को होलान् यी किशोर, कहाँ होला यिनको घर ! जसले १२ बर्षदेखी आफ्नो परिवार भेटाएका छैनन्

  • काठमाडौँ । 
नेपाली उखान छ– बाह्र बर्षपछि खोला फर्कन्छ तर उनको जीवनमा यो उखान लागु भएन । बाह्र बर्षअघि घरपरिवारबाट बिछोट भएका एक किशोरले अहिलेसम्म पनि परिवार भेट्न सकेका छैनन् ।

बाह्र बर्षअघि दाङबाटै परिवारसँग बिछोडिएका सन्दीप श्रेष्ठ (यथार्थ थर थाहा छैन) लामो हण्डर खाएर फेरि परिवार खोज्दै दाङ आइपुगेका छन् । दाङको सडक किनारामा १२ बर्षअघि परिवारसँग बिछोडिएर रोइरहेको बेला एक व्यक्तिले गाडीमा राखेर काठमाडौं लगेका थिए । 

स्थानीय धानखोला मेला गएको बेला उनी परिवारसँग बिछोडिएका थिए । हेर्दा मगर समुदायका जस्तो देखिने उनलाई आफ्ना बावुआमा को हुन्, घर कहाँ हो केही पनि थाहा छैन । आफ्नो नाम र थर के हो, त्यो पनि जान्दैनन् उनी । आफूलाई घरमा सन्दीप भनेर बोलाउने गरेको सम्झेर उनले त्यही नाम प्रयोग गरिरहेका छन् ।

दाङकै एक व्यक्तिको सहारामा सन्दीप राजधानीको बसुन्धरामा बसे र कक्षा ४ सम्म सरकारी विद्यालयमा पढे । त्यहाँ पनि बस्न नसकेपछि ७० किलोमिटर साइकल यात्रा गरेर उनी सिन्धुपाल्चोक पुगे र एउटा रिसोर्टमा काम गर्न थाले । त्यही उनी अनेरास्ववियुकी नेतृ भक्तकुमारीको लामाको सम्पर्कमा पुगेपछि संगठनका जिल्ला अध्यक्ष बीरबल खड्कामार्फत दाङ आएका हुन् ।

करिब १६÷१७ बर्षका जस्ता देखिने सन्दीपले परिवारसँग चाँडै भेट हुने आशा राखेका छन् । बुवासँग धानखोलाको मेलामा गएको बेला आफू हराएको उल्लेख गर्दै उनले अब बुवाले आफू जीवित रहेको थाहा पाएपछि खोज्न आउने अपेक्षा राखेका छन् । 

शिवरात्रीको समयमा लाग्ने यो मेलामा धेरै टाढा पनि मानिस आउने भएकाले उनको घर दाङमै हो वा होइन भन्न सकिने अवस्था नरहेको हालका संरक्षक बीरबल खड्काले बताउनुभयो । उहाँले जसरी पनि सन्दीपको परिवार खोजी गरी जिम्मा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पटकटक अस्थायी संरक्षक भेटाए पनि घरपरिवार नभेटाउँदासम्म आफू दुःखमै रहने सन्दीपको भनाइ छ । ‘मैले बाह्र बर्षसम्म यति धेरै दुःख पाएँ, मेरो घरमा बुवाआमाले मेरो खोजीमा के के गरे होलान्’– रुँदै सन्दीपले भन्नुभयो– ‘आजसम्म जे हुनु भयो, चाँडै घरमा पुग्न चाहन्छु र मेरा बुवा आमाको काखमा बस्न चाहन्छु ।’

२०७४ साउन १९ गते प्रकाशित

सिस्ने अनलाइनबाट

,

प्रतिकृया दिनुहोस्

Loading...