अमेरिका उत्तर कोरियासँग युद्ध लड्न तयार रहेको ट्रम्पको घोषणा

  • वासिंटन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग युद्धका लागि अमेरिका पूर्ण रुपमा तयार रहेको बताएका छन् । 

उनले उत्तर कोरियासँग अमेरिकाले युद्ध सुरु गरेको अवस्थामा निकै विनाशक हुने दाबीसमेत गरे । ‘उत्तर कोरियाका लागि त्यो अवस्था अत्यन्त विनाशक हुनेछ,’ उनले भने ।

पत्रकारहरुसँग मंगलबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले गरेका टिप्पणी अत्यन्त खराब रहेको बताए । उनले भने, ‘२५ वर्ष अघि नै उत्तर कोरियाको परमाणु कार्यक्रमसम्बन्धी महत्वाकांक्षा रोक्नु पर्दथ्यो ।’

यसअघि उत्तर कोरियाले आफ्नो वायुसीमा क्षेत्र बाहिर भए पनि अमेरिकी लडाकु विमानलाई खसाल्ने चेतावनी दिएको थियो । अमेरिकाले युद्धको उदघोष गरेको उत्तर कोरियाको आरोप थियो ।

उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आफ्नो मुलुकविरुद्ध युद्ध छेडेको आरोप लगाएका थिए । उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको पनि जिकिर गरे ।

अमेरिकाले भने अन्तर्राष्ट्रिय प्रतिबन्धलाई लत्याएर उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रममा अघि बढिरहेको भन्दै यसबाट उसले युद्धलाई निम्त्याएको प्रष्ट हुँदै गएको जिकिर गरेको थियो । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

Loading...