देउवाको रणनीतिक सल्लाहकारमा जोशी ! यस्तो छ काँग्रेसभित्रको हानथाप

  • काठमाडौं । 
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवाको रणनीतिक सल्लाहकारका रुपमा यतिबेला गोविन्दराज जोशीको भूमिका बढेको छ । २०४८ सालदेखि २०६० सालसम्म उनी कोइराला परिवारको रणनीतिक सल्लाहकार थिए । 

पार्टीभित्र कसलाई उपसभापति, महामन्त्री बनाउने ? कसलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने ? भन्ने रणनीति जोशीले नै तय गर्थे । यसैगरी मन्त्रीहरु कसकसलाई बनाउने ? भन्ने रणनीति पनि जोशीले नै तय गर्थे । तर, २०६० सालमा भ्रष्टाचारको आरोप लागेपछि जोशी ओझेलमा परे । 

त्यसपछि कोइराला परिवारभित्र जोशीको ठाउँ कृष्णप्रसाद सिटौलाले लिन थाले । गत महाधिबेशनमा कोइराला परिवारले रामचन्द्र पौडेललाई अघि सारेपछि जोशी औपचारिक रुपमै देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । तर, चुनाव जित्न नसकेपछि उनी देउवासँग पनि सन्तुष्ट भएनन् । केही समयअघि केवि गुरुङ, तारानाथ रानाभाट, ओमकार श्रेष्ठ लगायतका नेताहरुलाई समेटेर छुट्टै पार्टी गठनको अभियानमा पनि जोशी लागेका थिए । तर, सुरुमै एक्स्पोज भएपछि यो अभियान सफल हुन सकेन ।

गिरिजाप्रसाद र सुशील कोइरालाका धेरैजसो सहयोगीहरुको यतिबेला देउवा पक्षमा प्रभाव बढेको छ । यसमध्ये माथिल्ला स्तरका सहयोगी जोशी नै हुन् । तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारी मात्रै होइन रामचन्द्र पौडेल निकटस्थ तनहुँका पत्रकार कृष्ण केसी पनि यतिबेला देउवाको सहयोगीका रुपमा सक्रिय छन् । गत महाधिबेशनमा साथ दिएको विराटनगरको पुरन्जन आचार्यले भने कार्यशैलीप्रति असहमति जनाउँदै देउवा क्याम्प छाडेका छन् ।

माओवादीको समेत विश्वास जित्न सफल भएका बसन्तप्रसाद उपाध्याय र सुरेश आचार्यले यतिबेला देउवा क्याम्पभित्र भूमिका पाएका छन् । उनीहरु दुवै विगतमा भूमिकाविहीन बनाइएका कांग्रेस निकट सक्रिय पत्रकार हुन् । समाचार स्रोतका अनुसार आगामी आमनिर्वाचनपछि पार्टीको संसदीय दलको नेता चुनिन आफूलाई कुनै अवरोध नपुग्ने गरी उमेदवार चयन गर्नुपर्ने वाध्यता भएकाले देउवाले गोविन्दराज जोशीलाई रणनीतिक सल्लाहकार बनाएका हुन् ।

उनीहरुको भेटघाटको चाँजोपाँजो भने अत्यन्त गोप्य रुपमा मिलाइएको छ । आगामी आमनिर्वाचनपछि संसदीय दलको नेता पदमा फेरि पनि पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्छ र त्यो प्रतिस्पर्धा त्यति सहज हुने छैन् भन्ने कुरा देउवाले राम्रोसँग बुझेका छन् । 

सिटौला, खुमबहादुर खड्का र विमलेन्द्र निधिले कुनै पनि बेला धोका दिन सक्छन् भन्ने आशंका देउवालाई छ । मन्त्री तथा केन्द्रीय सदस्य बनाइदिने आश्वासन दिइएका तर बन्न नपाएकाहरुले पनि आफूलाई कुनै पनि बेला धोका दिन सक्छन् भन्ने देउवाले बुझेका छन् । 

कृष्णप्रसाद भट्टराई पार्टी सभापति हुँदादेखि नै कोइराला परिवारको कोपभाजनमा परेका तर अहिलेसम्म कुनै अवसर नपाएका पुराना कार्यकर्ताहरुले पनि आफूलाई साथ दिने सुनिश्चित नरहेको देउवाले बुझेका छन् । यसर्थ पौडेलको पक्षमा कुनै पनि हालतमा जान नसक्ने उमेदवारहरुको सूचि तयार गर्नका लागि रणनीति बनाउन जोशी नै उपयुक्त हुने देउवाले ठानेका हुन् । 

पौडेल पक्षलाई ३० प्रतिशत भन्दा बढी उमेदवार नदिने र त्यो ३० प्रतिशत पनि चुनाव हार्ने ठाउँमा मात्रै दिने रणनीति देउवाको छ । तर यो रणनीति सजिलो भने छैन । विगतमा कोइरालाहरुका लागि रणनीति बनाउँदा जोशीले कृष्णप्रसाद भट्टराई पक्षकालाई हार्ने ठाउँमा मात्रै टिकट दिएर ठेगान लगाउने गरेका थिए ।

जोशीको भ्रष्टाचार मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । तर, प्रधान न्यायधीश गोपाल पराजुली मात्रै होइन उनीपछि प्रधान न्यायधीश हुने दुई जना समेत आफ्ना अत्यन्त विश्वासपात्र रहेका कारण जोशी ढुक्क छन् । 

आफ्नो पक्षमा फैसला आउने कुरामा ढुक्क हुँदै जोशीले तनहु १ बाट प्रतिनिधिसभाको निर्वाचनमा उमेदवार हुने तयारी गरेका छन् । तर, त्यो क्षेत्र रामचन्द्र पौडेलको पनि हो । पौडेललाई माओवादीसँग तालमेल गरी चितवन २ बाट चुनाव जिताउने ग्यारेन्टी आफूले लिएर जोशीलाई तनहु १ बाट चुनाव लडाउने तयारी देउवाको छ । देउवाको यो प्रस्ताव नमान्नुको विकल्प पौडेलसँग छैन । जोशीले अन्तर्घात गरिदिए भने तनहुँ १ बाट चुनाव जित्न पौडेललाई सजिलो छैन् ।

यता श्रीमती आरजु देउवालाई मन्त्री बनाउने देउवाको योजना जारी छ । प्रचण्ड प्रधानमन्त्री हुँदादेखि नै आरजु मन्त्री बन्ने पाइप लाइनमा थिइन तर देउवाले हिम्मत गर्न सकिरहेका छैनन् । परिवारवादको आरोप लागी आफै सिद्धिइने पो हो कि ? भन्ने डरका कारण देउवाले हिम्मत नगरेका हुन् । जसका कारण आरजु धेरै नै तनावमा रहेको समाचार स्रोतले जनाएको छ । 

दुई कार्यकाल समानुपातिक सांसद भइसकेकी आरजु मन्त्री बनेरै बर्दियाबाट आगामी संसदीय चुनाव लड्ने योजनामा छिन् । आमा प्रतिभा राणालाई राजदूत बनाएर उनले आफ्ना लागि वर्दिया खाली गरिसकेकी छिन् । चुनावका लागि खर्च जुटाउन उनी युरोप आवतजावत बाक्लै गरिरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्

Loading...