भरतपुर अपडेट : २० गते पुनः मतदान हुने भएपछि बाक्लो रुपमा सेना-प्रहरी परिचालन, ८०७ मत जलाइयो

  • भरतपुर । 

चितवनको भरतपुर–१९ मा पुनः मतदान हुने भएको छ।  बुधबारदेखि प्रचारप्रसार गर्न नपाउने मौन अवधि शुरु हुने गरी साउन २० गते निर्वाचनको मिति तय भएको छ । 

मंगलबारको दलीय सहमतिअनुसार यही साउन २० गते शुक्रबार पुनः मतदान गर्ने निर्णय भएको चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए । 

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको सूचनामा २०७४ साल जेठ २० गतेको निर्वाचन आयोगको निर्णय र साउन १६ को निर्देशनअनुसार भरतपुर १९ को मतपत्र बदर घोषित गरी सो स्थानमा साउन २० गतेका दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने उल्लेख गरिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि मंगलबार भरतपुर–१९ को दुई हजार ८०७ बदर मतलाई दलीय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्ड हलको परिसरमा जलाएर नष्ट गरेको थियो । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए । 

साउन २० गते पुन मतदान हुन लागेको चितवनको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने भएको छ । तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिएका छन् । 

कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने र निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय चितवनबाट हुने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालको भनाइ छ । 

वडा नम्बर १९ को किरण मावि किरणगञ्ज मतदान स्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । जेठ १४ गते राति मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो । 

निर्वाचन आयोगले पुनः मतगणनाको निर्णय गरेलगत्तै भरतपुर महानगरपालिका–१९ मा नेकपा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले पुनः मतदानको माग गर्दै सर्वाेच्चमा मुद्दा दर्ता गरेका थिए । 

सो मुद्दामा सर्वाेच्च अदालतले शनिबार फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो । १९ वडाको मत बदर भएपछि प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली, रेणु दाहालभन्दा ७८४ मतले अघि छन । 

ज्ञवालीको ४० हजार ९८० र दाहालको ४० हजार १९६ मत छ । भरतपुर–२० मा तीन हजार ३०२ छ खसेको छ भने वडा नम्बर १९ मा तीन हजार ७९७ मतदाता छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...