ग्रेड वृद्धिका लागि पूरक परीक्षा साउन १९ गतेदेखि


काठमाडौं । 

एसईईको परीक्षामा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका छन् । अागामी साउन १९ गतेदेखि २६ गतेसम्म ग्रेड वृद्धिको परीक्षा सुरु गर्ने परीक्षा नियन्त्रण कार्यालायले जनाएको छ ।

कार्यालयका अनुसार ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाएका थिए ।

यस वर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डी’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले पनि ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

साउन १९ गते अनिवार्य अंग्रेेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अंग्रेजी विषयको परीक्षा हुने छ ।

त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा हुने छ ।साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

साउन २५ ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले सार्बजनिक गरेको परीक्षा तालिकामा उल्लेख छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...