कथा : फस्ट किस..


दिपक घिमिले ।
काठमाडौं ।

दुनिया भरका केटाकेटीका लभ परे, कलेज पढ्दा सबैका आआफ्नै गर्लफ्रेन अनि ब्वाइफ्रेन भए । बिचरो म एक्लै ।

रुम पाटनर बिनितले कीर्तिपुरकै ज्यापुनीलाई प्रेमजालमा फसायो । उनीहरूको रुममा डेटिङ चल्दा म कीर्तिपुर मैदानतिर बरालिनुपर्ने बाध्यता ।

हप्तामा दुई तीन पटक मलाई रुमबाट नक–आउट गरेर उनीहरू मस्ती गर्थे । म सहन्थे, किनभने विनित मेरो बच्चैदेखिको साथी हो, साथीका लागि ज्यान दिन सक्ने मित्रता हामीबीच थियो ।

कल्कलाउँदो सोर वर्षे जवानीमा हामी थियौँ, कलेज पढ्ने बहानामा काठमाडौँ छिरेका हामी कलेजभन्दा धेरै मोजमस्ती मै दिन बिताउँथ्यौँ । कसले रोकोस हाम्लाई ? न बाको डर, न आमाको अनि न त आफन्तको नै । फ्री, एकदम फ्री ।

एक दिन राति रुममा विनितले त्यो ज्यापुनीलाई लिएर आयो । पर्यो फसाद !

मलाई सूर्यको कोठामा गएर सुत्न आग्रह गर्यो । साथीका लागि ज्यान दिने मैले किन नाइँ भन्थेँ । राति नौ बजे म सूर्यको कोठामा गएँ, विनित र ज्यापुनी हाम्रो रुममा सुते । रातभर के–के भयो । त्यो कसरी लेख्न सक्छु र अब । भो बयान गरेर बिजेत नगरम ।

अर्को दिन कलेज थियो । बिहानै रुममा आएँ । बिनित सुतिरहेको थियो । ज्यापुनी टाप कसिसकेकी थिई । एकछिन जिस्क्याएँ, अनि निस्किएँ कलेज ।

कलेज पनि उदेक लाग्दो थियो । सबैका जोडी थिए । जोडी ढुकुर जस्ता मीठा जोडी । म अभागी एक्लो, एकलकाँटे जस्तो ।

अनुहार ठीक थियो, हेन्समै थिएँ । गोजामा दुई चार रूप्पेँको कमी हुन्थेन, तर केटीको प्रेम–प्रस्ताव कहिले आएन ।

मनमा धेरै केटी सजाउँथँे तर न मैले प्रपोज ठोक्थे, न उसले आई लभ यु भनेर नजिक आउँथी । बस ! ‘आँखो आँखो से प्यार करो, और सपने मे खो जाओ’ वाला इस्क लडाउने काम हुन्थ्यो ।
हाम्रो बार कक्षाको पढाइ सुरु हुँदै गर्दा एघारमा एउटी मैयाँ आइन, मेरो दिलमा पहिलो दिन नै बास बसिन् ।

कलेज जान मन नलाग्ने भइसकेको थिएँ, तर एघारमा ऊ पढ्न आएपछि कति बेला कलेज जाऊँ हुन्थ्यो मलाई । उसलाई हेरिरहन्थे, पढाइको बाल मतलब थिएन मलाई । उसलाई आफ्नो गर्लफ्रेन बनाउने सपना आँखा भरी आउन थालिसकेका थिए, म उसलाई पट्याउने खेलमा लागे ।

उ कीर्तिपुर यातायातको गाडी चढेर आउँथी । अनुहार हेर्दा क्षेत्रीनी जस्ती देखिने उसको नाम पत्ता लगाउनै एक महिना लाग्यो । बिनितले उहीँ ज्यापुनीलाई लगाएर उसको नाम अनि घर पत्ता लगाइदियो ।

नाम थियो अन्जना बस्नेत अनि घर नवलपरासी ।

अब सुरु भए प्रेम प्रस्ताव राख्ने दिनहरू । ऊ हल्का नखरावाली रैछे, पछि थाहा पाएँ । दर्जन पटक उसलाई आई लभ यु को प्रस्ताव गरेपछि उसले एक दिन फोनमा भनी “रिप्लाई भेटेर दिन्छु ।”

भेट्न निक्कै लजाउने म, ऊ फोनमा नखुल्ने । हाम्रो प्रेम पनि खास्सै फैलेला जस्तो लागेन ।

ऊ आफूलाई निक्कै पढन्दास देखाउँथी । फोन गर्दा कहिले नोट सार्दै छु त, कहिले इक्जाम आउँदैछ भनेर गफिन नमान्ने ।

तर एक दिन बिनितको गर्लफ्रेन ज्यापुनी मार्फत उसले कीर्तिपुर गुम्बा घुम्न जाने प्रपोज गरी मलाई । म खुशी त भए तर त्योभन्दा बढी दुःखी भए किनभने म लजाउँथे धेरै, डेटिङ गएर के गर्ने ?

