सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसियामाथि नेपालको अर्को सानदार जित


काठमाडौं । 

आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । 

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो । 

नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए । उनले ३७ बलमा छ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन बनाए । 

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा हफिजुद्धिनले दुई विकेट लिए । 

यसअघि ब्याटिङ गर्दै मलेसियाका लागि साएद अजिजले ४६ तथा विरनदीपले १० रन बनाए । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्केका थिए । 

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । उनले ९.१ ओभर बलिङ गरी एक मेडन राखेर १३ रन मात्र खर्चे । साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए । आलमले ९ ओभरमा २३ रन दिए । मलेसियाविरुद्ध आजको खेलमा डेब्यु गरेका ढकालले पाँच ओभरमा एक मेडन राखि १५ रन दिए । नेपाल पाँच खेलमा चार जित र एक हारसँगै आठ अङ्कसहित दोस्रो स्थानमा रहेको छ

२०७४ साउन ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...