बालिकालाई अबैध गर्भ बोकाउने युवक पक्राउ, जबरजस्ती करणी मुद्दा दायर

  • भोजपुर । 
भोजपुरमा एक बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको अरुण गाउँपालिका ५ याकुमा ११ वर्षीया बालिका निशा (नाम परिवर्तन) लाई अवैध रुपमा गर्भवती बनाउने छिमेकी २१ वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई प्रहरीले धरानबाट पक्राउ गरी भोजपुर लैजाने तयारी गरिरहेको छ । श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय, भोजपुरमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

बालिकालाई श्रेष्ठले अबैध गर्भ बोकाएको परिवारले थाहापाएपछि गाउँमै गुपचुप मिलाउन खोज्दा घटना ढिलो गरी बाहिर आएको थियो ।

यस्तो गम्भीर घटनालाई सामान्य सम्झेर घरगाउँमै सामसुम पार्न खोजेकाले मुद्दा प्रकृति थोरै कमजोर बने जस्तो देखिए पनि बालिकालाई न्याय दिने र दोषीमाथि कारवाही गर्ने भोजपुरका प्रहरी प्रमुख डीएसपी काजीकुमार आचार्यले बताए ।

मुलुकी ऐनको जबरजस्ती करणी महलले घटना भएको ६ महिनासम्म पीडित पक्षले सम्बन्धित निकायमा न्यायका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

तर, शुरुमा समाजमै मिलाउन खोजेका कारण ६ महिनाको गर्भसहित बालिकाको विचल्ली भएपछि घटना बाहिर आएको हो । 

पीडित वालिकाको जन्मदर्ता ०६३ साल चैत २४ गते रहेको र उनी ७ कक्षामा पढिरहेको पारिवारिक स्रोतको भनाइ छ ।

तस्बिर अनलाइन खबर

२०७४ साउन ३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...