राष्ट्रपति–प्रधानमन्त्रीबीच कडा टकरावको संकेत

  • काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन ।

उनले यसबारे शनिबार निर्वाचन आयोग र कानुनविदहरुसँग परामर्श गर्ने तयारी गरेकी छन् । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले पनि मन्त्रिपरिषद् विस्तारप्रति आपत्ति जनाएका छन् ।

‘निर्वाचन आचारसंहिताविपरीत मन्त्रिपरिषद विस्तार गर्नु आपत्तिजनक छ,’ उनले भने,‘बैठक बसेर आयोगले त्यसबारे धारणा सार्वजनिक गर्छ।’


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेको पत्र शुक्रबार नै राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता गरेको छैन । राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुको शपथग्रहणको समय पनि दिएकी छैनन् ।

यसकारण बढ्दै छ दूरी

– सरकारले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ । तर, दर्ता भएको छैन । राष्ट्रपतिले मन्त्रीहरूलाई शपथ गराउने समय पनि दिएकी छैनन् ।

– प्रधानमन्त्री देउवाले शुक्रबार नै राष्ट्रपति भण्डारीलाई भेटेर नवनियुक्त मन्त्रीहरूको शपथ गराउन आग्रह गरेका छन् । स्रोतका अनुसार राष्ट्रपतिले प्रस्ट जवाफ प्रधानमन्त्रीलाई दिएकी छैनन् । कानुनविद्हरूको समेत राय लिएर निर्णयमा पुग्ने उनको तयारी छ ।


– राष्ट्रपति भण्डारीले शनिबार निर्वाचन आयोगसँग पनि धारणा माग्ने तयारी गरेकी छिन् । यसअघि २ असोजमा मन्त्रिपरिषद् विस्तार गर्दा पनि आपत्ति जनाएको आयोगले अनुमति नदिने स्पष्ट पारेको छ ।
नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले खबर लेखेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...