अपडेट: १३ स्थानको परिणाम आउन बाँकी, अहिलेसम्म कहाँ कसले जिते

 
  • काठमाडौं ।
दोस्रो चरण स्थानीय तह निर्वाचनको आन्तिम परिणाम आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक ३ सय २१ स्थानको परिणाममा एमालेको अग्रता कायमै छ ।

एमालेले १ सय ४४, कांग्रेसले १ सय १७ र माओवादी केन्द्रले ३८ स्थान जितेको छ । संघीय समाजवादी फोरम ७, लोकतान्त्रिक फोरम ६, राप्रपा ४ तथा राष्ट्रिय जनमोर्चा २ स्थानमा विजयी भएको छ । तीन ठाउँमा स्वतन्त्र उम्मेद्वार चुनिएका छन् ।

पछिल्लो पटक सार्वजनिक परिणाअनुसार उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा नेकपा एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मतका साथ विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसकी देवी चौधरी ११ हजार ३ तीन सय २२ मत ल्याई विजयी भएकी छिन् ।

यस्तै, झापाको शिवसताक्षी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका चन्द्रकुमार शेर्मा लिम्बु १४ हजार ६ सय ८४ र उप–प्रमुखमा एमालेकै भोजकुमारी नेपाल १४ हजार ९ सय ६० मतका साथ निर्वाचित भएका छन् ।

यस्तै, नेपाली कांग्रेसको गढ मानिएको मोरङको रंगेली नगरपालिका प्रमुखमा माओवादी केन्द्रका दीलिप अग्रवाल निर्वाचित भएका छन् । उनले ८ हजार ६८ मत प्राप्त गर्दा निकटतम कांग्रेसका मोदराज घिमिरे ६ हजार १ सय ८६ मत ल्याए । मतगणनाका क्रममा १२ मत तलमाथि परेको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले विवाद उठाएपछि उप–प्रमुख भने घोषणा गरिएको छैन ।

उता, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा ८ हजार १ सय ७५ मत पाएका स्वतन्त्र उम्मेद्वार मोहनलाल चौधरी विजयी भएका छन् । उपमेयरमा भने संघीय समाजवादी फोरमका जानकीदेवी श्रीवास्तव ४ हजार ७ सय २० मतका ल्याएर निर्वाचित भइन ।

यस्तै, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिकाका मुख्य दुई पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा हरिप्रसाद अधिकारी र उप–प्रमुखमा उमा काफ्ले निर्वाचित भएका हुन् । अधिकारीले ६ हजार ७ सय ५ मत प्राप्त गर्दा आचार्यले ६ हजार १ सय ७२ मत ल्याइन ।

यसैगरी, झापाको भद्रपुर नगरपालिका प्रमुखमा एमालेका जीवनकुमार श्रेष्ठ र उपप्रमुखमा एमालेकै चन्द्रा श्रेष्ठ चुनिएका छन् । १० वटा वडा रहेको भद्रपुरमा एमालेले ७, कांग्रेसले २ र माओवादी केन्द्रले एक वटा वडा जितेको छ ।

२०७४ असार २३ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...