भरतपुरमा मेयरमा जितेपछि रेणु दाहालले के भनिन् ?

  • चितवन । 
सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयरमा जितेपछि नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहालले भरतपुरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाइने घोषणा गरेकी छिन् ।

भरतपुर महानगरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउने उनको घोषणा छ । ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’ उनले भनिन् ।

उनले पहिलो काम एकल महिलाका निम्ति गर्ने पनि बताइन् । जुन दलबाट उम्मेदवार भएपनि अब आफू साझा भएको रेणुले बताइन् । समृद्ध महानगर बनाउन सबै दलसँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ छ ।

भरतपुर प्राकृतिक सम्पदाले धनी महानगर भएको भन्दै रेणुले स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिइने बताइन् ।

यसैगरी, उपमेयरमा विजयी काँग्रेसकी पार्वती शाहले देशको मध्यभागमा रहेको महानगरलाई न्याय र समानताका लागि चिनाउने बताइन् । महानगरमा प्रमुख र उपप्रमुख दुवैमा महिला विजयी भएको भन्दै उनले महिला हक अधिकारका लागि कोही वञ्चित हुनु नपर्ने बताइन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...