बलात्कारी बाबा राम रहिमको वास्तविकता बाहिर ल्याउने पत्रकारको गोली हानि हत्या


एजेन्सी ।

भारतको हरियाणा पंचकुला स्पेशल सिबिआई कोर्टले डेरा सच्चा सौदा नामको संस्थाका प्रमुख गुरमीत सिंह राम रहिमलाई बलात्कार मामलामा दोषी ठहराएको छ । 

सन् २००२ मा नै पत्रकार रामचन्द्र छत्रपतिले पहिलोपल्ट रहिमको बलात्कार मामलालाई बाहिर ल्याएका थिए ।

रामचन्द्र छत्रपति हरियाणाको सिरसाबाट निस्कने पत्रिका ‘पूरा सच’ का सम्पादक थिए । एक जना साध्वीलाई बलात्कार गरेको समाचार प्रकाशित गरेको केही महिनामै ‘पूरा सच’का सम्पादक छत्रपतिको गोली हानी हत्या गरियो । राम रहीमलाई छत्रपतिको हत्याको आरोपसमेत लाग्ने गरेको छ ।

रामचन्द्र छत्रपतिले वकालत छाडेर सन् २००० देखि ‘पूरा सच’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए । बीबीसीका स्थानीय सम्वाददाता प्रभु दयालका अनुसार छत्रपतिलाई एउटा अज्ञात पत्र प्राप्त भएको थियो । जसमा आश्रममा साध्वीको यौन शोषण गरेको कुरा थियो । छत्रपतिले त्यो अज्ञात पत्र आफ्नो पत्रिकामा छापे । त्यसपछि उनलाई ज्यान मार्ने धम्की आएको थियो ।

छत्रपतिलाई १९ अक्टोबर २००० मा गोली हानियो । २१ अक्टोबरमा दिल्लीको अपोलो अस्पतालमा उनको निधन भयो । प्रभु दयालका अनुसार छत्रपति होशमा त आए तर राजनीतिक दबाबका कारण उनको बयानसमेत लिइएन । पछि उनका छोरा अंशुल छत्रपतिले अदालतमा मुद्दा दायर गरी सिबिआई जाँचको माग गरेका थिए ।

छत्रपतिको परिवार आज पनि उनको हत्याको न्यायिक छानबिनको पर्खाइमा रहेको छ । यो मुद्दा पनि त्यही सिबिआई अदालतमा चलिरहेको छ, जसले राम रहीमलाई बलात्कार मामलामा दोषी ठहरायो । हिन्दुस्तान टाइम्सका अनुसार अक्टोबर २००२ मा छत्रपतिलाई आफ्नै घरमा गोली हानिएको थियो । उनका छोरा अंशुल भन्छन्, ‘म त्यति बेला २१ वर्षको थिएँ । मलाई न्याय माग्न कहाँ जाने थाहा थिएन । प्रहरीले एफआईआरमा आश्रम प्रमुखको नामसमेत सामेल गरेन ।’

राम रहीमको फैसला आएसँगै रामचन्द्र छत्रपतिको विषयमा पनि छानबिन हुनुपर्ने माग सामाजिक सञ्जालमा उठ्न थालेको छ । स्वराज इन्डियाका नेता योगेन्द्र यादबले फेसबुकमा रामचन्द्र छत्रपति एक इमान्दार र साहसी पत्रकार भएको बताए ।

छत्रपतिसँगको भेटलाई सम्झँदै उनी लेख्छन्, ‘हामीले साध्वीको पत्र छाप्यौँ । त्यसले गर्दा बाबा पागल भएका छन् । पत्र छापेको केही महिनामै गोप्य पत्र बाहिर ल्याएको आशंकामा रंजीत सिंहको हत्या गरियो । यो सुनेर मैले सोधेँ, ‘रामचन्द्रजी तपाईँलाई खतरा छैन ? उनले भने, ‘हो धेरै पल्ट धम्की आएको छ । के हुने हो केही थाहा छैन । तर सबैले कुनै न कुनै दिन त जानु नै छ ।’ योगेन्द्र यादबले छत्रपतिसँग कुरा भएको चारदिनपछि उनलाई गोली हानिएको खबर सुनेको बताए ।

वरिष्ठ पत्रकार रवीश कुमारले पनि फेसबुकमा छत्रपतिको हत्याको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । उनले रामचन्द्र छत्रपति महान पत्रकार भएको बताएका छन् । त्यस्तै कुमारले राजेन्द्र सच्चर, आर एस चीमा, आश्विनी बख्शी तथा लेखराजजस्ता वरिष्ठ वकिलले बिना पैसा छत्रपतिको मुद्दा लडेको बताएका छन् ।

२०७४ भदौ १० मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...