संघीय समाजवादी र राजपासँग देउवा - प्रचण्डको तीन बुँदे सहमति (पत्रसहित)

  • काठमाडौँ । 

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले आन्दोलनरत राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे छुट्टा-छुट्टै सहमति गरेका छन्। सहमतिको विषय एउटै भए पनि छुट्टा छुट्टा सम्झौतापत्र बनाएर हस्ताक्षर गरिएको छ।

संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको हो । उक्त सहमतिपत्रमा काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपाका अध्यक्षमण्डलका नेता महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् । 

अघिल्लो सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता, सङ्घीय आयोग गठन, संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, घाइतेलाई उपचार र पीडितलाई क्षतिपूर्तिका बाँकी काम पूरा गर्नाका साथै स्थानीय तहको सङ्ख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ । 

सहमतिको तेस्रो बुँदामा प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा काँग्रेस सभापति देउवाका पक्षमा मतदान गरिने उल्लेख छ । तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राजपा नेपालका २४ सांसद छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका १५ सांसद छन्।

यसैगरी सङ्घीय समाजवादी फोरम नेपालसँग पनि सोही तीनबुँदे सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
२०७४ जेठ २३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...