कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा फ्री वाइफाइको व्यवस्था गर्ने


काठमाडौँ  । 

कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा निःशुल्क वाइफाइको व्यवस्था गर्ने भएको छ । 

नगरपालिकाले प्रथम नगरसभाका निर्णय सार्वजनिक गर्न आज आयोजना गरेको कार्यक्रममा नगरप्रमुख रमेश महर्जनले प्रत्येक नागरिकलाई इन्टरनेट सुविधा उपलब्ध गराउन सूचना प्रविधि पार्क निर्माण गरिने जानकारी गराउनुभयो । ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहका औषधि निःशुल्क वितरण गरिने छ । 

हरेक वडामा स्वास्थ्य सेवा विस्तार तथा समय समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ भने नगरवासीको स्वास्थ्य बीमाका लागि चाँडो अध्ययन थालिने छ । नगरपालिकाका अधिकांश वडामा खानेपानीको समस्या रहेकाले खानेपानीका लागि वैकल्पिक स्रोत विकास गरी प्रत्येक वडाका नागरिकलाई पानी उपलब्ध गराउने योजना छ । 

समृद्धि एवम् आत्मनिर्भर नगरपालिकाका रुपमा कीर्तिपुरलाई विकास गर्न स्थानीय युवालाई स्वरोजगार गराउन प्राविधिक शिक्षालयको अवधारणा ल्याइएको छ । ऐतिहासिक नगरीका रुपमा सो नगरपालिकालाई विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा स्थानीय विकासका कार्यलाई प्राथमिकता दिइने निर्णय गरिएको छ । 

प्राचीन महत्वका सम्पदा तथा मन्दिरलाई सरक्षण गरी पर्यटकीय स्थलको विकास गरिने छ । चालु आवका लागि रु ७९ करोड ५६ लाख १४ हजारबराबरको कार्यक्रम सार्वजनिक गरिएको छ ।

२०७४ साउन ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...