रेस्टुराँमा गेस्टसँग धेरै पटक बिनाकन्डम यौनसम्पर्क राखे के हुन्छ ? डाक्टरले दिए यस्तो सुझाव



रेस्टुराँमा काम गर्दागर्दै पनि अध्ययनलाई निरन्तरता दिनुभएको कुराले खुसी बनाएको छ, तर आफूले गर्ने काममा आवश्यक सावधानी र सुरक्षा अपनाउन नसक्दा केही समस्या परेजस्तो बुझिन्छ । तपाईंको जिज्ञासाको जवाफ दिनुभन्दा पहिले तपाईंको काम र त्यसले पार्न सक्ने प्रभावका बारेमा केही चर्चा गरौं ।

तपाईंले गरेको काम के होला ?

रेस्टुराँ अर्थात् चमेना घरमा काम गर्ने भए पनि तपाईंले काम गर्ने ठाउँ चमेनाघर नभै त्यसको आडमा अन्य केही काम भएको वा गराइएको देखिन्छ । चमेनाघरको सेवामा नपर्ने भए पनि तपाईंले पाहुनासँग धेरै पटक यौनसम्पर्क राखेको कुरा गर्नुभएको छ । तपाईंले आफूनै इच्छाले त्यसरी पाहुनाहरूसँग यौनसम्पर्क राख्नुभएको हो वा कसैको दबाबमा जानकारी भएन । यदि दबाबमा हो भने यो यौन हिंसा भएकाले त्यतातिर पनि ध्यान पुर्‍याउनुपर्छ । पैसा र अन्य वस्तु लिएर यौन (सम्पर्क) सेवा दिनु देहव्यापार हो । आफूलाई थाहा भएर होस् वा अन्जानमै तपाईं बिस्तारै यौन पेसाकर्मी बन्न पुग्नुभएजस्तो लाग्छ । यसका आ–आफ्नै असर छन् । तपाईंलाई यो क्षेत्रमा आउनुपर्ने बाध्यता वा रहर किन भयो, थाहा भएन ।

के भएको होला ?

तपाईंले लेख्नुभएको जानकारीका आधारमा योनिमा संक्रमण भएजस्तो बुझिन्छ जुन प्रजनन अङ्ग वा यौनरोग लाग्दा हुन्छ । असुरक्षित यौनसम्पर्कपछि यस्तो देखिए शंका गर्नुपर्छ र पक्का थाहा पाउन परीक्षण गराउनुपर्छ । कन्डमको प्रयोगबिना यौनसम्पर्क गर्दा तपाईंमा रोग सरेको हुनसक्छ । यही क्रममा तपार्इंबाट पनि अरू कति जनालाई रोग सरिसकेको हुनुपर्छ । योनिको संक्रमण हुँदा अस्वभाविक योनि श्राव हुने, चिलाउने तथा दुख्ने हुन्छ । अस्वभाविक योनिश्राव हुँदा सामान्य रूपमा योनिबाट आउने श्रावभन्दा धेरै बढी मात्रामा गन्हाउने वा मैलो किसिमको पानी आउँछ ।

ब्याक्टेरियल भ्याजिनोसिस : योनिमार्गमा हुने गार्डनेरेला भनिने जीवाणु अत्यधिक रूपमा बढ्न गै सिर्जना हुने यस्तो अवस्थामा माछाको जस्तो गन्हाउने पानी आउँछ, जुन यौनसम्पर्कपछि वा महिनावारी पछि अझ स्पष्ट रूपमा
देखा पर्छ ।

क्यान्डिडियासिस : यो क्यान्डिडा एल्विकान्स भनिने एक प्रकारको ढुसीको संक्रमणले हुन्छ । थोरै मात्रामा यो योनिमा हुने भए पनि विशेष गरेर ग्लुकोजको मात्रा वृद्धि भएको तथा योनिमार्ग बढी अम्लीय भएको बेला चर्को हुन्छ । यसमा एकदमै चिलाउँछ । योनिश्राव बाक्लो, सेतो र चीजजस्तो हुन्छ र कतिपयले यसलाई दही जस्तो पनि भन्छन् । माछाको जस्तो गन्ध आउन सक्छ । यौनसम्पर्कमा पनि पीडा हुनसक्छ । महिनावारी भएका बेला यसका लक्षण कम हुन्छन् ।

