आयल निगमले आवश्यक हवाई इन्धन आयात गर्न सकेन


काठमाडौँ । 

भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । 

नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई इन्धन मौज्दात रहेको छ । 

निगमका अनुसार विराटनगरमा २२० किलोलिटर, भद्रपुरमा ३७, काठमाडौँमा एक हजार २३९, मन्थलीमा २७, पोखरामा ५५, भैरहवा ३५, नेपालगन्ज ६८, सुर्खेत ५३, धनगढी ४० किलोटिर हवाई इन्धन मौज्दात छ । 

निगमका प्रबन्ध निर्देशक प्रेमप्रसाद आचार्यले आयातमा भएको समस्याका कारण अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई इन्धन दिन नसक्ने अवस्थामा निगम पुगेको जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज भएको छलफलका क्रममा उहाँले भारतीय भन्सारमा जाँच पड्ताल गर्न लामो समय लाग्ने तथा विद्युतीय प्रणालीमा नै सबै जानकारी नआई प्रवेश नदिनेजस्ता समस्या आएका कारण इन्धन आयातमा कठिनाइ भएको बताए । 

रक्सौल भन्सार बिन्दुमा मात्रै दैनिकजसो १५ किलोमिटरभन्दा लामो जाम हुने गरेका कारण पनि आयात प्रभावित भएको छ । बर्षात्का कारण आयात केही घटेको र मौज्दातमा रहेको इन्धन वितरण गर्दागर्दै भण्डारणसमेत खाली हुन पुगेको उनको भनाइ छ । 

गत साउनको अन्तिम साता आएको बाढी, पहिरोका कारण रेलको लिकलगायतका संरचना बगाउँदा आएको समस्या समाधान भएपछि भन्सार बिन्दुमा थप जटिलता उत्पन्न भएको निगमको भनाइ छ । 

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई दैनिक ६ लाख लिटर हवाई इन्धन आपूर्ति गर्दै आएको छ । यस्तै आन्तरिक उडानतर्फ ६० हजार लिटर मात्रै खपत हुने गरेको छ । 

निगमले केही दिन पहिले वायु सेवा प्रदायकलाई बोलाएर उत्पन्न परिस्थितिको बारेमा समेत जानकारी गराएको थियो । तर वायु सेवा प्रदायकले चाडबाडको समयमा बढी आवतजावत हुने र विदेशबाट नेपाल आउनेको संख्या समेत उल्लेख्य भएकाले इन्धन भरेर आउने अवस्था नभएको जनाएको थियो ।

२०७४ असोज ८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...