पुरुष हुँ, तर म पुरुषसँगै यौनसम्पर्क गर्छु, यो बानी हटाउन के गर्नुपर्ला ? डा. भद्राले दिए यस्तो समाधान


डा राजेन्द्र भद्रा

केटासँगैको यौनसम्पर्क 

किशोरावस्थामा विशेष गरी यौनभावना प्रबल हुनुका साथै विपरीत लिङ्गीप्रति आकर्षित हुने कुरा त हामीले बुझेकै छौं । धेरैजसो व्यक्तिका लागि यो कुरा यथार्थ भए पनि सबैका लागि भने त्यस्तो नहुन सक्छ ।

कतिपय व्यक्ति समान लिङ्गीप्रति नै यौनका दृष्टिकोणले आकर्षित हुन्छन् । तपाईंलाई पनि त्यस्तै भएको पाइन्छ । 

यौनका दृष्टिकोणले विपरित लिङ्गीप्रति आकर्षित हुने व्यक्तिलाई ‘विपरित लिङ्गी’ यौन परिचय भएको मानिस भनिन्छ भने आफ्नै जस्तो समान लिङ्ग भएको व्यक्तिप्रति आकर्षित हुनेलाई ‘समलिङ्गी’ -(homosexual)र यस्तो ‘पन’लाई समलैङ्गिकता (homosexuality) भनिन्छ । यौनका दृष्टिकोणले पुरुष तथा महिला दुवैप्रति आकर्षित हुने व्यक्तिलाई द्विलिङ्गी (bisexual) भनिन्छ । 

कतिपयमा समलिङ्गी पुरुषहरू हुन्छन् कि महिला भन्नेमा पनि स्पष्टता नभएको पाइन्छ । यसरी समान लिङ्ग भएको व्यक्ति भनेपछि ‘एक पुरुष अर्को पुरुष’ प्रति नै आकर्षित हुने कुरा हो भने ‘एक महिला अर्को महिला’ प्रति आकर्षित हुने कुरा हो । त्यसैले समलिङ्गी व्यक्ति पुरुष पनि हुनसक्छ भने उनीहरू महिला पनि हुन सक्छन् । सामान्यत: पुरुष समलिङ्गीका लागि अंग्रेजीमा गे (gay) तथा महिलाका लागि लेस्बियन (lesbian) शब्द प्रयोग गरिन्छ ।

आफ्नो यौन परिचय के होला भनेर पक्का हुनुभन्दा पहिले निकै अलमल हुन्छ । केही व्यक्तिमा समान लिङ्ग भएकै व्यक्तिसँग यौन क्रियाकलापमा संलग्न भएपछि केही अलमलको स्थिति पार गरेर उनीहरूले समानलिङ्ग भएका व्यक्तिको खोजी गर्न थाल्छन् । अर्को थरीले कुनै पनि यौनसम्पर्क हुनुभन्दा पहिले नै आफ्नो यौन परिचय के हो भनेर थाहा पाइसकेका हुन्छन् । विशेष गरेर पुरुषले किशोरावस्थामै आफ्नो यौन परिचय के हो भन्ने निक्र्योल गरिसकेका हुन्छन् । तपाईंले आफ्नो उमेर त भन्नुभएको छैन, सम्भवत: किशोरावस्था पार गरिसक्नुभएको भए निक्र्योल गरिसक्नुभएको हुनुपर्ने हो । तपाईंले उहाँलाई देख्नासाथ यौनसम्पर्क गर्न मन लाग्नुले तपाईं समलिङ्गी हुनु भएको र तपाईं एक विशेष सम्बन्धमा बाँधिनुभएको संकेत मिल्छ । 

यो बानी हटाउन के गर्नुपर्ला ? 

तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले यस्तो किन हुन्छ भन्ने कुरामा संक्षिप्त चर्चा गरौं । यस्तो किन हुन्छ भन्ने कुरामा संसारमा अनेक विचार छन् र ठूलो विवाद पनि छ । 

विशेष गरेर पुरातनवादी तथा संकुचित विचार राख्नेहरू यसलाई एक किसिमको विकृति तथा पाप मान्छन्, तर अहिले वैज्ञानिक तथा खुला विचारधारा राख्ने व्यक्तिहरूको विचार भने बिल्कुलै फरक छ । उनीहरूको विचारमा यो कुनै व्यक्तिको नियन्त्रणभन्दा बाहिरको कुरा हो । कुनै व्यक्तिले रोजेर यस्तो हुन सक्दैन, जसरी विपरीत लिङ्गी यौन परिचय भएको व्यक्तिले आफ्नो रोजाइमा समलिङ्गी व्यक्तिका रूपमा आफूलाई परिवर्तन गर्न सक्दैन । उनीहरूका अनुसार यस्तो वंशाणुगत वा गर्भमै रहँदा भएको विशेष परिवर्तनका कारण हुन्छ । त्यसकारण यो जन्मजात नै हुन्छ । वैज्ञानिकहरूले त समलैङ्गिकता गराउने ‘वंशाणु’ नै पत्ता लगाइसकेका छन् । यसरी अहिले यसो हुनुको प्रमुख कारण जैविक रहेको थप तथ्यहरू खुल्दैछन् । यसको अर्थ के हुन्छ भने यो पनि एउटा प्राकृतिक कुरै हो । 

गहन वैज्ञानिक अनुसन्धानपछि पत्ता लागेको कुरा यस्तो प्रवृत्ति जन्मजात र स्वाभाविक रूपमा हुने भएकाले यसलाई परिवर्तन गर्न सजिलो छैन ।

अब के गर्नुपर्ला ? 

तपाईंले आफ्नो साथीसँग यौनसम्पर्कको कुरा गर्नुभए पनि तपाईंको उहाँसँगको भावनात्मक सम्बन्धका बारेमा भने पत्रमा केही उल्लेख छैन । तपाईंको भावी जीवन तपाईंले गर्ने क्रियाकलापमा भर पर्छ । गहिरो भावनात्मक सम्बन्धमा हुनुहुन्छ भने तपाईंले उहाँसँग विवाह गर्न सक्नुहुन्छ । विवाहका लागि उपयुक्त पुरुष भेट्टाइहाले पनि विवाहित जीवनयापन गर्न नेपाली समाजको परिप्रेक्ष्यमा गार्‍हो हुन सक्छ । तपार्इंका आफन्त, छिमेकी तथा साथीभाइका लागि पनि यो त्यति सजिलो विषय हुँदैन, तर पहिलेको तुलनामा केही सजिलो भने भएको छ । 

सामान्यत: समाजमा धेरैजसो व्यक्तिले अनुसरण गर्ने व्यवहार तथा चलनहरूलाई नै ठीक मानिन्छ र त्यसभन्दा बाहिरको व्यवहारलाई अप्राकृतिक मान्ने चलन छ, तर यथार्थ के हो भने प्राकृतिक नै भए पनि धेरै जनाले गर्ने भन्दा फरक किसिमको व्यवहार गर्ने व्यक्तिहरू पनि समाजमा पाइन्छन् । समलैंगिकतालाई संसारकै धेरैजसो समाजले तटस्थ भएर नहेर्ने भएकाले परिवार अनि समाजका अरू मानिसले थाहा पाए विभिन्न अप्ठ्याराको सामना गर्नुपर्ने हुन्छ । अहिले नेपाल पहिलेको तुलनामा केही सहज भए पनि अनेकन अप्ठ्यारासँग सामना गर्न 
तयार रहनुपर्छ ।

यस्तो जोडीमा दुवै पुरुष भए पनि एकले पुरुषको जस्तो र अर्कोले महिलाको जस्तो भूमिका निर्वाह गर्छन् । यहाँ तपाईंको भूमिका महिलाको जस्तो भएको बुझेको छु भने तपाईंको साथीको पुरुषको जस्तो । त्यसैले आफ्नो अनि आफ्नो यौनसाथीको लैङ्गिक भूमिका के छ भन्ने कुरा थाहा पाउनु उपयुक्त हुन्छ । एकान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्

Loading...