ट्राइकोमोनियासिस : ट्राइकोमोनास भ्याजिनालिसको संक्रमणमा चिलाउने नै प्रमुख लक्षण हुन्छ । बाक्लो योनिश्राव हुन्छ र हरियो, पहेंलो वा क्रिम किसिमको हुनसक्छ वा फिँजजस्तो हुन्छ । योनि तथा भग क्षेत्रमा तथा पिसाब फेर्दा पीडा हुनसक्छ । चिलाउने र योनिश्राव महिनावारी सकिना साथ वृद्धि हुन्छ । गोनोरिया भएको छ भने पहेंलो किसिमको योनिश्राव हुनसक्छ र योनि रातो वा सुन्निएको हुनसक्छ । योनि चिलाउने वा पोल्ने पनि हुनसक्छ । क्लामाइडिया भनिने रोग लाग्दा पनि अत्यधिक योनिश्राव हुन्छ ।

ट्राइकोमोनियासिस, गोनोरिया तथा क्लामाइडिया यौनसम्पर्कका कारणले सर्ने भएकाले यी सबै यौन रोग हुन् । अर्को विचार गर्नुपर्ने कुरा के हो भने कतिपय परिस्थितिमा यसको लक्षण नै नदेखिन सक्छ । आफ्नो यौनसाथी अर्थात् पाहुनामा लक्षणहरू देखिएका छ कि छैनन् त्यसमा ध्यान दिनु जरुरी छ । यस्ता लक्षण तुरुन्तै पनि देखा पर्न पनि सक्छन् भने कहिलेकाहीँ हप्तौं वा महिनौं पनि लाग्न सक्छ । यी लक्षण देखा परेर हराएजस्तो भए पनि सतर्क रहनुपर्छ, किनभने रोग भित्रभित्रै सल्किरहेको हुनसक्छ ।

यसको हल के होला ?

कतिपय यौनरोगको उपचार छ र त्यो निकै सजिलो पनि छ । यौनरोगको समयमै उपचार नगर्दा त्यसका गम्भीर जटिलता सिर्जना हुन सक्छन् । त्यसैले सक्दो चाँडो उपचार गराइहाल्नुपर्छ । कुनै पनि लक्षण देखा पर्नासाथ चिकित्सकसँग सल्लाह लिनुपर्छ । तपाईं कुनै पनि अस्पताल, स्वास्थ्यकेन्द्र वा चिकित्सकको निजी क्लिनिकमा जान सक्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार ठीक मात्रामा पूरा समय औषधी खानु आवश्यक छ । चिकित्सकसँग कुराकानी गर्दा आफू संलग्न भएको कुनै पनि जोखिमपूर्ण यौन व्यवहारका बारेमा नलुकाई भन्नुपर्छ ताकि उपचार गर्न सजिलो होस् ।

अब के गर्ने ?

यो पेसामा लाग्दा खानपान, नाचगान अनि यौन आनन्द त होला र यसबाट प्राप्त हुने पैसा वा धनले गर्दा जीवन केही सजिलो पनि भएको होला, तैपनि नेपालमा देहव्यापारलाई राम्रो मानिँदैन । यसमा धेरै नै हेला अनि तिरस्कारको सामना गर्नुपर्छ । आफूले गर्ने कामका बारेमा पनि निर्धक्कसँग खुलेर कुरा गर्न सकिँदैन । कसैले थाहा पाउला भनेर एक किसिमको त्रासमा बस्नुपर्ने हुन्छ । तपाईंले अनुभव गर्नु नै भएको होला कि यी कुराले जीवन गुणस्तरीय हुन दिँदैन । तपाईंले सबै बुझेर नै यो सब गर्नुभएको हो भने त कुरा अर्कै हो, तर आफ्नो सम्पूर्ण जीवनलाई हेर्नुभयो भनेचाहिँ यही पेसालाई निरन्तरता दिने कि जीवन जति नै कठिन भए पनि अध्ययन एवं वृत्तिविकासमै ध्यान केन्द्रित गर्ने विचार पुर्‍याउनुपर्छ ।

(साप्ताहिकबाट साभार)

प्रतिकृया दिनुहोस्

Loading...