न अहिलेसम्म प्रेम प्रस्ताव एसेप्ट भएको छ, न त उसको मनमा बसेको छु या छैन पत्ता लागेको छ । एक्कासि डेटिङको प्रस्ताव आएपछि मर्दको सान पनि बचाउनै पर्यो ।

शनिबारको दिन हाम्रो गुम्बा घुम्ने डेटिङ फिक्स भयो ।

शनिबार बिहानै हजाम कहाँ गएर कपाल काटेँ, रुममा आएर रेखी बसेका दारी काँटे । कहिले कुन त कहिले कुन कपडा लगाउँदै आफैले आफैलाई नियालिरहँे ।

उता बिनितले खाना तयार गर्यो तर मलाई भोक थिएन । कतिबेला बार बज्छ अनि गुम्बा पुगेर अन्जनाको हात समातेर आई लभ यु भन्ने हो भनेर समय कुरिरहेँ ।

हेर्दै हिरो जस्तो भएर बाह्र बजेपछि कोठाबाट निस्की हिँडेरै गुम्बा पुगेँ । गुम्बाको पछिल्लो साइडमा एउटी परी आएर बसेकी थिई, मभन्दा अघि ।

सेतो लुज वाला भेस्ट, कालो टाइट वाला पाइन्ट अनि सेतो कन्भर्स सुजमा सजिएकी अन्जना मोबाइलमा गेम खेलेर बसिरहेकी थिई । म उसको नजिक गएर उभिएँ, बोल्न सकिनँ, मात्र हेरिरहेँ ।

ऊ एक्साइटेड हुँदै भनी “कति ढिला गरेको यार ! बस यता ।”

उसले हात तानेर नजिकै बसाली ! मैले उसलाई हेर्न सकिरहेको थिइनँ । ऊ त्यसै परी जस्तै लाग्थ्यो झन् आज उसले गरेको फेसनले स्वर्गकी परी पनि फ्लप थिई ।

उसले मेरो हात कोट्याउँदै सोधी “फस्ट डेटमा मेरा लागि के ल्याएका छाँै नि ?”

म ट्वाँ परेँ, कहिले कसैसँग डेट गएको भएपो थाहा होस्, के लग्नुपर्छ भनेर । म रित्तो हात डेट गएको थिएँ, ऊ चैँ के ल्याएका छौ भनेर सोध्दै थिई ।

लजाउँदै भने “जीवनकै फस्ट डेट हो, त्यसैले के ल्याउनुपर्छ थाहा भएन त्यसैले खालिहात छु ।”

ऊ मुख छोपेर हाँसी । हास्दा ऊ झन् राम्री देखिन्थी । म झन् धेरै लोभिएँ ऊप्रति ।

“पागल मान्छे ! तिम्रो लभ गुरु बिनितले भनेन ? फस्ट डेटमा के लग्ने भनेर ?” उसले मेरो आँखामा आँखा जुधाउँदै प्रश्न गरी ।

उसका आँखा एकदमै नसालु थिए । मलाई मात लगाउने खालका । म बोल्न सकिनँ, अनि मुण्टो मात्र हल्लाउँदै भन्दिएँ– “नाई, मैले सोधेन उसलाई ।”

ऊ धेरै फ्रेङ्क थिई, मज्जाले हाँसेरै कुरा गर्दिने ।

म निक्कै लजालु थिएँ, उसको आखामा आँखा जुधाउन नसक्ने ।

अघि एक पटक उसको आखामा आँखा जुधाउँदा उसको अनुहार राम्रोसँग हेरेको थिए । उसले लगाएको पिङ्क कलरको लिपिस्टिकले उसलाई हदभन्दा सुन्दर बनाएको थियो । ओठमा लगाएको लिपिस्टिकले उसको सुन्दरतामा झन् धेरै महत्व बोकेको थियो ।

“केही बोलन यार ! चुप बस्न डेट आएका हौ ?” उसले मौनता तोड्दै गफ गर्न आग्रह गरी । मलाई केही बोल्नै आइरहेको थिएन । फेरि एकपटक भन्दिएँ– “आई लभ यु !”

