गच्छदारका सहअध्यक्षसहित ६ हजार ५ सय नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  • सर्लाही ।
विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी लोकतान्त्रिक फोरमका केन्द्रीय सहअध्यक्ष रामेश्वर राय यादवसहितका ६५ सय नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

बुधबार सर्लाहीको चक्रघट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता रायसहित विभिन्न पार्टीका दर्जनौं केन्द्रीय सदस्य, सयौं जिल्ला स्तरीय नेतासहित ६५ सय नेता कार्यकर्ता पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । 

कार्यक्रममा नेता रायको नेतृत्वमा फोरम लोकतान्त्रिकका करिब २५ सय, लोकतान्त्रिककै नेता सत्यनारायण यादवको नेतृत्वमा ५ सय ५१ जना, सद्भावना पार्टीका केन्द्रीय सदस्य जीतनारायण साहको नेतृत्वमा १२ सय, एमाले नेता बिगु यादवको नेतृत्वमा ४सय २२ जना, राप्रपा नेता राजीवकुमार कुशवाहाको नेतृत्वमा २ सय २५ जना, संघीय समाजवादी फोरमका नेता राम असेर महतोको नेतृत्वमा ८६, कांग्रेस नेता रामपुकार रायको नेतृत्वमा २सय, एमालेका पूर्व गाविस अध्यक्ष राजकिशोर राउतको नेतृत्वमा ४ सय ५५ जना, माओवादी कम्युनिष्ट केन्द्रका नेता मुस्तकिम अन्सारीको नेतृत्वमा १५ जना, राजपाका केन्द्रीय सदस्य काँसी प्रतिहस्तको नेतृत्वमा २२५ जना, मधेशी फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष बीरेन्द्र चौधरीको नेतृत्वमा ४ सय ८५ जना, संघीय समाजवादी फोरमका नेता रामबिलास यादवको नेतृत्वमा २ सय २० जना भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादी केन्द्रमा प्रवेश गरेका लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर राय यादवले पहाड र मधेशलाई समान ठान्ने र बराबरीको व्यवहार गर्ने नेता प्रचण्ड मात्रै भएको भन्दै प्रचण्डको प्रशंशा गरे । उनले मधेशवादी दल राजनीतिका नाममा सडकमा थापिएका पसल भएको दाबी गरे । 

सैयौं नेता कार्यकर्तालाइ पार्टी प्रवेश गराउँदै माओवादी अध्यक्ष प्रचण्डले हिमाल, पहाड र तराई—मधेशका गरीब र उत्पीडितहरुलाई एक हुन अपिल गरे । बिहान ८ बजेबाट सुरु भएको पार्टी प्रवेश कार्यक्रम बेलुका ६ बजेसम्म चलेको थियो । कार्यक्रममा माओवादी नेताहरु मातृका यादव, रामचन्द्र झा, विश्वनाथ साह, सहरी विकास मन्त्री प्रभू साह लगायतले सम्बोधन गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...