दार्जीलिङका १५ हजार विद्यार्थीको भविष्य इन्टरनेट अवरोधले अन्यौल

  • काठमाडौँ ।
पश्चिम बंगाल सरकारले बंगाली भाषा अनिवार्य गरेपछि दार्जीलिङमा छु्टै गोर्खाल्याण्डको माग गर्दै करिब दुई महिना देखि जारी नेपाली भाषीको आन्दोलन कहिले टुंगिने हो भन्ने कुराको अझै पनि कुनै ठेगान छैन्। तर, जारी आन्दोलनले दार्जीलिङ पहाडको करिब १५ हजार विद्यार्थीको भविष्य अन्यौलमा परेको छ।

छुट्टै गोर्खाल्याण्डको माग गर्दै दार्जीलिङ पाहाडमा आन्दोलन चर्किए पछि पश्चिमबंगाल राज्य सरकारले त्यहाँ आर्थिक नाकाबन्दी त लगाएको छ नै इन्टरनेट लगाएतका संचारमाध्याममा अवरोध समेत गरेको छ। 

यो अवरोधले दार्जीलिङ पहाडका आईसीएसई स्कुलमा अध्यनरत १५ हजार विद्यार्थीले परीक्षा दिनबाट समेत बन्चित हुनुपर्ने अवस्था आएको छ।

दार्जीलिङबाट प्रकाशन हुने अनलाइन खबर म्यागेजिनका अनुसार यदि आगामि ३१ जुलाईसम्म पनि इन्टरनेट सुचारु नभए विद्यार्थीहरुले आईसीएसई परीक्षाको लागि रजिष्ट्रेशन फारम पनि भर्न नसक्ने र परीक्षाबाट बन्चित हुने अवस्था आउने छ। 

यसै विषयलाई ध्यानमा राखेर सोमवार दार्जीलिङको संयुक्त शिक्षक समुहले दार्जीलिङकी जिल्लापाल जोयशीदास गुप्ता सित भेट गरि यधाशीघ्र इन्टरनेट चालु गराउन पहल गर्न आग्रह गरेको छ।

समुहका एक जना सदस्य अमित थापाका अनुसार सन् २०१९ को आईसीएसई र आईएसई परीक्षाको लागि ३१ जुलाईसम्म फारम भरिसक्नुपर्छ। यदि यो समय भित्र फारम नभरिए विद्यार्थीहरु उक्त परीक्षामा सहभागि हुन पाउने छैनन्।

दार्जीलिङ पहाडमा ५० वटा आईसीएसई स्कुलहरु छन्, जाहाँ करिब १५ हजार विद्यार्थी अध्यन गर्छन्।

गत १७ जुनमा दार्जीलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा तीन युवकको मृत्यु भए पछि त्यहाँको जिल्ला प्रशासनले दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिक क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध गरेको थियो। 

दार्जीलिङ पहाडका जनता इन्टरनेट विहिन भएको आज ३९ दिन भैसकेको छ। जिल्ला प्रसासनले भने २४ जुलाईसम्म इन्टरनेट माथिको अवरोध कायमै राख्ने बताएको छ।

छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै भएको आन्दोलनमा अहिलेसम्म ९ जनाको ज्यान गईसकेको छ भनै सयौं घाइते छन्।

,

प्रतिकृया दिनुहोस्

Loading...