राप्रपाका दुई मन्त्रीसहित आइतबार मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं २३ साउन । 

प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल कांग्रेस र माओवादी केन्द्रलाई हम्मेहम्मे परेको छ । मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएपछि दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड आफैं बुढानीलकण्ठ निवास पुगेका थिए । दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने र राप्रपासहित साना दललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आइतबार साना दलमध्ये राप्रपाका दुई मन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य भइरहेको छ । यसअघि छुट्याइएका मन्त्रालय अदलबदल गर्न सक्नेबारे दुई शीर्ष नेताबीच कुराकानी भएको ती सदस्यको भनाइ छ ।

‘परराष्ट्र मन्त्रालयमा कसलाई लैजाने भन्नेबारे कांग्रेसभित्र असमझदारी बढेको हुँदा कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि कुराकानी भयो,’ स्रोतले भन्यो, ‘कांग्रेसमा त्यो मन्त्रालयमा कसलाई पठाउने विवाद नमिले माओवादीले परराष्ट्र पाउने सम्भावना पनि छ । मधेसवादी दल सरकारमा आउन सक्ने वातावरण बनेमा पररराष्ट्रमा मन्त्री नियुक्ति नै स्थगित हुन सक्छ ।’

स्रोतले देउवा र दाहालबीच तत्कालीन केपी ओली सरकारले जाँदाजाँदै गरेका नियुक्ति, सरुवा र बढुवाका निर्णय फिर्ता गर्नेलगायत विषयमा निर्णय गर्नुपर्नेबारे समेत बतायो । बुधबार प्रधानमन्त्री चुनिएका माओवादी अध्यक्ष प्रचण्डले भोलिपल्ट शपथग्रहण गर्दा आफ्नो दलका तर्फबाट तीन मन्त्रीमात्रै नियुक्त गरे । कांग्रेसले दुई मन्त्रीमात्रै पठायो ।

जबकि, दुई दलबीचको समझदारीअनुसार कांग्रेसले पहिलो चरणमा चार मन्त्री पठाउने तय भएको थियो । नेता शेखर कोइराला र अर्जुननरसिंह केसी इच्छाएको मन्त्रालय नपाएपछि शपथमा गएनन् । कोइरालालाई परराष्ट्रबाहेक अरू मन्त्रालय रोज्न सभापति देउवाले आग्रह गरेपछि उनी असन्तुष्ट बनेका थिए । 

अर्का नेता केसीलाई रक्षा मन्त्रालय दिने निर्णय भएको थियो । उनले जनसम्पर्क भएका मन्त्रालय माग्दै रक्षामा शपथ लिन मानेनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...