स्थलगत रिपोर्टिङ : चन्द्रागिरी पुग्दा जे देखियो (फोटोफिचर)

  • नमिता पौडेल/राजिब चन्द, काठमाडौँ ।
बिगत एक बर्षदेखी उपत्यका नजिकै घुमफिरको गन्तव्य बनेको चन्द्रागिरी हिल्समा शुकबार इमान्दार मिडियाको टीम पनि पुग्यो । 

राजधानीबाट नजिकै रहेको चन्द्रागिरी उकाठमाडौं पत्यकामै बस्नेहरुका लागि पनि एक पटक पुगौं पुगौं लाग्ने, अझ अर्काे शब्दमा भन्नुपर्दा लोभ लाग्दो रमणीय स्थान रहेछ । 

काठमाडौँमा यस्ता गन्तव्य अरु धेरै छन् । तर मानिसहरु चन्द्रागिरी हिल्सको नै किन यति धेरै चर्चा गर्ने गर्छन् भन्ने चासो इमान्दार मिडियालाई पनि थियो ।

हामी त्यहा पुग्दा जे देखियो ।

यस्तो छ चन्द्रागिरीको पुरानो इतिहास

चन्द्रागिरी हिल्स प्रालिद्वारा सञ्चालित केवलकार चढेर डाडामा पुगेपछि सबै भन्दा पहिले हाम्रो ध्यान उक्त स्थानको पुरानो इतिहास खोतल्नेतर्फ गयो । 

उक्त स्थानबाट पुथ्वीनारायण शाहले पहिलोपटक काठमाडौं देखेका थिए रे । त्यहि अनुसार मन्दिर छेउमै पृथ्वीनारायण शाहले आफ्ना भारदारहरुका साथ उपत्यका नियाल्दै गरेको एउटा तस्बिरको मुर्ती बनाएर राखिएको छ । 

यो तस्बिरले पुरानो इतिहासको खोजी गर्न र त्यसबारे अध्ययन गर्न नयाँ पिढीलाई घचघच्याउ सक्छ । एक हिसाबले पुरानो इतिहासको खोजी गर्ने माध्यम पनि हुनसक्छ ।


हामीलाई उक्त तस्बिरबारे जानकारी दिदै चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर विख्यात राणाले तत्कालिन राजा पृथ्वी नारायण शाहलाई उपत्यका कब्जा गर्ने तृष्णा यहि चन्द्रागिरीबाट नै पलाएको कुरा जानकारहरूले बताउने गरेकाे सुनाए । 

त्यस्तै उक्त स्थानमा पृथ्वीनारायण शाहको सालिक निर्माण सम्पन्न भएको छ तर उदघाटन गर्न भने बाकी रहेको छ । म्यानेजर राणाका अनुसार चन्द्रागिरी हिल्स प्रालिले अब केही दिनमै उक्त सालिकको विधिवत उदघाटन गर्ने तयारी गरिरहेको छ ।

तिन घण्टाको बाटो १२ मिनेटमै पुगिने !

स्वस्थानी व्रत कथामा सतीदेवीको अंग पतन भएको कुरा सुनेका र पढेकाहरुका लागी पैदल यात्रा गरी चन्द्रगिरी पहाडमा पुग्न निकै लामो समय खर्च गर्नुपर्ने कठिनाइ थियो । चन्द्रागिरी केवलकारको स्थापनापछि अब सजिलै त्यहाँ पुग्न सकिने भएको छ।

पहाडको फेदीबाट चन्द्रगिरिको टाकुरामा पुग्न केवलकार चढेर १२ मिनेट मात्रै लाग्ने रहेछ । 'काठमाडौँ बाहिरबाट उपत्यका घुम्न आउनेहरुका लागी अब चन्द्रागिरी डाँडामा बसेर अनेक दृश्य हेर्दै छिनछिनमा फेरिएको मौसमको अनुभव लिने रहर पुरा भएको छ ।' भालेश्वर मन्दिर नजिकैबाट डाँडाको चारैतिर देखिने निलो आकाशसँगै लुकामारी खेलिरहेको सेतो बादल र हावाको तिब्र बेगसँगै दौडिरहेको कुहिरोलाई देखाउदै थानकोटवासी बिकाश साहीले भने ।


'हाम्रा बुवा, हजुरबुवाहरुले यो डाँडामा पुग्न निक्कै दुख गर्नुपर्थ्यो, आज हामी आकाशमा सरर उडेर आउने जाने गर्छौं । उनले थपे । केवल कार संचालनमा आएदेखि आफु ६/७ पटक चन्द्रागिरी पुगिसकेको उनले सुनाए । यसपटक भने शाही मामाघरकी हजुरआमालाई लिएर चन्द्रागिरी आएका रहेछन् ।

