के हुँदै छ प्रदेश नं. २ को स्थानीय निर्वाचन ?

  • काठमाडौं । 
कांग्रेसले प्रदेश नं. २ मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवार अन्तिम चरणमा पुर्याएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेता विमलेन्द्र निधिले बिहीबार १३६ वटै तहका उम्मेदवारको मोटामोटी टुंगो लगाएका हुन् । 

शुक्रबार बिहान प्रदेश नम्बर २ का १४ केन्द्रीय सदस्यसँग छलफल गरेपछि सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाउनेछन् । प्रदेश नं. २ मा वीरगन्ज महानगरपालिका, जनकपुर, जितपुर–सिमरा र कलैया गरी तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

उम्मेदवार छान्न सकस

अाजको नयाँ पत्रिकामा खबर छ– कांग्रेसमा पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीको क्षेत्रीय समितिले पठाएको उम्मेदवारको सूचीलाई पार्टीका शीर्ष नेताले बसेर टुंग्याएका थिए । तर, प्रदेश नं. २ को निर्वाचनका लागि महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहित प्रदेश नं. २ का ११ केन्द्रीय सदस्य, आठ जिल्लाका कांग्रेस सभापति, सांसद, सांसदमा हारेका नेता, क्षेत्रीय सभापतिहरू उम्मेदवार टुंग्याउन छलफलमा केन्द्रित भएका थिए । बुधबार र बिहीबार लगातार दुई दिन महामन्त्री डा. कोइराला र नेता निधि मात्रै बसेर उम्मेदवारको टुंगो लगाएका हुन् ।

को कहाँका उम्मेदवार ? 

कांग्रेसले वीरगन्ज महानगरपालिकामा अजय द्विवेदी प्रमुख र शान्ति कार्र्की उपप्रमुख, जनकपुर उपमहानगरपालिकामा मनोजकुमार साह प्रमुखको उम्मेदवार, कलैया उपमहानगरपालिकामा राजेश राय यादव प्रमुख र रैमा खातुन उपप्रमुखको उम्मेदवार बनाएको छ ।

यस्तै, सिमरा–जितपुर उपमहानगरपालिका प्रमुखमा ओमकृष्ण कार्की, शोभाकर पराजुली, कृष्णसिंह व्रत, श्यामबाबु गुप्तामध्ये एकलाई उम्मेदवार बनाउने भएको छ । बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुखमा विजयशंकर यादव र उपप्रमुख रीताकुमारी कुसवाह, पचरौटा नगरपालिका प्रमुखमा किशोरीप्रसाद यादव, उपप्रमुख रञ्जु चौरसिया, महागढीमाई नगरपालिकामा उपेन्द्रप्रसाद यादव प्रमुख र उपप्रमुख तारादेवी कानुको उम्मेदवार टुंगो लागेको कांग्रेस जिल्ला सभापति जयचन्द्र चौरसियाले जानकारी दिए । बाराको निजगढ नगरपालिकामा पेमासिद्धि लामा र सुरेश खनालमध्ये एक उम्मेदवार बन्दै छन् ।

सप्तरीको राजविराज नगरपालिका शम्भु देव र ध्रु्रव देवमध्ये एकलाई प्रमुखको उम्मेदवार बनाइने भएको छ । सिरहा नगरपालिकामा डा. सुभाषचन्द्र यादव प्रमुख र उपप्रमुखमा श्यामादेवी गुप्ताको टुंगो लागेको छ । यादव कोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् । सिरहा लहान नगरपलिकामा अचमितलाल चौधरी र महेश चौधरीमध्ये एकजना उम्मेदवार बन्दै छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा प्रह्लाद क्षेत्री, गौशाला नगरपालिकामा मनुप्रसाद अधिकारी, जलेश्वर नगरपालिकामा अशोककुमार साहको नाम प्रमुखमा टुंगो लागेको छ । 

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रमोद बराल, बरथहवा नगरपालिकामा नवीन अधिकारी, मलगंवा नगरपालिका दिलीपराज भण्डारी वा रामप्रसाद मैनालीमध्ये एकलाई उम्मेदवार बनाउने तयारी कांग्रेसको छ । यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखमा धनलाल थोकर र उपप्रमुखमा जयमाला चौधरीको टुंगो लागेको छ ।

