नेपाल र भारतबीच भए आठ सम्झौता, हेर्नुहोस् विस्तृतमा

  • काठमाडौं ।

नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भएको एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा हैदरावाद हाउसमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

हस्ताक्षर भएका ८ मध्ये ४ बुँदा भूकम्पपछि भारतले नेपाललाई दिने भनेको सहयोग सँग सम्बन्धित छन् । त्यसमा ५० हजार घर पुननिर्माणको मोडालिटीका विषय समेत समेटिएका छन् । त्यस्तै अर्को एमओयु शैक्षिक क्षेत्रमा भूकम्पपछि पुननिर्माणको रहेको छ भने बाँकी दुईवटा सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रसँग सम्बन्धित छन् । 

भूकम्पसम्बन्धी चार एमओयुमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र भारतका तर्फबाट विदेश सचिव एस जयशंकरले हस्ताक्षर गरेका हुन् । पाँचौँ एमओयु मेची नदीमा बनाउने फराकिलो पुलबारे रहेको छ । यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतका तर्फबाट रोड ट्रान्सपोर्ट एन्ड हाइवेज सचिव युद्धवीर सिंहले हस्ताक्षर गरेका छन् । 

छैटौँ एमओयु लागू औषधको व्यापार रोक्ने विषयमा रहेको छ । जसमा गृह सचिव लोकदर्शन रेग्मी र भारतीय अर्थ मन्त्रालयका रेभेन्यु सेक्रेटरी हसमुख अधियाले हस्ताक्षर गरेका छन् । यस्तै सातौँ एमओयु स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्टमा सहयोग सम्झौता सम्बन्धी छ यसमा नेपाल गुणस्तर तथा मापदण्ड ब्युरोका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतीय समकक्षी सन्जय सिंहले हस्ताक्षर गरेका छन् । 

एमओयुको आठौँ बुँदामा दुई देशका चार्टर एकाउन्टेन्ट इन्स्टिच्युटबारे छ । जसको नेपालतर्फ इन्स्टिच्युटका अध्यक्ष प्रकाश थापा र भारतका तर्फबाट निलेश भिकाम्सेले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...