सुष्माले सबैका अगाडी तारिफ गरेपछि देउवा र प्रचण्ड मख्ख...

  • काठमाडौं । 
भारतीय विदेशमन्त्री सुष्मा राजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । 

भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै भनिन् – देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो । प्रचण्डजीले विभिन्न बाधा अवरोधबीच पहिले गरेको वाचाअनुसार सत्ता छाड्नु भयो ।’

स्वराजले उत्साहित हुँदै थपिन् – त्यसकारण अब अहिले देउवाजी सत्तामा हुनुहुन्छ । उहाँहरुबीच लोकतान्त्रिक पद्धतिमा भएको सहकार्यको म प्रशंसा गर्छु । यो नेपालका लागि एकखाले अध्याय हो ।’

यसो भनिरहँदा देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुस्कुराइरहेका थिए । स्वराजले भारतले नेपालको शान्ति, विकास र स्थिरता चाहेको बताइन् । ‘मोदीले सबका साथ सबका विकास भनेर भारतमा मात्र होइन छिमेकमा पनि त्यही कुरा लागू होस् भन्ने चाहनुभएको हो', उनले भनिन् ।

नेपालले ब्यालेटबाट नभई बुलेटबाट शान्ति प्रक्रिया अघि बढाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा प्रशंशा गरेको स्मरण गरिन् । स्वराजले अंग्रेजले छाडेपछि भारतलाई अनपढ र गरिब मुलुकका रुपमा ब्रिटिसले लिएपनि हाल भारत आर्थिक र राजनीतिक हिसाबले सबल रहेको बताइन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले भारतसँग नेपालको सम्बन्ध बिशेष खालको रहेको बताए । उनले भने, ‘हाम्रो यो विशेष सम्बन्ध गहिरिँदै गएको छ ।' उनले सबै पक्षको सहभागितामा संविधान कार्यान्वयन अघि बढाउन प्रतिबद्ध रहेको सन्देश स्वराजलाई दिए । नेपाल भारत सम्बन्ध बढाउन आफू यही महिना भारत जान लागेको उनले बताए ।

भारतीय राजदूत निवास परिसरमा आयोजित कार्यक्रममा देउवा, स्वराज, भारतीय राजदूतसंगै मञ्चमा थिए । तर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने सहभागिको अघिल्तिर राखिएको थियो । अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द दर्शक सहभागिको अन्तिम लहरमा थिए ।

ओलीसित भेट भएन 

प्रमुख प्रतिपक्षि दल एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग ओलीको भेट पनि भएन ।

एमाले नेता अग्नी खरेलले अध्यक्ष ओलीको शुक्रबार मुस्ताङ जाने पूवर्निर्धारित कार्यक्रम रहेकाले दूतावासको कार्यक्रममा नगएको बताए । ‘भारतीय परराष्ट्रमन्त्रीको औपचारिक कार्यक्रम र अन्य साना दलसँगको भेटघाटले गर्दा समय नपुगेर होला प्रमुख प्रतिपक्षी दलका नेतासंग उहाँको भेट हुनसकेन । आज भने अध्यक्ष ओली पहिले नै तय गरिसकेको कार्यक्रममा जानुपर्ने भएकाले काठमाडौमा रहनुभएन' खरेलले भने । 

स्रोतका अनुशार भारतीय दूतावासले ओलीसँग भेटका लागि पहल नगरेकाले ओली-स्वराज भेट नभएको हो । ‘ओली शुक्रबार बिहान मुस्ताङ् जानु अघिसम्म दूतावासले भेटको प्रयास गरेको भए भेट हुने संभावना थियो' ओली निकट एक एमाले नेताले भने । अन्नपूर्ण पोस्टमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...