अब चलाउन पाउने भए साउदी अरेबियाका महिलाले पनि गाडी

  • काठमाडौं ।
साउदी अरेबियाका महिलाले पनि गाडी चलाउन पाउने भएका छन् । महिलालाई गाडी चलाउन अनुमति नभएको विश्वको एक मात्र मुलुक साउदी अरेबियाका राजा सलमानले महिलालाई गाडि चलाउन दिने आदेश जारी गरेका छन् ।

महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ । साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन् ।

साउदीका महिला तथा अधिकारकर्मीहरुले महिलालाई गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै आएका थिए । अहिलेको कानुनअनुसार त्यहाँ पुरुषले मात्रै सवारी चालक अनुमतिपत्र पाउने गर्दछन् ।

गाडी चलाउन नपाउने सरकारी नीतिको अवज्ञा गरेको आरोपमा केही महिलाले जरिवाना तिर्नुका साथै जेलसमेत जानुपरेको थियो । राजाको आदेशपछि साउदीका महिला निकै उत्साहित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...