अन्तर्राष्ट्रिय स्तरको फुटसल प्रतियोगितामा नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्ने

  • काठमाडौं । 
नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली फुटबल महासंघले आयोजना गर्ने ए.एफ.सी फुटसल च्याम्पियनसिप २०१८ को छनोट चरणमार्फत नेपालले अन्तर्राष्ट्रिय फुटसलसमा डेब्यु गर्न लागेको हो । प्रतियोगिताका लागि मलेसियाको क्वालालम्पुरमा निकालिएको खेल तालिकामा नेपाल समूह ‘ए’मा परेको छ ।

यो समूहमा नेपालसँगै उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान छन् । उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो ।

प्रतियोगिता यही असोज २७ गतेदेखि ईरानमा हुनेछ । प्रतियोगिताको समूह ‘बी’मा ईरानसँगै ताजकिस्तान र अफगानिस्तान रहेका छन् । छनौट चरण पार गर्न सके नेपालले माघ २३ गतेदेखि हुने अन्तिम चरणको प्रतियोगिता खेल्ने अवसर पाउनेछ ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने निर्णय गरे पनि हालसम्म नेपालको राष्ट्रिय फुटसल टोली छैन । अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल समितिले यही अगष्ट महिनामा फुटसल लिग गराएर राष्ट्रिय टोली छनौट गर्ने जनाएको छ ।

२०७४ असार २३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...