उसले मेरो हात तानेर हत्केलामा हत्केला मिसाउँदै भनी “रियल्ली ?” मैले मुन्टो मात्र हल्लाइदिएँ ।  साच्चै आज लभ परेको फिल भइरहेको थियो मलाई । हाम्रो यो डेट अरू धेरै डेट पछाडिका डेट जस्तै लाग्दै थियो ।

अरू धेरै जोडी यही गुम्बामा घुम्दै थिए । उसले आई लभ यु टु नभने पनि हामी प्रेमिल जोडी हौँ जस्तै लाग्दै थियो मलाई ।

“तिमी मलाई भुल्न सक्छौ ?” उसले रोमान्टिक मौसमलाई स्याडनेसतिर धकेल्दै बेमौसमी प्रश्न गरी ।  “नेभर !” छोटो अनि मीठो उत्तर दिएँ । उसले मेरो हात मुखैमा लगी अनि हत्केलामा चुप्प चुप्प दुई पटक म्वाइँ खाई ।

अ । खुशीले पागल भएँ ।  थाहा भयो उसले मलाई माया गर्दि रैछे ।

मैले पनि उसको हात तानेर म्वाई खाइदिएँ, उसले जस्तै गरेर अनि उसको आँखामा आँखा जुधाउँदै फेरि भने “रियल्ली अन्जना ! आई लभ यु यार ।”

यतिबेला पुरै फिल्मी सिन हुँदै थियो । प्रपोज एसेप्टेड भनेर दिमागले खुसीको सिग्नल मुहारसम्म ल्याइदियो ।

ऊ पनि मलाई पाउँदा खुशी नै थिई । मैले झन् खुशीको सीमा नाघिसकेको थिएँ ।

“फस्ट डेट्मा के ल्याउँछन् थाहा छैन लाटा ?” उसले आफ्नो टाउको मेरो छातीमा टसाउँदै प्रश्न गरी ।

“नाई ! कसम थाहा थिएन ।” मैले आफ्नो अवस्था सुनाएँ ।

उसले गुम्बाभन्दा अलि पर भएको पसल देखाउँदै भनी “क्याटवरी डेरिमिल्क लिएर आऊ ! म मिठाई खाने हो अनि हाम्रो माया पनि मिठाई जस्तै मीठो बनाउने हो । ”

म बतास जस्तै द्रुत गतिमा पसल गएँ, दुईवटा डेरिमिल्क किनँे अनि बतास जस्तै बेगमा आएँ ।

उसको हातमा डेरिमिल्क दिएँ । ऊ जुरुक्क उठी अनि मेरो दुवै गालामा हात राखेर ओठमा किस गरी ।

ओ माई गड ! म नर्भस भएँ । यता उता हेरेँ, कोही कसैले देखेकी भनेर । भाग्य भनौँ या के भनौँ ! यतिबेला कोही थिएन ।

मैले ओठ पुछेँ, पुरै पिङ्क कलरको लिपिस्टिक मेरो ओठैभरी थियो ।  उसले फेरि अँगालोमा बेरेर छातीमा मुन्टो टँसाइ अनि छातीमा चुप्प म्वाई खाइदिई ।  सारा लिपिस्टिक मेरो भेस्टमा टाँसियो । हातले पुछेर पनि नजाने ।

एकछिन हास्यौँ । उसले आई लभ यु दीपक भनेर प्रपोज गरी, मैले सयाँै पटक भनिसकेको थिएँ यो शब्द ।

फर्कने समय भइसकेको थियो, मेरो ओठमा उसको लिपिस्टिकको रङ अझै थियो । भेस्टमा नहुने कुरै भएन । मैले ओठ र भस्ष्टको लिपिस्टिक पुच्छदै थिएँ । उसले प्रश्न गरी “कस्तो लाग्यो फस्ट किस ?”

