बजेट हिनामिनाविरुद्ध आवाज उठाउँदा महिलामाथि आक्रमण
रौतहट २१ साउन ।
महिला, वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिलगायतका नाममा आएको बजेट हिनामिनाविरुद्ध आवाज उठाउँदा रौतहट समनपुरकी रामसखीदेवी साहमाथि गाउँ विकास समितिका कर्मचारीले मरणासन्न हुने गरी कुटेका छन् । उनलाई गाविस सहायक सचिव नागेन्द्र यादव र लेखापाल सहायक कामेश्वर सहनीले कुटपिट गरेका छन् ।
कुटपिटबाट गम्भीर घाइते भएकी साहको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । उनको नाक र टाउकोमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार उनको थप जाँचका लागि एमआरआई गर्नुपर्छ । कुटपिटमा घाइते भएका अन्य १० जनाको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको छ ।
गाउँकै सशक्तीकरण महिला समूहकी अध्यक्षसमेत रहेकी साहलगायतका अन्य धेरै महिला र गाउँका सर्वसाधारण उपस्थित भेलामा महिलाका नाममा विनियोजित बजेट कहाँ गयो भन्ने विषयमा छलफल गर्दा गाविसका कर्मचारीद्वयलगायत बाबुलाल सहनी, रवीन्द्र सहनी, विजय सहनी, वीरेन्द्र सहनी, रुदल सहनी र उनीहरूको समूहले आक्रमण गरी आफ्नी आमालाई निर्घात कुटपिट गरेका उनका कान्छा छोरा अशोककुमार साहले बताए । उक्त भेला साउन १८ गते गाउँको शंकर गुदर उमाविको प्रांगणमा भएको थियो ।
गाउँमा उपचार सम्भव नभएपछि उनलाई राजधानी ल्याइएको हो । गाउँमा महिलाका नाममा आएका रकम महिलालाई नै उपलब्ध गराउनुपर्छ भनेर महिला समूहलाई साथ दिँदा आफूलाई पनि बारम्बार धम्की दिँदै ‘तिमीले के गर्न सक्छौ, तिम्रो के औकात छ’ भन्दै सहायक सचिव र सहायक लेखापालले दुव्र्यवहार गरेको अशोकले बताए ।
गाविसका कर्मचारीले वर्षौंअघि मृत्यु भइसकेका व्यक्तिका नाममा पनि भत्ता निकालेर मिलेमतोमा लिने गरेको उनको आरोप छ ।
महिला शिक्षाका लागि आवश्यक २० हजार रुपैयाँ आफ्नो समूहले बारम्बार माग्दा पनि गाविसबाट नदिइएको र उल्टै आफूहरूले गाउँमा गरेको कार्यक्रममा आक्रमण गरी कुटपिट गरिएको भेलामा सहभागी पुनकलीदेवी सहनीले बताइन् ।
शंकर गुदर उमाविका शिक्षक भागनारायण तिवारीले पनि यी व्यक्तिहरूले गाउँमा धेरै अभद्र व्यवहार गरेकाले बस्नै गाह्रो भएको बताए ।
शंकर गुदर उमाविका शिक्षक भागनारायण तिवारीले पनि यी व्यक्तिहरूले गाउँमा धेरै अभद्र व्यवहार गरेकाले बस्नै गाह्रो भएको बताए ।
आरोपित नागेन्द्र यादव र कामेश्वर सहनीलाई सम्पर्क गर्न खोज्दा उनीहरूको मोबाइल स्विच अफ गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...