अध्यक्ष बन्ने होडबाजी चलेपछि माओवादी केन्द्रको अखिल क्रान्तिकारीमा निर्वाचनबाट नेतृत्व छानिने


काठमाडौँ। 

नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को पदाधिकारी चयनमा सहमति नजुटेपछि आइतबार निर्वाचन हुने भएको छ । 

निर्वाचनमा लागि संगठनका पूर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले आज निर्वाचनको कार्यतालिका प्रकाशित गरेको छ । आइतबार बिहान ८.०० बजेसम्म उम्मेदवारी मनोनयन गर्नुपर्ने र दिउँसो २ बजेबाट मतदान सुरु हुनेछ । 

क्रान्तिकारीको अध्यक्षका लागि रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत, मदन भुडाललगायतले दाबी पेश गरेको र सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको निर्वाचन समितिका संयोजक मल्लले जानकारी दिए । 

नेपाल विद्यार्थी संघ र अनेरास्ववियुमा निर्वाचनबाट केन्द्रीय समिति चयन हुँदै आएको भएपनि क्रान्तिकारीमा भने पहिलोपटक निर्वाचन हुन लागेको हो । 

क्रान्तिकारीको दुई हजार ३४ मतदाता रहेका छन् । ती मतदाताले ३३ पदाधिकारी २३४ केन्द्रीय सदस्य चयन गर्नेछ । यस्तै अध्यक्ष नरेन्द्र न्यौपानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधानलाई भने बन्द सत्रले पारित गरेको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । 

क्रान्तिकारीको सम्मेलनको बन्द सत्रले पारित गरेको राजनीतिक प्रतिवेदनमा समाजवादी शिक्षाको आधार तयार पार्ने, शिक्षालाई राज्यको दायित्वमा राख्नुपर्ने र व्यापारीकरणको अन्त्य गर्नुपर्नेलगायतका विषय समेटिएका छन् । 

जनवादी शिक्षाको वकालत गर्दै आएको क्रान्तिकारीले नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै समाजवादी शिक्षा नीति लागू हुनुपर्ने, प्राविधिक शिक्षालाई जोड दिनुपर्ने, युवा विद्यार्थीका लागि सरकारका तर्फबाट लगानी हुनुपर्नेलगायतका विषयलाई समेटिएको प्रवक्ता बस्नेतको भनाइ छ । 

यस्तै विद्यार्थी संगठनमा रहन उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयलाई बहसमा नै रहन दिने गरी विधान पारित गरिएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...