'कोरियाली समस्या खतरापूर्ण छ, यसअघि यस्तो कहिलै भएको थिएन'

  • सोल।
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछिको अवस्था अत्यन्तै खतरापूर्ण रहेकोले यसको समाधानमा सुझबुझ अपनाउन आग्रह गरेका छन्।

उनले भने– परिस्थिति पहिलेको जस्तो छैन, अहिलेको झनभन्दा झन खतरा बढ्दैछ, यसको समाधानमा संयमता अपनाउनु जरुरी छ ।

उनले कुनै पनि आकस्मिक द्वन्द्व वा झडपको अवस्था नआओस र शान्तिपूर्ण रुपले यो समस्याको समाधान होस् भनेर यसका सरोकारवालाहरुले सोच्नुपर्नेमा पनि उनले जोड दिए ।

दक्षिण कोरियाको एक निजी क्षेत्रको व्यापारिक संस्था फेडरेशन अफ कोरियन इन्डस्ट्रिजले मंगलबार राजधानी सोलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राखेका छन् ।

उनले भने– सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दुई कोरियाका बीचका कैयौँ उतार चढावहरु आएका छन्, कतिपयले त्यसलाई खतराको रुपमा पनि लिए तर सबैभन्दा ठूलो खतरा भने यतिबेला आएको छ ।

उनले यस्तो अवस्था यसअघि कहिल्यै नआएको र यतिबेला युद्धकै अवस्था देखिएको भन्दै यसलाई द्वन्द्वमा नभएर शान्तिमा र शान्तिपूर्ण समस्या समाधानमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए ।

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो ।

यसलाई बान कि मुनले अत्यन्तै खतराको संकेत भनेका हुन् । यसरी हाइड्रोजन बमको परीक्षण गर्ने कामलाई सामान्य रुपले लिनु हुँदैन र यसको समाधान हतियार नै हो भनेर खोजिनु पनि हुँदैन– उनको भनाई थियो ।

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएकोले यसबाट आगामी दिनमा खतरा झन नथपियोस् भनेर प्रार्थना गर्नुपर्ने उनको भनाइ छ ।

उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बमभन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।

उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित भएपछि संसारमा निकै ठूलो त्रास फैलिएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...