मसँग उत्तर नै थिएन । खिस्स हाँसिदिएँ अनि अँगालोमा बाँधिएर गुम्बाभन्दा अलि तलसम्म झर्यौँ ।

हात समातेरै कीर्तिपुर पाँगासम्म आउने रहर थियो तर मलाई लाज लाग्थ्यो । उसको हातबाट मेरो हात फुत्क्याउँदै भने– ‘छाड, बिनितले देख्छ ।’

उसले झन् जोडले मेरो हात समात्दै भनी– ‘ह्या ! उसले ज्यापुनीको हात समातेर सारा काठमाडाँै भ्याली घुम्न हुने, मैले चैँ आफ्नो ब्वाइफ्रेन्डको हात समातेर पाङ्गा घुम्न नहुने हो ? लाटा !’

एउटा हातमा चकलेट अनि अर्को हातले मेरो हात अठिलोसँग समातेर हामी पाँगा झर्यौँ । फस्ट डेटमा एक्साइटेड भएर भोकै कुदेको हुनाले होला, अहिले निक्कै भोक लागिरहेको थियो । नजिकैको मःमः पसल देखाउँदै भने– ‘मःमः खाऊ है ?’

उसले स्वीकार गरेको मुन्टो हल्लाउँदै भनी– ‘तिम्लाई ढिला त हुँदैन नि ?’
मलाई के ढिला हुने थियो र बरु उसैलाई ढिला हुन सक्थ्यो । उसको मन बुझ्न भने– ‘तिम्लाई ढिला हुन्छ र ?’

‘नाई !’ उसले छोटो उत्तर दिई ।

हामी मःमः पसल छिर्यौ । ठूलो स्टोभमा एक ताउला मःमः पाक्दै थियो । हामी एउटा कुनामा बस्यौँ । एउटा फुच्चे भाइलाई दुई पिलेट मःमः अर्डर गरेँ ।
अर्डर गरेको दुई मिनेटमै मःमः आइपुग्यो ।  मःमः आएपछि उसले सोधी– ‘के–को मःमः हो ?’

‘भैँसीको !’ मैले सोझै उत्तर दिएँ ।

उसले गोलभेडा जत्रा आँखा बनाउँदै भनी– ‘ओ माई गड ! मैले बफ मःमः खादिनँ, चिकेन मःमः मगाऊँ ।’

म बाहुनको छोरो, गाउँघरमा बा पुरेत्याइँ गर्छन् । घरमा बाले जनै लगाएको देखेनन् भने घरभित्र छिर्न दिँदैनन् । तैपनि सहर छिरेपछि न जनै लगाइएको छ न त भैँसी खान छाडियो । मान्छेले खान हुने चीज सबै खाइएको छ । तर ऊ क्षेत्रीनी भएर पनि नखरा देखाउँदै छे ।

नाकै थुनेर मःमःको पिलेट पन्छाइदेपछि मैले भने– ‘यहाँ त भैंसीको मात्र पाउँछ । अरू केही खान्छ्याँै ?’

ऊ चुप बसी, अलि सेन्टी पारामा ।

मैले वेटरलाई बोलाएर दुई पिलेट मःमः फिर्ता गरे । उसले रिसाउँदै भनी– ‘तिमी खाऊ न ? किन फिर्ता गरेको पागल ?’

‘तिम्लाई लोभ्याउँदै खानै मन लागेन, जाऊ अर्को पसल !’ म उठे । ऊ पछि पछि लागी ।

नजिकै रहेको सेकुवा कर्नरमा मेरो नजर पुग्यो । गोजामा अस्ति बाले पठाइदेको रुपैयाँ टन्नै थियो । उसलाई अघि–अघि लगाएर म सेकुवा कर्नर छिरँे ।

‘एउटा कुरा भनुम ?’ टेबुलमा बस्न नपाउँदै उसले प्रश्न गरी । ‘भन न प्लिज !’ भर्खर पहिलो डेटमा केही नाइनास्ती गर्ने कुरै भएन ।

उसको हजार प्रश्नको उत्तर दिन तयार छु, ऊ चैँ जाबो एउटा कुरा भनम भनेर समय माग्दैछे ।

‘चिल्ड बियर पिलाऊ न है !’ उसले टेबुलको मेनुमा बियरको मूल्यसूची देखाउँदै आग्रह गरी । ओ माई गड ! म फिलिङ ट्वाँ परे ।

पहिलो लभ, पहिलो डेटमै मलाई ट्वाँ बनाउने साँच्चै आधुनिक युवती थिई उ । हेर्दा निक्कै सिम्पल देखिन्थी तर जड्या पनि रैछे जस्तै फिल भयो । कतै मन चोरेकी त हैन झै लाग्यो अनि भने– ‘रियल्ली ? तिमी पिउछ्यौ ?’

