काठमाडौमा क्यानडा दिवश मनाइयो

  • देवकी तिमल्सिना, काठमाडौ।
नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघले नेपालको राजधानी काठमाडौमा एककार्यक्रमको आयोजना गरी १५०औ क्यानडा दिवश मनाइएको छ । 

संघले विगत चार वर्षदेखि दुवै देशको जनस्तरीय सम्बन्ध विस्तार गर्न निरन्तर यसैगरी क्यानडा दिवश मनाउँदै आएको छ । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जलविद्युत, पर्यटन र ब्यापारका माध्यमबाट क्यानडासँग सम्बन्ध बढाएर फाइदा लिन सकिने धारणा राखे । 

उनले नेपाल विश्वकै आर्कर्षक स्थल भएकाले क्यानडाबाट सिक्न लायक कुरा सिक्नपर्ने र पन्छिन पर्ने कुरामा समयमै पन्छिदा राम्रो हुने बताए । साथै, उनले महाकाली सन्धी गर्दा क्यानडालाई सन्दर्भ मानेको स्मरण गरेका थिए ।

काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठले क्यानडामा पचास प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको सुन्दा आम नेपाली महिलाको लागि प्रेरणाको विषय भएको बताइन् । 

काठमाडौ महानगरपालिकाले धुलो र धुवाँरहित हराभरा महानगरपालिका तथा यहाँको सम्पदाहरु निर्माण गर्न सबैको सहयोग रहनपर्ने तर्क उनले गरिन् ।

संघका पूर्व अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपालले क्यानडाबाट लिन सक्ने फाइदा धेरै भएको र क्यानडाले नेपालमै राजदुतावास राख्न पर्नेमा जोड दिए । उनका अनुसार क्यानडाले दिल्ली र बेइजिङका आँखाबाट नेपाललाई हेर्न हुँदैन ।

नेपालस्थित क्यानडाका अवैतनिक कन्सुलर डा. बुद्ध बस्नेतले भुकम्प यता मात्र क्यानडाले विभिन्न स्रोतबाट ५२ लाख डलर सहयोग दिएको बताए । उनले क्यानडा दिवशका दिन त्यहाँको सरकारले सार्वजनिक विदा नगर्नुको कारण श्रममा विश्वास गर्नु रहेको प्रशंग सुनाए ।

क्यानडास्थित नमस्ते रेडियोका संस्थापक सभापति अनिल थापाले क्यानडामा नेपाली भाषा बोल्ने पचास हजार रहेको र त्यसमध्ये अठार हजार नेपाली क्यानडामा बसोबास गरेको जानकारी दिए । 

उनले क्यानडाले वैदेशिक सहयोगभन्दा पनि वैदेशिक ब्यापार बढाउने नीति लिएको र भुकम्पपछि नेपाललाई सक्दो सहयोग गरेको स्मरण गराए ।

नेपाल पर्वतारोहरण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको पर्वतीय पर्यटन र वातावरणका क्षेत्रमा क्यानडेली नागरिकको विशेष योगदान रहेको बताए ।

संघका अध्यक्ष प्रा.डा. प्रदीप खड्का, महासचिव प्रा.डा. श्रीधर गौतम, सदस्य प्रा.डा. गोपाल पोखरेल लगायतले क्यानडा र नेपालको हावापानी, जनसंख्या, संघीयता, बहुसंस्कृतिजस्ता विषयमा समानता रहेको चर्चा कार्यक्रममा भएको जानकारी संघको मुखपत्र न्युजलेटरका सम्पादक डा. दीपेन्द्र रोकायाले दिए ।

उक्त कार्यक्रमको सञ्चालन संघका सदस्य मनिषा थापाले गरेकी थिइन् ।

२०७ असार १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...