म्याग्दी: च्यानल गेट बन्द गरी जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ८ जना पक्राउ

  • म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीनगरपालिका–७ बेनीबजारको बैंकरोड नजिकै जुवा खेलिरहेका एक महिलासहित ८ जना पक्राउ परेका छन् । तीनतले घरको च्यानल गेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

जुवाघर सञ्चालिका समेत रहेकी मालिका गाउँपालिकाकी पार्वती पुन भनिने सविनासहित ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताए । तीन प्याकेट तासका बट्टासहित विभिन्न रङका गोटीको प्रयोग गरेर जुवा खेलिरहेको घरमा ताल्चा फोरेर भित्र प्रवेश गरी उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिए ।

प्रहरी निरीक्षक दिवाकर घिमिरेको कमाण्डमा खटिएको टोलीले गुरिल्ला शैलीमा प्रवेश गरेर जुवाडेलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । प्रहरी प्रवेश गरेको जानकारी पाएपछि जुवाडे घरको पछिल्लो भागबाट भाग्ने प्रयास समेत गरेका थिए । पक्राउ पर्नेमा जिल्लाभित्रका र विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु रहेको प्रनाउ खड्काले बताए । प्रहरीकाअनुसार पक्राउ पर्नेहरुको परिचयसहित आवश्यक विवरण सङ्कलन र प्रारम्भिक अनुसन्धान भैरहेको छ । प्रहरीले सूचनाका आधारमा निगरानी बढाएको थियो । 

तास र पैसा हुने ठाउँमा गोटी मात्रै भेटिए पनि नयाँ शैलीको जुवाघर फेला परेको भन्दै थप अनुसन्धानबाट अन्य जुवाघरसम्म पुग्न सकिने प्रहरीको अनुमान लगाएको छ । 

२०७४ असार ३१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...