देउवा-प्रचण्ड र केपी ओलीका लागि प्रतिष्ठाको विषय बन्यो भरतपुर, कसले मार्ला बाजी ?

  • चितवन ।
स्थानीय तहको पहिलो चरणमै बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भएको लफडाले रोकिएको भरतपुर महानगरपालिकामा कसले बाजी मार्ला सबैको चासोको विषय भएको छ । प्रमुख ३ संसदीय दल नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेका लागि यो प्रतिष्ठाको बिषय समेत बनेको छ । 

३ हजार ७ सय ९७ जना मतदाता रहेको भरतपुर महानगरको वडा नम्बर १९ मा बैशाख ३१ गतेको निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । जसमध्ये एक हजार ८ सय नौ मत गणना गरिसकिएको थियो । 

बाँकी मतगणना गर्ने क्रममा जेठ १४ गते मध्यराति उम्मेदवारका प्रतिनिधिबाट नै मतपत्र च्यात्ने काम भयो । जतिबेला एमालेका उम्मेदवार देवी माओवादी केन्द्रकी उम्मेदवार रेणु भन्दा मात्र ७ सय ३३ मतले अगाडि थिए । 

मतगणना भइरहँदा जेठ १४ गते राती मतपत्र च्यातिएपछि भएको विवाद अन्ततः सर्वोच्च पुगेको थियो । सर्वोच्च अदालतबाट फैसला भएपछि भोलि लिशुक्रबार उक्त वडामा पुनः मतदान हुँदैछ । 

दुई महिना भन्दा बढी समयको अन्यौलतापछि मेयरका नेपाली कांग्रेस र माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले फिल्डमा छन् ।

पुनःमतदान हुने भएपछि परिस्थिति फेरिने भएकाले अन्तिम समयसम्म विरोधमा उत्रिएको एमाले विरोधका बाबजुद पुनःचुनावमा होमिएको छ । अर्कातिर माओवादी केन्द्रलाई दाउ मार्ने मौका मिलेको छ ।

यसैबीच भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा शुक्रबार हुने मतदानको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको प्रतिष्ठाको बिषय बनेको भरतपुरमा बाजी कसले मार्छ ? त्यो भने हेर्न बाकि नै छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...