्रो मान्छे’ भन्दै चितवन लगेका नारायणले । शक्ति बस्नेत र्गहमन्त्री हुँदैमा लैजान खोजेका थिए । तर, शक्तिले मानेनन् ।

विमलेन्द्र निधि गृहमन्त्री हुनासाथ लगे । बालुवाटारको बुझाईअनुसार ‘अपिहले दीपक थापाले एमाले नै भएर बोल्यो’ भन्ने छ । ‘माओवादीले बाँदरझैं उफ्रिएर मतपत्र च्याते’ भनेको कुरा केपी ओलीको लवजसँग ठ्याक्कै मिल्छ भन्दै अस्ति पनि बालुवाटारमा चर्चा भइरहेको थियो । रेणुले नारायणलाई सोधिन्, ‘तपाईंले ल्याएको मान्छे यस्तै हुन्छ ?’ नारायणले जोगिनलाई बोलेको होला भने ।

रेणुले भिडियो क्लिप्स नै खोलेर देखाइदिइन् । अनि, नारायणले केही बाध्यता थियो होला, मान्छे त हाम्रै हुन् भने । जबकि, ०६४ मा प्रचण्ड नेतृत्वको सरकार हुँदा यिनै दीपक थापा गृहमन्त्री वामदेव गौतमको विश्वासपात्रका रुपमा प्रहरी प्रधान कार्यालयको सबभन्दा महत्वपूर्ण मानिने कर्मचारी प्रशासन शाखामा ल्याइएका थिए । जनआस्था साप्ताहिकमा खबर छ ।

२०७४ जेठ १७ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...