चन्द्रागिरीमा धेरैजसो मानिसहरु विशेषगरी बिदा मनाउन, कामको तनाव कम गर्न, आफन्त, साथिसंगीहरुसँग रमाइलो गर्न, फरक परिवेशमा रिफ्रेस महशुस गर्न पुग्ने गरेका छन् ।

परिवारकासाथ रमाउनेहरुका लागी काठमाडौंको कोलाहलबाट निस्किएर छोटो समयमै पुगिने हुनाले चन्द्रागिरी उपयुक्त पर्यटकीय गन्तव्य भएको त्यहाँ भेटिएका स्थानीय पर्यटकहरुको बुझाइ छ । पछिल्लो समय छिमेकी राष्ट्र, चीन र भारतका पर्यटकहरुको गन्तव्य बन्दै गएको छ चन्द्रागिरी पहाड ।

कतिवटा छन् केवलकारका डिब्बा 

चन्द्रागिरी हिल्स प्रालिले सञ्चालन गरेको केवलकारमा पर्यटक तथा दर्शनार्थी आवतजावतला लागि ३८ वटा डिब्बा सञ्चालनमा ल्याइएको छ।  

त्यस्तै ३ वटा डिब्बा समान ओसारपसारका लागि संचालनमा छन् । ३८ वटा केवलकारले दिनमा झण्डै १ हजार बढी पर्यटकहरूलाई डाडामा र्पुयाउने र फिर्ता ल्याउने गरेको राणाले बताए ।

धर्ममा आस्था राख्नेहरु चन्द्रागिरी आउछन्

यस्तै चन्द्रागिरी डाडामा धर्ममा आस्था राख्नेहरु आउने क्रम बढ्न थालेको छ । पुरानो भालेश्वर महादेवको शिवलिङ्ग भएको स्थानमा चन्द्रागिरी हिल्स प्रालिले नयाँ मन्दिर बनाएको छ । 

उक्त मन्दिरमा दिनहुँ दर्शन गर्न पुग्नेहरुको संख्या बढेको चन्द्रागिरी हिल्सले बताएको छ। हाम्रो टोली त्यँहा पुग्दा मन्दिरमा पूजा गर्न भक्तजनहरु उभिरहेका देखिन्थे । 

यो मन्दिरमा गइ दर्शन गर्दा मनले चिताएका पूरा हुने धार्मिक विश्वास रहिअाएकाे छ । यद्दपी जानकारहरुका अनुसार उक्त मन्दिर भएको ठाउँबाट पुरानो शिवलिङ्ग सारेर मन्दिर बनाइएको भन्दै विवाद पनि भएको बताइएको छ।


यसबारे हामीले जिज्ञासा राख्दा उक्त शिवलिङ्गको रेखदेख र संरक्षण गर्दै आएकी स्थानीय उर्मिला लामाले भने कुल पुजा गरेर शिवलिङ्ग केही तल मन्दिर परिसरमै सारिएको स्विकार गरिन । 

बिज्ञ धर्म गुरुहरुले कुल पुजा गरेर केही मिटर सारिएको हुनाले फरक नपर्ने उनले बताइन । मन्दिर भनेको मानिसले बनाउने हुनाले रिती पुरा गरी सार्दा देवता नरिसाउने उनको भनाइ छ। 'भालेश्वरकै कृपाले आज यहाँ कबुलकार पुगेको छ, हामी भालेश्वरमाथि विश्वास गर्नेहरुका लागि यहि नै ठुलो कुरा हो ।' उनले थपिन ।

भ्यु टावरको बाइनाकुलरबाट हेर्न सकिन्छ रमणीय दृश्य


चन्द्रागिरी डाडामा भ्यु टावर निर्माण गरिएको छ । यसैपनि उच्च पहाडीभाग, त्यसमाथि भ्यु टावर निर्माण गरिएको हुनाले दृश्यावलोकनका लागि पर्यटकहरुलाई सजिलो भएको छ ।

चन्द्रागिरी पुगेर मन्दिर दर्शन गरिसकेपछि पर्यटकहरु भ्यु टावर चढेर बाइनाकुलर मार्फत दृश्यावलोकनमा रमाउने गर्छन। 

 चन्द्रागिरीबाट सगरमाथासमेत अवलोकन गर्न सकिने

यहाँ आउने पर्यटकहरुका लागी उमेरअनुसारको रमाइलो गर्ने सुविधा उपलब्ध रहेको चन्द्रागिरी हिल्सले बताएको छ ।

नेपालका अधिकांस हिम शृंखलाहरु देखिने चन्द्रागिरीको डाडाबाटबाट सगरमाथासमेत अवलोकन गर्न सकिने राणाले बताएका छन् । 

त्यस्तै यहाँ आउने पर्यटकले आफुले कुन दिशाबाट कुन कुन हिमाल देखिरहेका छौ भन्ने थाहा पाउन सजिलो होस् भन्ने उदेश्यले बिज्ञहरुको टोली ल्याई तस्बिर र सिग्नलको बिकास गर्ने तयारी भैरहेको राणाको भनाई छ  ।

