म्यादी प्रहरी भर्ना: माग संख्याभन्दा तीन गुणा बढी आवेदन

  • काठमाडौं ।

म्यादी प्रहरीका लागि माग संख्याभन्दा तीन गुणा बढी आवेदन परेको छ । ९८ हजार माग भएकोमा लागि २ लाख ९५ हजार बढीको आवेदन परेको हो । जसमध्ये स्थानीय तह निर्वाचनमा भर्ना भएकामध्ये ४५ हजार बढीले पनि पुनः आवेदन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले २४ असोजमा एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको थियो । प्रधान कार्यालयले सबै जिल्लामा भर्ना लिन सक्नेगरी भर्ना आह्वान गरेको थियो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेका अनुसार म्यादी प्रहरीको छनोट कार्य भने भाइटीकाको भोलिपल्टबाट सुरु हुनेछ ।

‘हामीले सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने व्यवस्था गरेका थियौं, जसमा उत्साहजनक सहभागिता मात्रै भएन, आवेदन पनि धेरै नै परेको छ, तिहारपछि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले छनोट कार्य सुरु गर्नेछ,’ प्रहरी प्रवक्ता न्यौपानेले भने ।

प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्ने, कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको हुनुपर्नेजस्ता मापदण्ड तोकेको थियो ।

त्यसैगरी नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त हुनुपर्ने उल्लेख गरेको थियो । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै योग्य मानिने उल्लेख थियो ।

म्यादी प्रहरीको छनोट ५ कात्तिकदेखि ८ कात्तिकसम्म सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ । म्यादी प्रहरीले नेपाल प्रहरीको जवानसरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।

मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउँदा पनि करिब १ लाख सुरक्षाकर्मी अपुग हुने निष्कर्ष निकाल्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेपछि औपचारिक रूपमा भर्ना खुलाइएको थियो । राजधानीमा खबर छ ।

२०७४ कार्तिक १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...