नाम मात्रैका श्रीमान
- गीता थापा -
मेरो घरछेउमा एक टुक्रो घडेरी किनी उसले । मैले आँगनमा उभिएर जिस्काएँ "सेल रोटी कहिले खुवाउने बहिनी ? "
सेता दाँत देखाएर खिस्स हाँस्दै जवाफ फर्काइ "पहिला घर त ठड्याउन पाऊँ ।" त्यो भन्दा केहीं बोलिन । म पनि चुपचाप हेरी मात्रै रहें । जग्गा नाप जोख गरेर चार सुरमा काठका किल्ला ठोकेर बाटो लागी ऊ ।
छ महिना पछि घरको जग खन्न सुरु भयो । मेरै घरबाट बिजुली र पानी लगेकि थिई । त्यसले गर्दापनि उसको र मेरो हिमचिम बढ्यो । राम लक्ष्मण जस्ता मसिना दुई भाइ छोरा थिए उसका । मिस्त्रीहरूलाई काम लगाउनु । घरमा पानी पटाउनु । सबै एक्लैले गर्थी ऊ । कहिलेकाहिँ म सहयोग गरिदिन्थें । "भो छोड्दिनुस् दिदी । तपाईलाई के को दु:ख । म गरिहाल्छु नी" भन्थी । तर म आफैं उसको काममा साथी बन्न पुग्थें ।
एक साँझ घरको जगमा पानी पटाउँदै मैले सोधें "तिम्रो परिवारमा को को हुनुहुन्छ बहिनी? "
ऊ अक्मकिँदै बोली "सबैजना । सासू, ससुरा, देवर, जेठाज्यू, देउरानी, नन्द, आमाज्यू ।"
"अनि श्रीमान नी ? "
"उहाँ विदेश । जानु भएको भयो, तीन वर्ष ।"
मैले अप्ठ्यारो मान्दै गफलाई निरन्तरता दिएँ । "त्यत्रो ठूलो परिवार रछ । तिमी मसिना छोराहरू अघि पछि झुन्ड्याएर किन एक्लै यत्रो काम गर्छेऊ ?"
"आ दिदी ! यो बिषयमा कुरा नगरौं ।"
"किन ?"
"किनकी मलाई वितेका कुरा कोट्याएर खाटा बसेको घाउ उप्काउँनु छैन । पीर चिन्ताले दिन रात रुँदारुँदा आँखा खोबिल्टा परे । बगेका आँसु जम्मा पारेको भए एउटा कुवा बन्थ्यो होला ।"
"पीरलाई लुकाएर झन् पीडा दिन्छ । अरुलाई भन्दा बरु मन हलुङ्गो हुन्छ ।" मैले सहानुभूति दर्साएँ । तर त्यो दिन उसले आफ्नो भित्री कुरा खोल्न चासो देखाइन । मैले उसको इच्छा विपरित करकाप पनि गरिन । सदा झैं ऊ घरमा पानी पटाएर छोरा डोर्याउदै डेरामा फर्की । मेरो मुटु भने कुटु कुटु खाइरह्यो "के होला उसले खोल्न नचाहेको रहस्य ?" आधा रातसम्मै मनमा बेचैन र खट्पटी चलिरह्यो ।
बिहान भयो । मिस्त्रीहरूको कल्याङ कुलुङ सुनियो । मेरो ढोकाको घण्टी किरिङ किरिङ बज्यो । ढोका खोलें । ढोका अगाडि एक्लै उभिरहेकी थिई ऊ हातका औंला पड्काउँदै । छोराहरू थिएनन् । चिया उम्लिँदै थियो ग्याँसमा । मैले उसलाई भनें "चिया खाएर जाऊ ।" ऊ कुर्सी तानेर मायालाग्दो पाराले थपक्क बसी ।
"छोराहरू ख्वै त ?" मैले सोधें ।
"बहिनी आइछे । सानिमा भनेपछि मरिहत्ते गर्छन् । त्यसैले उतै बसे ।"
"चिनी कति चम्चा राखुँ ? "
मुसुक्क हाँस्दै उसले भनि"तीन चम्चा । म सानै देखि अलि बढिनै गुलियो खान्छु । माइतमा आमा कराउनुहुन्थ्यो 'धेरै गुलियो नखा है चन्द्री, चिनी रोग लाग्ला' भन्दै । 'लागे मलाइनै लाग्छ । तपाईलाई लाग्दैन' भनेर जित्थें ।"
"बुवाआमा दुबैजना हुनुहुन्छ ?"
