राम्चेबाट मात्रै १ करोड २५ लाखको आलु निर्यात

म्याग्दी, २६ साउन । 

गत आवमा राम्चे गाविसबाट रु एक करोड २५ लाख बराबरको आलु निर्यात भएको छ । 

अनुकूल वातावरण, सहज बजार मूल्य, अनुदान, हित कोषसहितका कार्यक्रमबाट आकर्षित भएका राम्चेवासीले अन्य खेतीबालीलाई समेत छोडेर आलुखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । 

आलुखेतीको पकेटक्षेत्र मानिने राम्चेको नागीबाट २१५ मेट्रिक टनसहित जिल्लाभरबाट करिब ३२० मेट्रिक टनको हाराहारीमा आलु निर्यात भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । गाउँमै प्रतिकिलो रु ४० को दरले आलु बिक्री गरिएको थियो । बर्सेनि व्यापारी आलु किन्न गाउँमै आउने गरेका छन् । 

इन्द्रणी आलु उत्पादक महिला किसान समूहकी अध्यक्ष जसमाया पुर्जा आलुका कारण महिला आर्थिक रुपमा आत्मनिर्भर भएका बताउनुहुन्छ । उहाँ आफैँले वार्षिक चार मेट्रिक टनसम्म आलु उत्पादन गर्दै आउनुभएको छ । विगतमा घरायसी प्रयोजनका लागि आलुखेती गर्नेले पछिल्लो समय बजारमा माग बढ्न थालेपछि व्यावसायिक रुपमा खेती गर्न थालेका छन् । 

गाउँमा उत्पादन भएको आलु सदरमुकाम बेनीसहित बागलुङ, पर्वत र पोखरामा निर्यात हुन्छ । यस वर्ष जिल्लामा रु ४५ करोड बराबरको आलु उत्पादन भएकोे कृषि कार्यालयकी योजना अधिकृत ज्योति क्षत्रीले बताउनुभयो । एक हजार ६१५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुबाट १८ हजार सातसय ७६ मेट्रिक आलु उत्पादन थियो । 

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...