बँदेलको आक्रमणमा परी पाँचजना घाइते

  • कञ्चनपुर ।
जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो ।

नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का जानकी बोहरा र वर्ष ५८ का कल्याण बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । 

घाइत पाँचैजनाको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच, डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ । 

मंगलबार स्थानीयले इलाका वन कार्यालय, इलाका प्रहरी, इलाका प्रशासनलाई जानकारी गराएपछि जोगबुडाबाट गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र इलाका वन कार्यालय जोगबुढाबाट चितुवाको उद्धारमा खटिएको टोलीको सहयोगमा पासोमा फसेको चितुवालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए' । 

चितुवालाई मंगलबार नै गाडीमा तारजालीभित्र सावधानीका साथ राखी बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्नका लागि लगिएको इलाका वन कार्यालय, जोगबुडाका प्रमुख चिरिञ्जीवी थापामगरले बताए । 

२०७४ असोज ४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...