"हुनुहुन्छ ।"
एक सुरुप चिया तानेर उसले भनि "हिजो मैले बितेका कुरा गर्न नचाहेर तपाईलाई ठेस पुर्याएकी जस्तो लाग्यो । घरमा गएर थकथकी लागिरह्यो ।"
"त्यस्तो केही सोच्नु पर्दैन । उसैपनि व्यक्तिगत कुरा कसलाई सुनाउने कसलाई नसुनाउने आफूमा भरपर्ने कुरा हो । मेरा दिदी बहिनी नभएका हुनाले तिमीलाई म आफ्नै बहिनी मान्छु । त्यसैले मनले जितेर आवश्यक भन्दा बढ्तै जिज्ञासु भएँ म पनि ।"
ऊ एक्कासी भावुक भइ । गह सरर रसिला बनाई । खस्यो, रोक्दा रोक्दै एक थोप्ला आँसु टुप्लुक्क चियामा । ऊ बगेको सिँगानलाई सुँक्क सुँक्क माथि तान्दै अतिततिर फर्किएर बोल्न थाली "मैले प्रेम विवाह गरेकी । गरीबकी छोरी भनेर घरमा नोकर्नीको दर्जा दिए । गर्भमा थियो मेरो ठूलो छोरा । दर्केको थियो साउने झरी । श्रीमान बोलबम जानु भएको बेला मलाई घरबाट निकाले । माइत जाऊँ भने पनि छरछिमेकीले कुरा काट्ने लाजले जान सकिन । घर नजिकै बस्थे एक जोडी थारु परिवार । उनिहरु बनिबुतो गरेर पेट पाल्थे । तर थिए, मनका साह्रै धनी । उनिहरुकै घरमा सात दिन सात रात गुजारें मैले । मेरो ठूलो छोरो त्यहिँ जन्मियो । श्रीमान बोलबमबाट फर्किएपछि त्यो गाऊँ छोड्यौं । यहाँ आएर डेरामा बस्न थाल्यौं । साह्रै नमिठो लाग्छ त्यो दिन सम्झिँदा । ऊ हिक हिक गेरेर हिक्का छोड्न थाली । मेरो बोली भित्रै गाँठो पर्यो । केही बोल्नै सकिन म ।
ऊसले जुरुक्क उठेर आँसु पुछपाछ पारी । र घर बनाउने ठाउँमा पुगी । म झ्यालबाट हेरिरहें । मिस्त्रीले भन्न थाल्यो "दिदी सिमेन्टी त दुई बोरा मात्रै रछ ।"
"ठीक छ म गएर ल्याउँछु ।" उसले जवाफ दिई ।
त्यसपछि साडीको सप्को मिलाउँदै हार्डवयर पसलतिर लम्की ऊ । मलाई उसका छोराहरूप्रति निक्कै मोह भएछ । आज देख्न नपाको के नपुगे के नपुगे जस्तो भएर मन असन्तुलित भैरहेछ । मेरा आफ्ना सन्तान भएनन् । त्यसैले पनि होला, मसिना केटा केटी भनेपछि म हुरुक्कै हुन्छु । मेरा श्रीमान क्याम्पसका प्रध्यापक हुन् । म उनकी अर्धाङ्गिनी ।
'बाँचे पाल्छु मरे फाल्छु' भनेर अग्निको सामु कसम खाँदै सिउँदोमा सिन्दुर भरेका थिए । तरपनि छोरा छोरी नजन्मेको दोष मलाई थुपारेर सरक्क पन्छिए उनी । प्रध्यापीकासँग दोस्रो विवाह गरेर अलग्गै बस्छन् । कहिलेकाहिँ श्रीमान श्रीमती झुल्किन्छन् । दुई चार घण्टाको लागि । खाजा खाएर फर्किन्छन् । उसले पनि सन्तानको मुख देखाउन सकिन उनलाई ।
म उती खोजीनिति गर्दिन । उनी नाम मात्रैका मेरा श्रीमान । गाउँ घर छिमेकले मलाई उनकी जेठी पत्नीको रुपमा चिन्छन् । तर म उनलाई एउटा छिमेकि भन्दा बढ्ता केही मान्दिन । 'मन रहे पो माया प्रिती । हाँस खेल । हिरामोती । मनै मरे केको तृष्णा ? ' याम बरालको यो गीत मलाई औधी यथार्थ लाग्छ । प्राय सुनीरहन्छु म ।
म एक्लै माथिल्लो तलामा बस्छु । भूइँका पाँचवटै कोठाहरू भाडामा दिएको छ । ढोकाको घण्टी बज्यो । म हतार हतार गएर ढोका खोलें । चन्द्रा रैछिन् । उनी आज अरु दिनको भन्दा उदाश थिइन् ।
"के भयो चन्द्रा ? " मैले प्रश्न गरें ।
"दिदी तपाईको एउटा सानो सहयोग चाह्यो ।"
"कस्तो सहयोग ? शंकोच नमानी भने सकेको सहयोग गर्न हरदम तयार छु म ।"
ऊ खिस्स हाँस्दै केही अप्ठ्यारो पाराले बोली "दश हजार जति छ भने सापट दिनु न दिदी । म श्रीमानले पैसा पठाइदिने बित्तिकै फर्काउँछु ।"
"मैले कम्मरमा झुन्डिएको साँचो झिकेर दराज खोलें । दश हजार उसको हातमा राखिदिएँ । ऊ मुसुमुसु हाँस्दै मलाई धन्यवाद दिएर बाहिर निस्की । मैले साँचोको झुत्तो पुन कम्मरमा घुसारें । उसको तितो अतितलाई मनमनै खेलाउँदै चामल भिजाएर तरकारी केलाउन थालें । बिहानको दश बजिसकेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...