चिकित्सा र इन्जिनियरिङ शिक्षालाई दलालहरुको कब्जाबाट मुक्त गर्न क्रान्तिकारीले चल्यो यस्तो कदम

  • ललितपुर । 
अखिल क्रान्तिकारीले चिकित्सा र इन्जिनियरिङ शिक्षालाई शैक्षिक दलालहरुले कब्जा गर्न खोजेको भन्दै त्यस्ता दलालहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

सोही कार्यक्रम अनुरुप क्रान्तिकारीको एक केन्द्रीय टोलीले बुधबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा शैक्षिक दलालहरुलाइ निषेधित क्षेत्र घोषणा गरेको छ ।

क्रान्तिकारीको विज्ञान तथा प्राविधिक विभागद्वारा बुधबार दिउँसो पुल्चोकको इन्जिनियरिङ अध्यायन संस्थानको मुल गेटमा ६ कारणसहित ‘शैक्षिक दलालहरुलाई प्रवेश निषेध’ लिखित ब्यानर टाँगेर निषेधित क्षेत्र घोषणा गरेको हो । विदेशी शैक्षिक संस्थाका प्रतिनिधि नोपाली क्याम्पस र कलेजहरुमा छिर्ने कुरा आफूहरुलाई साह्य नहुने क्रान्तिकारीका नेताहरुले बताए ।

राज्यले इन्जिनियरिङ लगायत प्राविधिक विषय अध्यायनलाई सर्वसाधारणको पहुँचमा पुर्याउनुको साटो विद्यार्थी र पूँजी विदेश पलायन हुन प्रोत्साहन गरेर दलाली गरिरहेको भन्दै त्यसलाई रोकेर प्राविधिक विषय सहज रुपमा सबैले पढ्न पाउने वातावरण बनाउन निषेधित क्षेत्र घोषणा गरिएको विभागका संयोजक लोकेश विश्वकर्माले बताए ।

केही वर्षदेखि मुख्यगरी नेपाली विद्यार्थीलाई यहाँका शैक्षिक कन्सल्ट्यान्टहरुले भारतको ‘सी ग्रेड’का कलेजहरुमा इन्जिनियरिङ अध्यायन गर्न पुर्याएर जनशक्ति र पूँजी पलायन गराउन दलाली गरिरहेको विश्वकर्माले बताए ।

शिक्षा क्षेत्रलाई सीमित व्यापारी, तस्कर, माफिया र दलालहरुको हातबाट मुक्त गर्न समेत उनले माग गरेका छन् । भर्ना संख्या कोटा थप गरेर सहज शुल्कमा देशभित्रै इन्जिनियरिङ लगायत प्राविधिक शिक्षा अध्यायन गर्न पाउने व्यवस्था मिलाउन संयोजक विश्वकर्माले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग माग गरेका छन् ।

शैक्षिक दलालहरुलाई संगठनले निगरानी गरिरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली विद्यार्थी आफ्नै मुलुकमा गुणस्तीयर प्राविधिक शिक्षा अध्ययन गरी राष्ट्रलाई सेवा गर्न तयार रहेको भन्दै ‘वर्तमान दलाल संसदीय राज्य व्यवस्थाले शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता माथि व्यापार र घिनलाग्दो दलाली गरिरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

‘राज्यको दलाल चरित्रको फाइदा उठाउँदै विदेशी शैक्षिक संस्थाका प्रतिनिधि हाम्रै शैक्षिक संस्थाका आँगनसम्म आउने कुरा किमार्थ सह्य हुन सक्दैन’ जारी विज्ञिप्तिमा भनिएको छ ‘आजको मितिदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस र कलेजहरुमा प्रचार प्रसार या परामर्शको नाममा कुनै पनि हर्कत नगर्न सम्वन्धित पक्षलाई अन्तिम चेतावनी दिन चाहन्छौं । साथै सीपमूलक प्राविधिक शैक्षिक (चिकित्सा र इन्जिनियरिङ्ग) क्षेत्रहरुलाई दलाल मुक्त क्षेत्र घोषणा गरिएको छ ।’

बुधबार नै पुल्चोक क्याम्पस क्षेत्रबाट विद्यार्थीलाई विदेश पठाउने विज्ञापन सामाग्रीसहित आएका ८० भन्दा बढी भारतीय शैक्षिक दलाल कन्सल्टेन्सी प्रनिनिधिलाई लखेटेको र प्रचार सामाग्री कब्जामा लिइएको संयोजक विश्वकर्माले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...