नेपाली मिडियाप्रति आक्रामक बन्दै सेना, निकाल्यो यस्तो कडा विज्ञप्ति



काठमाडौं ।
    नेपालका मिडियाप्रति नेपाली सेना आक्रामक रुपमा प्रस्तुत भएको छ।

    आफैले रेडियो सञ्चालानको तयारी गरिरहेको सेनाले आफूले सञ्चालन गर्न लागेको एफएम रेडियोबारे गलत टिकाटिप्पणी गरेको भन्दै स्वतन्त्र मिडियाप्रति आक्रामक बनेको हो ।

    नेपाली सेनाले सोमबार विज्ञव्ति जारी गर्दै विगत केही दिन अगाडिदेखि नेपालका सञ्चारमाध्यमहरुमा नेपाली सेनाको एफएम रेडियो सञ्चालन सम्बन्धमा विभिन्न दृष्टिकोणबाट समाचार तथा लेख प्रकाशन भएकोप्रति गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।

    नेपाली जनतालाई आफ्ना गतिविधिबारे सुसूचित गर्न नेपालको राष्ट्रिय प्रशारण ऐन–२०४९ तथा प्रशारण नियमावली–२०५२ को परिधिभित्र रही सञ्चालन गर्ने प्रयास गरिएको एफएम रेडियोलाई राष्ट्रिय राजनीतिसँग जोडेर प्रस्तुत गर्न खोजेको भन्दै सेनाले आपत्ति जनाएको हो ।

    यस्तो छ सेनाको विज्ञप्ति

    १. विगत केही दिन अगाडिदेखि केही दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा नेपाली सेनाको एफएम रेडियो कार्यक्रम सञ्चालन सम्बन्धि विभिन्न दृष्टिकोणबाट समाचार तथा लेख प्रकाशन भएकोप्रति नेपाली सेनाको गम्भीर ध्यान आकर्षण भएको छ ।

    २. नेपाली सेना नेपालको संविधानद्वारा निर्दिष्ट भूमिकाको परिधिभित्र रही राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डताको संरक्षण तथा नेपाल र नेपाली जनताको हितमा सदा समर्पित भई अनुशासित तथा व्यवसायिक राष्ट्रिय सेनाको रुपमा आफ्नो जिम्मेवारी ईमादारीपूर्व सम्पन्न गर्दै आइरहको तथ्य सर्वविदितै छ ।

    ३. विभिन्न विकसित तथा प्रजातान्त्रिक मुलुकहरुमा समेत सैनिक गतिविधिहरुबारे सैनिक तथा अन्य सरोकारवालाहरुलाई सु–सूचित गर्न रेडियो तथा टेलिभिजन सेवा सञ्चालन भएअनुसार नेपाली सेनाले पनि बहालवाला एवं भूतपूर्व सैनिक तथा सैनिकका आश्रित परिवारका सदस्यहरु र नेपाली जनतालाई आफ्ना गतिविधिबारे सू–सूचित गर्न नेपालको राष्ट्रिय प्रशारण ऐन २०४९ तथा प्रशारण नियमावली २०५२ को परिधि भित्र रही सञ्चालन गर्ने प्रयास गरिएको एफ।एम। रेडियो स्टेशनको प्रशंगलाई राष्ट्रिय राजनीतिसँग जोडी अन्यन्त फरक रुपमा प्रस्तुत गर्न खोजेको पाइएकोले यसबारे सम्पूर्ण सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहन्छौं ।

    ४. नेपाली सेनाले नेपालको संविधान तथा कानूनको परिधिभित्र रही विपद् व्यवस्थापन, बन्यजन्तु संरक्षण, अन्तर्राष्ट्रिय शान्ति कार्यमा नेपाली सेनाको योगदान, स्वास्थ्य उपचार तथा अन्य सैनिक गतिविधिबारे सूचना तथा शिक्षामूलक सन्देश सैनिक, सैनिकका परिवार तथा नेपाली जनता र सम्पुर्ण सरोकारवालाहरु समक्ष पुर्याउने र राष्ट्रभक्तिको भावना विकास गर्ने कार्यमा सहयोग पु¥याउने पवित्र उद्धेश्य लिई नेपाली जनता तथा सरोकारवालाको सूचनाको हकको समेत कदर गर्दै सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन एफ।एम। स्टेशन सञ्चालन गर्ने प्रयास गरिएको हो । 

    विगत २०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्पको समयमा सूचना प्रवाह सम्बन्धी महसुस भएको कठिनाईलाई समेत दृष्टिगत गरी भविश्यमा यस प्रकारको दैवि विपत्तिको अवस्थामा खोज, उद्धार तथा राहतको साथै जोखिम न्यूनिकरण सम्बन्धी सूचना प्रवाह गर्ने कार्य अझ प्रभावकारी बनाउन र आवश्यकता अनुसार पूर्व जनाउ दिने व्यवस्था समेत विकास गर्ने पवित्र उद्धेश्यले समेत यो प्रयास गरिएको कुरा सवैमा अवगत गराउन चाहन्छौं ।

    ५. नेपाली सेना आफ्नो प्राथमिक भूमिका तथा व्यवसायिकताबाट कहिल्यै पनि विचलित नभएको गौरवमय इतिहास अनुरुप आगामी दिनमा पनि नेपाली सेना नेपालको संविधान तथा संवैधानिक सरकार प्रति बफादार रही उच्च सैनिक व्यवसायिक्ता कायम राख्दै नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न सदा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्दै एफएम रेडियो सञ्चालनको सिलसिलामा हालै प्रकाशित समाचारबाट भ्रममा नपर्न नेपाली जनता तथा सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

    २०७४ साउन २ गते प्रकाशित

    ,

    प्रतिकृया दिनुहोस्

    Loading...