अन्ततः विघटन भयो माओवादी केन्द्रको जम्बो समिति, के हुन्छ अब ?

  • काठमाडौं । 
नेकपा माओवादी केन्द्रले जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न माओवादी केन्द्रीय सचिवालयको बिस्तारित बैठकले राष्ट्रिय भेला मार्फत् दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय गर्दै पुरानो समिती विघटन गरेको हो ।

राष्ट्रिय भेलाको मिति भने तोकिएको छैन । दुई नम्बर प्रदेशको चुनावपछि राष्ट्रिय भेला आयोजना हुने माओवादी केन्द्रीय कार्यालयले बताएको छ ।

रामबहादुर थापा बादल, मातृका यादव, मणि थापा र तिलक परियार नेतृत्वको पार्टी तथा समूहसँग माओवादी एकतापछि २ हजार बढीको महाधिवेशन आयोजक समिति बनाइएको थियो । 

महाधिवेशन आयोजक समितिका सदस्यहरु सबै केन्द्रीय सदस्य बन्ने भएकाले माओवादी केन्द्र विश्वकै सबैभन्दा धेरै केन्द्रीय सदस्य भएको पार्टी बनेको भन्दै कार्यकर्तातहबाटै व्यापक आलोचना भएको थियो ।

एक हप्तासम्म चलेको केन्द्र्रीय सचिवालयको बिस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आइतबार दिउँसो २ बजे माओवादी केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

अब महाधिवेशन आयोजक समिति ९९ सदस्यीय बनाउने तयारी माओवादीले थालेको छ ।

२०७४ साउन ८ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...