‘स्योर ! म कहिले काहीँ पिउछु, साथीभाइसँग बसेर ।’ उसले सजिलै उत्तर दिई !

अघि भैँसी खादिनँ भन्नेले बियर पिउँछु भन्दा म छक्क परेँ ।  एकछिन तेरे नाम स्टाइलमा बहुलाउन मन लाग्यो, देवदास स्टाइलमा रुन मन लाग्यो ।  मैले वेटरलाई बोलाएर सोधेँ– ‘बस्ने एकान्त ठाउँ छैन ?’

उसले प्लाइउडले बेरिएको एउटा क्याबिन देखाउँदै भन्यो– ‘ऊ त्यो क्याबिनमा बस्नुस्, म मेनु लिएर आउँछु ।’

हामी उसले सिकाएको क्याबिनमा गयौँ । ‘कुन बियर पिउँछ्यौ ?’ उसले सजिलै भनी– ‘टुबोर्ग डिलक्स मगाऊ !’

वेटर आयो । एउटा बियर अनि दुईवटा गिलास अनि एक प्लेट सलाद मगाय पहिलो लटमा ।

ऊ लजाउँदै थिई । म अचम्म पर्दै थिएँ । ‘मलाई गलत सोच्दै छौँ है ?’ उसले आत्मग्लानी गरेको महसुस मैले गरँे ।
‘नाई !’ मैले धेरै भनिन ।  ‘आज मुड चल्यो, त्यसैले । यदि मनी प्रोब्लम हो भने भन ल, म सेयर गरुँला ।’ उसले हिम्मत दिने कोसिस गरी ।

‘हैन ! जति खान्छ्यौ खाऊ यार, नो प्रोब्लम ।’ मैले उसलाई हौसला दिए । वेटरले दुईवटा गिलासको साथमा एउटा टुबोर्ग ल्यायो ।

ऊ आफैले गिलासमा बियर खन्याई, पुरानो जड्याको स्टाइलमा । सिकाउँदै भनी– ‘गिलास र बियरको बोतललाई टच गरायर बियर खन्याउने हो भने बियरमा फिँज उठ्दैन अनि एउटा बियर ठ्याक्कै दुई गिलास बन्छ ।’

उसले मलाई सिकाउँदै बियरको बोतल खाली गराई ।  ढिला नगरी गिलास उठाई मेरो गिलासमा ठोक्काई अनि अलि ठूलै स्वरमा भनी– ‘चियर्स !’

म कहिलेकाहीँ पिउथे, ऊ पनि त्यस्तै लाग्थ्यो तर गलत । उसले निक्कै मीठो मानेर बियरको चुस्की लगाई । मुख मीठो बनाउँदै एउटा काक्राको टुक्रा चपाई ।

‘तिमी मर्द भएर पनि नामर्द जस्तो गर्छौ यार । कति ढिला खाएको ?’ उसले मेरो गिलास धकेल्दै छिटो पिउन अनुरोध गरी ।

‘छिटो पिउ, के आइमाई जस्तो गरेको ?’ ऊ प्रोफेसनल अल्कोहलिक जस्तो गरेर मलाई थर्काई ।

अर्को एक स्वाँठमा उसले गिलास खाली गराई । रित्तो गिलासलाई टेबुलमा ठोक्दै भनी– ‘अर्को बोतल मगाउ अनि एक प्लेट सेकुवा पनि । खर्चको तनाव नलेऊ यार डियर ।’

उसका आँखा बटारिँदै थिए । मृग नयनी उसका आँखा रसिला देखिँदै थिए ।  बिरानो सहरको रेस्टुराँमा बसेर यसरी बियर पिउनु कत्ति उचित थिएन । मेरो कोठामा लगेर जाने कुरै भएन ।

उसको अवस्थाबारे बुझ्दै भने– ‘तिम्रो रुममा बियर र खानेकुरा लगेर जाऊँ, उतै पिउँदै बसौँला ! मिल्छ कि नाई ?’

