बाख्रापालन गरेर मालामाल आम्दानी, विद्याचन्द्र गाउँकै ‘आदर्श व्यक्ति’

  • उपेन्द्र खनाल, तनहुँ।
चार वर्ष अघिसम्म भैंसीपालेरै परिवारको गुजारा चलाउँदै आएका तनहुँको व्यास नगरपालिका–८ बाङ्गेटारीका विद्याचन्द्र अधिकारीको दैनिक अहिले परिवर्तन भएको छ ।

२०६९ सालमा हेफर इन्टरनेसनलले बाख्राका १० वटा पाठी र एउटा ब्याडे बोको दिएपछि बाख्रापालन फार्मको स्थापना गरी अधिकारी व्यावसायीक वाख्रापालनमा लागेका हुन् । उनले बाख्रापालनबाटै राम्रो आम्दानी गरिरहेका छन् ।

तनहुँको ब्यास नगरपालिका–८ बाङ्गेटारीका विद्याचन्द्र अधिकारीको बाख्रापालन फार्ममा अहिले अस्ट्रेलियन विटल क्रस जातका वाख्राका पाठापाठी एवम् खरी जातका बाख्राका माऊ रहेका छन् ।

हेफर इन्टरनेसनलले २०६९ सालमा दिएका १० वटा पाठीलाई हुर्काएर अधिकारीले सोही वर्ष ६० हजार आम्दानी गरेको बताए । उक्त आम्दानीले व्यावसायीक वाख्रापालनमा आफूलाई झनै उर्जा मिलेको अधिकारीको भनाई छ ।

अधिकारीले वर्षैपिच्छे वाख्रा पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । ४ वर्षमा आईपुग्दा अधिकारीले वार्षिक खर्च कटाएर ३ लाख आम्दानी भएको बताए ।

अधिकारीको फार्ममा हाल वोयर विटल क्रसका १५ वटा माउ वाख्रा छन् । उनको फार्ममा साना–ठूला गरी ५७ वटा वाख्रा छन् ।

अधिकारीले बाख्रा चराउन लैजान सिठीको प्रयोग गरेका छन् । बाख्रालाई तालिम दिएर सिठीको संकेतको प्रयोगसहित चराउने लैजाने गरेको उनले बताए ।

बाख्रा पालनमा राम्रो उन्नति गरेको भन्दै अधिकारीलाई हेफर इन्टरनेसनलले पश्चिमाञ्चलमै उत्कृष्ट बाख्रापालक कृषक घोषणासहित १ लाख रुपयाँ पुरस्कार दिएको छ ।

जिल्ला पशु सेवा कार्यालय तनहुँले खोर र गोठ सुधारबाट ५० हजार र ब्याडे बोकाका लागि १० हजार गरी ६० हजार सहयोग गरेको छ ।अधिकारीले आफूले मात्र बाख्रा पालन नगरी अन्य युवालाई समेत यसतर्फ आकर्षित गर्ने गरेका छन् ।

सहुलियत दरमा पाठापाठी उपलब्ध गराउँदै बाख्रापालनमा युवाको आकर्षित गराउने उनी जिल्लाकै उत्कृष्ट किसान बन्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...