हलिउडका चलचित्र निर्माता वाइनस्टिन यौन दुव्र्यवहारको आरोपमा निस्कासित

  • काठमाडौं । 
ओस्कार कमिटीले यौन दुव्र्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई निस्कासन गरेको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएपछि उनी निस्कासित भएका हुन् ।

कमिटीले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटीमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् ।

वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् ।

ओस्कारको पछि रहेको बोर्डको आपतकालीन बैठक बसेर वाइनस्टिनलाई निकाला गर्ने प्रस्ताव पारित गरेको हो।

वाइनस्टिनमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ जनाभन्दा बढी अभिनेत्रीले यौन दुराचारको आरोप लगाएका छन् ।

अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिउड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ ।

६५ वर्षका वाइनस्टिनले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । वाइनस्टिनलाई बेलायतको बाफ्टाले यसअघि नै निलम्बित गरिसकेको छ । (एजेन्सी)

, ,

प्रतिकृया दिनुहोस्

Loading...