प्रहरीभित्र बबाल: ९८८ द्वारा राजीनामा, २३ सय कारबाहीमा, २७० प्रहरीको जागिर चट..

  • काठमाडौं । 
एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ मा दुई एसएसपी, एक एसपी, दुई डिएसपी र २७ जना इन्स्पेक्टर विभागीय कारबाहीमा परेका छन् । 

कारबाहीमा पर्नेमध्ये तीन सय ४६ जनालाई जागिरबाट हटाइएको छ । जागिरबाट हटाइएकामा तीनजना इन्स्पेक्टरसमेत छन् । दुई इन्स्पेक्टरसहित २४ जनालाई सेवाबाट हटाइएको छ । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउने तथा बर्खास्तीको कारबाही हुने गरेको छ ।

नसिहत पाउने धेरै

कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरैले नसिहत पाएका छन् । एक हजार दुई सय ६ जनालाई कारबाहीस्वरूप नसिहत दिइएको छ । एक एसपी, दुई डिएसपी, १८ इन्स्पेक्टर, ४६ सइ, एक सय १६ असइ, दुई सय ६२ प्रहरी हवल्दार, सात सय ५४ जवान र आठजना कार्यालय सहयोगी छन् ।

नसिहत पाएका प्रहरीहरू बढुवामा पछि पर्दछन् । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही गर्ने प्रहरीहरू कारबाहीमा परेका हुन् ।

कसलाई कस्तो कारबाही ?

एक सय ५१ जनाको ग्रेड रोक्का, २९ जनाको प्रतिकूल राय तथा ३८ जनाको ग्रेड घटुवा गरिएको छ ।

दुई सय तीनजनाको पदोन्नति रोक्का, २६ जनाको पद घटुवा, दुई सय पाँचजनाको तल्लो स्केलमा घटुवा तथा एक सय ५३ जना अनुसन्धानका लागि निलम्बनमा परेका छन् । कारबाहीको संख्यामा प्रहरीमा आन्तरिक शुद्धीकरणलाई चित्रित गर्ने प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्की बताउँछन् ।

आव ०७२/७३ मा एक हजार दुई सय ७२ प्रहरी विभागीय कारबाहीमा परेका थियो । तर, पछिल्लो वर्ष कारबाहीमा पर्नेको संख्या झन्डै दोर पुगेको छ । कारबाही बढ्नुले संगठनभित्र मौलाएको भ्रष्टाचारलाई प्रतिबिम्बित गर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

आव ०७३/७४ मा देशमा अपराध पनि अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत बढेको थियो । नेपाल प्रहरीमा ७२ हजार सात सय १९ प्रहरी छन् । जसमध्ये करिब ३ प्रतिशत प्रहरी कारबाहीमा परेका छन् ।

९८८ को राजीनामा

प्रहरीमा जागिर छाड्नेहरूको क्रम पनि रोकिएको छैन । हरेक दिन औसत तीनजना प्रहरीले राजीनामा दिने गरेका छन् । गत आवमा नौ सय ८८ जनाले राजीनामा दिएका छन् । प्रहरीमा पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने प्रवृत्ति बढ्दै गएको छ ।

खासगरी तल्लो तहका प्रहरीहरू राजीनामा दिने गरेका छन् । राजीनामा दिएपछि पेन्सन आउने र अन्यत्र काम गरेर धेरै कमाइने भएकाले उनीहरूले राजीनामा दिने गरेका छन् । कतिपय त राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

३० वर्षे सेवाहदका कारण पनि धेरैले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिएर अन्य पेसा अँगाल्ने गरेका छन् । तालिमप्राप्त अधिकारीले बीचैमा जागिर छाड्दा संगठनलाई ठूलो असर पर्ने गरेको छ । एक व्यक्तिलाई तालिम दिएर प्रहरी बनाउन न्यूनतम सात लाख रुपैया“ खर्च हुने गर्दछ । आजको नयाँ पत्रिकामा समाचार छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...