‘गुड ! रियल्ली गुड आईडिया ।’ यति भनेर ऊ जुरुक्क उठी ।  म काउन्टरमा गएर पैसा तिरँे । ऊ बाहिरै थिई ।

‘खै ल्याएनौँ बियर ?’ मेरा खाली हात देखेर उसले प्रश्न गरी । ‘उतै किन्ने नि ! यहाँबाट कस्ले बोक्छ यार ।’ मैले योजना सुनाए । ऊ चुप लागेर अघि लागी ।

कीर्तिपुर यातायातको बस चढेर हामी बल्खु पुग्यौँ । बल्खु पुरानो एमाले मुख्यालयको पछाडि एउटा तीन तले घरमा उसको डेरा रहेछ ।

दिदीसँग बस्दै आएकी ऊ हिजोआज एक्लै रैछे, त्यसैले आज यस्तो सुअवसर जुट्यो । कोठाको ताला खोल्दै उसले भनी– ‘सुस्त आऊ है, हल्ला नगर्नु, माथि घरबेटी बस्छन । थाहा दिनु हुँदैन ।’

मैले जुत्ताभित्रै गएर खोलँे । कोठा निक्कै सुन्दर थियो । कुनै धनाढ्य खानदानीकी छोरीको कोठाजस्तै अति सुन्दर कोठा ।

‘जाऊ तिमी खानेकुरा लिएर आऊ, म तयारी गर्छु ।’ उसले मलाई बियर अनि सितन ल्याउन खटाई अनि आफू चैँ किचेनमा छिरेर केही बनाउने तयारी गरी ।  बल्खु चोकमा निस्केर चारवटा बियर किने अनि चिप्स, दालमोठ अनि एक केजी मासु किनेर रुममा फर्किएँ ।

उसले मासु पकाई, मैल गिलासमा बियर खन्याए उसले सिकाएको जस्तै गरेर । उता मासु पाक्दै गर्यो, यता चिप्स र दालमोठसँग पार्टी चल्यो । एउटा–एउटा गर्दै तीनवटा बियर खाली भएसी मासु पनि आधा भयो । ऊ झ्याप भै, अनि भनी– ‘प्लिज दीपक ! चुरोट तान्न मन लाग्यो यार, लिएर आऊ न है ।’

हरे शिव ! म अचम्म पर्दै थिए । जीवनको पहिलो रोजाई नै गलत पर्यो भन्ने महसुस गर्दै थिएँ । उसका लागि कुदेर चुरोट लिएर आएँ । उसले चुरोट सल्काउँदै भनी– ‘आज लास्ट इन्जोय गर्ने ल ! पर्सी घरबाट दिदी आउच ।’

उसले चुसेर आधा बनाएको चुरोट मलाई दिँदै भनी– ‘पिउ, मजा आउँछ ।’म कहिले चुरोट पिउँदिन, आज पिउने कुरै भएन । फाल्दिएँ । ऊ झ्याप थिई, म फ्रेस । उसले मलाई सेक्सी नजरले हेरी । म लजाएँ ।

उसले मलाई तानेर अँगालो मारी अनि टङ किस गर्न थाली । मलाई घिन लाग्यो । उसलाई हुत्याइदिएँ ।
ऊ रिसाई, रिसले ऊ काली भै अनि भनी– ‘साले खाते ! पहिलो दिनमै मुड अफ गराउँछस् ? जमाना कहाँबाट कहाँ पुगिसक्यो, यो चँै अझै किस गर्न लजाउँछ ।’

उसको कुरा ठीकै थियो तर म ऊ जस्तो गर्लफ्रेन्डको खोजीमा थिइनँ । मलाई जीवनभर साथ दिने एउटी इज्जतिली साथी चाहिएको थियो । जोसँग जीवन बिताउने सपना देख्न सकियोस् । रात बिताउने सपना देखेको थिएन ।

घडी हेरेँ, बेलुकाको आठ बज्दै थियो । ऊ अर्को बियर खोलेर गिलासमा खन्याउँदै थिई । माथि घरबेटी बसेका थिए, तल अरू इज्जतिला मान्छे भाडामा बसेका थिए । ऊ खास्सै इज्जतिलो लागेन । ऊ झ्याप भए पनि म फ्रेस थिएँ ।

पिसाब गर्ने बहानामा तल झरेँ अनि बल्खु चोकमा निस्केर कीर्तिपुर यातायातकै गाडी पकडेर पाँगा फर्किएँ । त्यसपछि न अर्काे गर्लफ्रेन भेटिई, न सेकेन्ड किस गर्ने अवसर जुट्यो ।

प्रतिकृया दिनुहोस्

Loading...