गाडिएको शव खनेर चिहानबाटै चोरियो गहना

  • इलाम । 
इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो ।

नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो ।

उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिए ।

चिहान खनेर सुन चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको र यो अत्यन्त घृणित कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ ।

लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि शवसँगै उसले लगाएका गरगहना र प्रयोग गरेका सामग्री चिहानमा पुर्ने प्रचलन छ ।

२०७४ साउन २३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...