एमालेले टुंग्यायो ९८ प्रतिशत उम्मेदवार 

एमालेले प्रदेश नं. २ का ९८ प्रतिशत स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश संगठन कमिटीद्वारा गठित कार्यदलले २ असोजका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि ९८ प्रतिशत उम्मेदवार टुंगो लगाएको हो । 

प्रदेश संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलले सिमरा–जितपुर, कलैया उपमहानगरपालिका, जनकपुर महानगरपालिका र धनुषाका केही स्थानीय तहबाहेक आठवटै जिल्लाका उम्मेदवारको टुंगो लागिसकेको बताए । ‘उपमहानगरपालिका र महानगरपालिकाका उम्मेदवारहरूको नाम पनि स्थायी समितिमा सिफारिस गरिसकिएको छ, निर्णय हुनेबित्तिकै सबै स्थानीय तहको एकैपटक सार्वजनिक हुन्छ,’ उनले भने ।

को कहाँ उम्मेदवार ?

एमालेले वीरगन्ज महानगरपालिकाको मेयरमा बसरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई अघि सारेको छ । त्यस्तै, सिमरा–जितपुर उपमहानगरको मेयरमा डा. कृष्ण पौडेल, देवनारायण चौधरी, मनोज पौडेल र भरत थापाको नाम सिफारिस भएको छ । कलैया उपमहानगरको मेयरमा विनोद साह, ध्रुव यादव, सुरेश मुदकको नाम सिफारिस गरिएको छ । उनीहरूमध्ये अन्तिम टुंगो भने स्थायी समितिले लगाउनेछ ।

सिरहाको लहान नगरपालिकामा मुन्नीलाल साह, गोलबजारको मेयरमा श्याम श्रेष्ठ, सिरहा नगरपालिकामा डा. नवीन यादव, धनगढी नगरपालिकामा शिवशंकर महतो, सप्तरीको राजविराज नगरपालिकामा सुखराम यादवको नाममा टुंगो लागेको छ । रौतहटको गौर नगरपालिकामा शम्भु साह र गरुडामा महम्मद करिम उल्लालाई एमालेले मेयरको उम्मेदवार टुंगो लगाएको छ । 

सर्लाहीको लालबन्दी नगरपालिकामा मानबहादुर खड्का र शान्ति लामा, बागमती नगरपालिकामा विष्णु पुलामी र दिभा नेपाल, हरिऔन नगरपालिकामा गणेश प्रसाईं र रेनुका पौडेल, ईश्वरपुरा नगरपालिकामा मनोज देवकोटा, हरिपुर नगरपालिकामा जमुरुद्दिन मन्सुर र रेनुका काफ्ले, हरिपुर्वामा जयप्रकाश यादव, मलंगवा नगरपालिकामा देवेन्द्र यादव र प्रमिना खापुङ, बरहथवामा कल्पना कटुवाल र विष्णुकान्त महतो छन् ।

धनुषामा दुई गुटबीच विवाद 

धनुषामा वैकल्पिक पोलिटब्युरो सदस्य शत्रुघ्न महतो र केन्द्रीय सदस्य रघुवीर महासेठबीचको गुटबन्दीका कारण १८ तहमध्ये पाँचवटा तहको मात्रै उम्मेदवार टुंगो लागेको छ । अहिलेसम्म हंशपुर, सवैला नगरपालिका, बटेश्वर, लक्ष्मीनिया र औरही गाउँपालिकामा मात्र उम्मेदवारको नाममा सहमति जुटेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए । पार्टीको जिल्ला इन्चार्जलगायत कुनै परिभाषित जिम्मेवारीमा नरहेका महासेठले गाउँ, नगर र जिल्लाले सिफारिस गरेको र सर्वसम्मत छानेको उम्मेदवारलाई समेत अस्वीकार गर्दा धनुषामा उम्मेदवारहरू टुंगिन नसकेको महतो र साहको आरोप छ ।

