मनीषा कोइरालालाई भेटेर किन दंग परे रणवीर कपुर ? यस्तो छ कारण


काठमाडौं ।

बलिउडमा लामो अन्तरालपछि ‘कमब्याक’ गरेकी मनीषा कोइरालाको हालै ‘डियर माया’ रिलिज भयो, जसलाई फिल्म समीक्षकहरूले खुबै मन पराए। 

उनै मनीषाको ‘कमब्याक’ पछिको दोस्रो फिल्म ‘सञ्जय दत्त–बायोपिक’ सुटिङको अन्तिम चरणमा पुगेको छ। मनीषाले यो फिल्मको निम्ति आफ्नो हिस्साको सुटिङ पूरा गरिसकेकी छन्।

सञ्जय दत्तको जीवनकथामा आधारित यो फिल्ममा रणवीर कपुरले सञ्जयको भूमिका निर्वाह गरेका छन् भने मनीषा उनकी आमा नरगिसको भूमिकामा देखिने छिन्।

मनीषासँग पहिलोपटक पर्दामा देखिन लागेका रणवीरले उनको अभिनयबाट आफू पहिलेदेखि नै प्रभावित रहँदै आएको प्रतिक्रिया दिएका छन्। ‘म उनको पहिलेदेखि नै फ्यान थिएँ। उनको फिल्म र त्यसमा उनले गरेको अभिनयले मलाई सधैं अचम्भित पार्ने गर्थ्यो,’ रणवीरले एसिएन एजसँग भनेका छन्।

उनले ‘खामोशी– द म्युजिकल’ लाई मनीषाको उत्कृष्ट फिल्म बताएका छन्। सञ्जय लीला भन्साली निर्देशित तथा नाना पाटेकर, सलमान खान र सीमा विश्वास अभिनीत यो फिल्ममा मनीषाले बोल्न र सुन्न नसक्ने बाबुआमाकी एक्ली छोरीको भूमिका गरेकी थिइन्, जो गीत–संगीतमा रुचि राख्छिन्।

सानैम त्यो फिल्म हेर्दा आफू मनीषाको अभिनयबाट प्रभावित रहेको उल्लेख गर्दै रणवीरले अहिले उनैसँग काम गर्न पाउनुले आफूलाई खुसी तुल्याएको बताएका छन्। आफूले सम्मान गर्दै आएको कलाकारले आफ्नो फिल्म हेरेको र कामको प्रशंसा गरेकोमा रणवीर दंग छन्।

मनीषा वरिष्ठ र अनुभवी कलाकार भएर पनि सेटमा उनको प्रस्तुति र हाउभाउ सामान्य रहेको रणवीरले सम्झे। ‘सेटमा आउँदा उनले कहिल्यै आफू सिनियर कलाकार हुँ भन्ने भान पारेनन्,’ उनले भने, ‘हामी सबैसँग उनको प्रस्तुति एकदमै सामान्य थियो।’

मनीषा स्वयं पनि क्यान्सर रोगबाट गुज्रिसकेकीले नरगिसको भूमिकालाई उनले न्याय गरेको रणवीरले बताएका छन्। ‘जीवनको उत्तरार्द्धमा नरगिसजीलाई क्यान्सर लागेको थियो। मनीषा पनि त्यो रोगसँग गुज्रिसकेकी छन्। यही अनुभवका आधारमा मनीषाले नरगिसजीको भूमिकालाई न्याय गर्न सफल भएको मलाई लाग्छ,’ उनले भने।

मनीषाले यसअघि रणवीरका बाबु ऋषि कपुरसँग ‘अनमोल’ भन्ने फिल्म खेलेकी थिइन्। 

२०७४ असार ३१ मा प्रकाशित ।


प्रतिकृया दिनुहोस्

Loading...