नेपालका २५ जिल्लामा २८ लाख गरिब, कुन जिल्लामा कति गरिब ? तथ्यांकसहित हेर्नुहोस्

  • काठमाडौं ।

राज्यले गरिब पहिचान गर्ने अभियान त सुरु गरेको छ, तर पहिचान भएका गरिबलाई कस्तो सुविधा दिने भन्ने अझै अन्योल

पच्चीस जिल्लामा २७ लाख ८८ हजार सात सय ४४ गरिबको बसोवास छ । गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक बाहिर आएको हो । बोर्डले २५ जिल्लाका ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्यामा अनुसन्धान गरेको थियो ।

नयाँ पत्रिकाका अनुसार गरिब जनसंख्याको पहिचान गरिए पनि कहिलेदेखि परिचयपत्र वितरण गर्ने भन्ने अझै अन्योल छ । परिचयपत्र प्राप्त गरेपछि पनि गरिबले पाउने सेवासुविधाबारे केही निर्णय हुन सकेको छैन् । मन्त्रालयका सहसचिव सुरेश प्रधानले गरिबी निवारणसँग सम्बन्धित सबै परियोजनालाई एकीकृत रूपमा सञ्चालन गर्ने भनिए पनि कुनै प्रगति नभएको बताए । उनका अनुसार गरिबी निवारणका लागि आयआर्जनसँग सम्बन्धित कार्यक्रममा जोड दिने मन्त्रालयको तयारी छ ।

मन्त्रालयलाई गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रमको अधिकार नभएका कारण परिचयपत्र प्राप्त गरिबले पाउने सेवा–सुविधाबारे अहिलेसम्म प्रस्ट हुन नसकेको उनले बताए । गत ९ जेठबाट गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र गरिबसँग धिवश्वेश्वर कार्यक्रम मन्त्रालयमातहत आएका छन् । ती निकाय मन्त्रालयमातहत आएकाले अब गरिबसँग सम्बन्धित अन्य कार्यक्रम र बजेटबारे छलफल हुने सहसचिव प्रधानले जानकारी दिए ।

जम्मा गरिब कति ?

गरिब घरपरिवार सहयोग समन्वय बोर्डले २५ जिल्लामा २७ लाख ८८ हजार सात सय ४४ गरिब रहेको जनाएको छ । यी जिल्लामा ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्या छन् । गरिबको पहिचान गरी परिचयपत्र वितरण गर्ने तयारीअनुसार पहिलो चरणमा ती जिल्लामा गरिबको पहिचान गरेको हो । बोर्डले स्थलगत अध्ययनबाट संकलन गरेको सो तथ्यांकलाई १५ जेठमा बसेको मन्त्रीस्तरीय बोर्ड बैठकले पारित गरेको छ । गरिब जनसंख्या बस्ने घरधुरी भने तीन लाख ९१ हजार आठसय ३१ छ ।

७१ प्रतिशत बाजुरामा

बोर्डका निर्देशक रामहरि गैरेका अनुसार २५ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी गरिब घरपरिवार छन् । जिल्लाको ७१.१ प्रतिशत अर्थात् एक लाख ३४ हजार ८२ जनसंख्यामध्ये ९५ हजार तीन सय ६१ गरिब छन् । गरिब जनसंख्या १३ हजार ६ सय १९ घरधुरीका हुन् ।

तनहुँमा २१ प्रतिशत

बोर्डको अध्ययनअनुसार तनहुँमा २१.१ प्रतिशत मात्रै गरिब छन् । यहाँका नौ हजार दुई सय ७५ घरधुरीका ६२ हजार ६ सय ३९ व्यक्ति गरिब छन् । जिल्लाको जनसंख्या दुई लाख ९६ हजार तीन सय ३१ रहेको छ ।

पश्चिम पहाडमा धेरै

पश्चिम नेपालका पहाडी जिल्लामा बढी गरिब भेटिएका छन् । बोर्डको तथ्यांक अनुसार जाजरकोटमा ७० हजार ५५, डोल्पामा १८ हजार तीन सय ५८, जुम्लामा ६२ हजार दुई सय १०, कालिकोटमा ९१ हजार ६ सय ६६, मगुमा ३१ हजार एक सय २९, हुम्लामा ३२ हजार तीन सय ७३, बाजुरामा ९५ हजार तीन सय ६१, बझाङमा एक लाख २६ हजार आठ सय ७५ जनसंख्या गरिब छन् ।

२०७४ असार ३१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...