माओवादी तालमेलको पर्खाइमा

माओवादी केन्द्रले अन्य दलसँग चुनावी तालमेलका कारण उम्मेदवार घोषणामा ढिलाइ गरेको छ । मनोनयन गर्न ६ दिन मात्र बाँकी छँदा माओवादी उम्मेदवार चयनमा छलफलकै क्रममा छ । माओवादीले प्रदेश नं. २ का १३६ तह एक्लै जित्न नसक्ने भएकाले तालमेलको पखाईमा बसेको इन्चार्ज मातृका यादवले बताए । ‘हामीले जित्न सक्ने १०७ तहमा उम्मेदवारको टुंगो लगाइसकेका छौँ,’ यादवले भने, ‘अरू करिब ३० तहका लागि तालमेल गर्नुपर्ने भएकाले उम्मेदवार घोषणामा ढिलाइ गरेका हौँ ।’

तालमेलका लागि छलफल गर्दै माओवादी 

माओवादीले प्रदेश नम्बर २ मा अन्य दलसँग चुनावी तालमेलका लागि छलफल भइरहेको जनाएको छ । ‘हामीले तालमेलका लागि दलहरूसँग निरन्तर छलफल गरिरहेका छौँ,’ यादवले भने, ‘सहमति भएमा ढिलोमा १७ भदौसम्म सबै तहका उम्मेदवारको घोषणा गरिसक्छौँ ।’ माओवादीले कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) सँग तालमेल गर्ने तयारी गरेको छ ।

राप्रपा प्रजातान्त्रिक जनता दलसँग तालमेल गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले प्रदेश नं. २ को निर्वाचनमा नेपाली जनता दलसँग तालमेल गर्ने भएको छ । राप्रपा (प्रजातान्त्रिक) जनता दलको चुनाव चिह्न ‘पांग्रा’ लिएर निर्वाचनमा जाने अध्यक्ष पशुपतिशमशेर राणाले जानकारी दिए । ‘राप्रपा प्रजातान्त्रिक भर्खरै निर्वाचन आयोगमा दर्ता भएकाले पार्टीको आधिकारिक चुनाव चिह्न पाउन अझै केही समय लाग्छ, त्यसैले स्थानीय तहको निर्वाचनमा नेपाली जनता दलको चुनाव चिह्न पांग्रालाई संयुक्त रूपमा प्रयोग गर्ने सम्झौता गरिएको छ,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चुनाव चिह्न पांग्रा बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा र सप्तरीमा प्रयोग गरिने भएको छ । त्यस्तै, महोत्तरी र सिरहामा स्वतन्त्र चुनाव चिह्न लिने र त्यसलाई दुवै दलले प्रयोग गर्ने सहमति बनेको राणाले बताए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भने पार्टीले हलो चुनाव चिह्नका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको विज्ञप्तिमा उल्लेख छ । राप्रपा प्रजातान्त्रिकले १७ भदौसम्म स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरिसक्ने बताएको छ । महामन्त्री सुनील थापाले १७ भदौसम्म उम्मेदवार तय गरिसक्ने गृहकार्यमा लागेको जानकारी दिए ।

राप्रपाले आज उम्मेदवार टुंग्याइसक्ने

राप्रपाले शुक्रबार (आज) सम्म पार्टीका उम्मेदवार टुंग्याइसक्ने बताएको छ । सहप्रवक्ता मोहन श्रेष्ठले अधिकांश स्थानमा उम्मेदवारका विषयमा सहमति जुटिसकेकाले शुक्रबार सार्वजनिक गरिसक्ने जानकारी दिए । राप्रपाले प्रदेश नं. २ का स्थानीय तहमा केन्द्रबाट कुनै दलसँग तालमेल नगर्ने भएको छ । ‘केन्द्रबाट कुनै दलसँग तेस्रो चरणको निर्वाचनमा तालमेल गर्ने पार्टीको योजना छैन,’ सहप्रवक्ता श्रेष्ठले भने, ‘स्थानीय आवश्यकताअनुसार स्थानीय समितिले पार्टी केन्द्रसँगको परामर्शमा तालमेल गर्नलाई छुट दिइएको छ ।’