चन्द्रागिरीमै  चिल्ड्रेन पार्क


केवलकार चढेर नयाँ अनुभूति लिइसकेपछि बालिकाहरुको निम्ति रमाउन चिल्ड्रेन पार्कको व्यवस्था गरिएको छ । 

निशुल्क प्रवेशको अनुमति रहेको उक्त पार्कमा अभिभावकका साथ बालबालिकाहरु पार्कमा भरपुर आनन्द लिन सक्नछन् । 

उच्च स्तरको सभाहल


चन्द्रागिरी भ्यु टावर र मन्दिर भन्दा केही तल उच्च स्तरको सभाहल पनि निर्माण भएको छ । काठमाडौँको कोलाहल भन्दा केही टाढा गएर सभा, सेमिनार र गोष्ठी गर्न चाहनेहरुका लागी यो सभाहल उपर्युक्त भएको राणाको भनाइ छ। 

उक्त सभाहलमा अहिले पनि हप्तैपिच्छे १ देखि २ वटा कार्यक्रमहरु भइरहेको राणाले बताए । राणाकाअनुसार सभा सेमिनार गर्नेहरुका लागी हल छेउमै खाना पकाउने होटेलको पनि व्यवस्था रहेको छ ।

एक सय कोठाको रिसोर्ट बन्दै


यस्तै चन्द्रागिरी डाँडाभन्दा केही तल चन्द्रागिरी हिल्स प्रालीकै रिसोर्ट निर्माण भइरहेको छ । काठमाडौँबाट चन्द्रागिरी पुगेर सभा, सेमिनार र गोष्ठी गर्ने र त्यही बास बस्न चाहनेहरुको सुविधालाई ध्यान दिदै उक्त रिसोर्ट निर्माण गरिएको हो । 

डाडामा पुगेर केही दिन त्यही बास बस्ने र प्राकृतिक सुन्दरतासँग रमाउन चाहाने बिदेशी तथा स्वदेशी पर्यटकहरु रिसोर्ट निर्माणपछि थप बढ्ने अपेक्षा चन्द्रागिरी हिल्सले राखेको छ।

खाना र खाजाको प्रवन्ध

केवलकार चढेर चन्द्रागिरी डाँडामा पुग्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै चन्द्रागिरी हिल्सले खाना र खाजाको लागी भ्यु टावरमै २ ओटा रेस्टुरेन्ट सञ्चालन गरेको छ । 

ग्राहकको चाहाना अनुसार सबै किसिमका परिकारहरु पाइने ती रेस्टुरेन्टमा ग्राहकले २०० सय देखि ५०० सम्ममा आफुले चाहेको खानाको परिकारहरु खान सक्ने छन् । 

डाडामा पानीको कुनै श्रोत नभएकाले पानी पनि तल थानकोटबाट नै किनेर माथी लिनुपर्ने बाध्यता रहेकाले खाना र खाजा भने केही महंगो भएको राणाको भनाई छ ।


'हामीले सकेसम्म सबै कुरा काठमाडौँकै दरभाउमा उपलब्ध गराउन खोजेका हौ । तर हाम्रो ढुवानी खर्च देखि सबै कुराले केही महंगो भने पर्न गएको छ ।' राणाले भने ।

केवलकार भाडा पनि केही महंगो र खाना खाजा पनि केहि महंगो भयो भन्ने पर्यटकहरुको गुनासो छ नी ? भन्ने हाम्रो प्रश्नमा राणाले भने -‘त्यतिमाथि सामान पुर्याउनुपर्छ, स्वतः महंगो हुन्छ । त्यसैले खाना खाजा केही महंगो छ । ठाउँअनुसार अलिअलि महंगो त भैहाल्छ नी । ’

आलोचना र गुनासो सुनिने

यस्तै चन्द्रागिरी हिल्स प्रालिले पर्यटक, पत्रकार, र पाहुनाहरुको गुनासो तथा सुझाबलाई ग्रहण गर्दै प्रालिका केहि कमजोरी भए सच्याउदै जाने प्रतिबद्धता जनाएको छ। 

इमान्दार मिडियासँग कुरा गर्दै राणाले भने - 'हामीले यत्रो योजना बनायौ, यसलाई कार्यन्वयन गर्यौ, यो सबै पूर्ण हो भनेर हामी भन्दैनौ । हाम्रा त्यस्ता केही कमजोरीहरु पनि होलान तर ति सच्याउन परिवर्तन गर्न नसकिने भन्ने छैन । तपाईहरु जस्ता मिडिया र आम नागरिकले गरेको आलोचना हाम्रा लागी शिक्षा हुन सक्छ । र हामी आगामी दिनमा त्यसलाई सच्याउदै जानेछौ ।' 

हेरौ चन्द्रागिरीका केही तस्बिरहरु









भिडियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...