छलफलमै लोकतान्त्रिक फोरम

लोकतान्त्रिक फोरमले प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहको निर्वाचनमा आइतबारसम्म उम्मेदवारको टुंगो लाग्ने बताएको छ । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री तथा पार्टी अध्यक्ष विजयकुमार गच्छदार उपत्यकाबाहिर गएकाले उम्मेदवार चयनमा केही ढिलाइ भएको सो पार्टीले जनाएको छ । फोरमले कुनै दलसँग चुनावी तालमेल गर्ने विषयमा अहिलेसम्म निर्णय लिइसकेको छैन । महामन्त्री रामजनम चौधरीले स्थानीयस्तरमा आवश्यकता परेमा तालमेल गर्न छुट दिए पनि केन्द्रीयस्तरमा अहिलेसम्म तालमेलको कुनै निर्णय नभएको जानकारी दिए ।

राजपामा तालमेलमा विवाद

राजपाले ढिलोमा आइतबारसम्म उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । राजपाले गठन गरेको उच्चस्तरीय उम्मेदवार छनोट समितिले उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा पाएको छ । जिल्लामा संकलन भएका आकांक्षीको नाम उक्त समितिले टुंगो लगाउने र समितिमा टुंगो लगाउन नसकेको नाम राजपाको केन्द्रले टुंगो लगाउनेछ ।

उम्मेदवारका आकांक्षीको संख्या बढी भएपछि राजपाले उम्मेदवार टुंगो लगाउन सकेको छैन । एउटै पदमा कम्तीमा ८–९ जनादेखि बढी ३० जनासम्मले आकांक्षा देखाएका छन् । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षको आकांक्षी ३० जना देखिएका छन् । जिल्लामा उनीहरूको नाम संकलन भइसकेको छ । ती नाममध्येबाट समितिले टुंगो लगाउनेछ । समितिले टुंगो नलागे केन्द्रले टुंगो लगाउने महामन्त्री केशव झाले जानकारी दिए ।

राजपाभित्र कुन दलस“ग कसरी तालमेल गर्ने भन्नेमा मतभेद देखिएको छ । राजपाभित्रका केही नेताहरू सत्तारुढ दलसँग तालेमल गर्नुपर्ने पक्षमा देखिएका छन् । तर, केही दल भने मधेसकेन्द्रित दलहरूसँग मात्रै तालमेल गर्नुपर्ने धारणा राखिरहेका छन् । स्थानीयस्तरमा तालमेलप्रति खासै उत्साह नभएको महामन्त्री मनीष सुमनको भनाइ छ । ‘मतदाता शिक्षाको कमी तथा मतपत्रको जटिलताले तालमेलको प्रभाव हुने देखिन्न त्यसकारणले उत्साह छैन,’ सुमनले नयाँ पत्रिकासँग भने ।

सुमनका अनुसार तालमेलमा पहिलो प्राथमिकता मधेश केन्द्रीत दल हुनेछन् । त्यसमा संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम पहिलो रोजाइमा छन् । तर, कांग्रेस र माओवादी केन्द्रसँग पनि तालमेल हुने संक्नेछ । मधेशको राजनीतिमा पार्टीभन्दा व्यक्ति बलियो बन्ने गरेका कारणले पनि तालमेलमा खास फरक नपर्ने सुमनको टिप्पणी छ ।

फोरमभित्र पनि विवाद 

संघीय समाजवादी फोरमले १३६ स्थानीय तहमध्ये वीरगञ्ज महानगरपालिका, जनकुपर नगरपालिका,लहान नगरपालिकासहित महत्वपुर्ण ६४ स्थानीय तहको उम्मेदवार टुंगो लगाए पनि अन्य स्थानीय तहमा भने उम्मेदवार टुंगो लगाउन सकेको छैन । फोरमले सर्लाही जिल्ला भने एउटा स्थानीय तहा पनि उम्मेदवार टु्रगो लगाएको छैन ।

२०७४ भदौ १६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...