काठामाडौं, २८ साउन ।
हुन पनि त एउटा नेपालीलाई परेको बेला अर्को नेपालीको मन छुनु स्वाभाविकै हो। अझ भनौ यो एउटा व्यक्ति भन्दा पनि मानवीय सम्बन्ध संग जोडिएको हुनाले सबै नेपालीहरु एकाकार हुनु आफैमा गौरबको कुरा पनि हो।
यस बेला देश देखि विदेश सम्म रामचन्द्र तिमिल्सिना बचाउ अभियान तिब्र रुपमा बढेको छ। यो बचाउ अभियान भन्दा पनि रिहाई अर्थात् उद्दार अभियान हो। मृत्युदण्ड पाईसकेको खण्डमा बचाउ अभियान भन्दा उपयुक्त होला। तर रामचन्द्र मृत्युदण्ड नभई बन्दि जीवन मात्र बिताईरहेको अवस्थामा उद्दार अभियान भन्दा उपयुक्त हुन्छ।
को हुन् त रामचन्द्र तिमिल्सिना ?
कुशादेबी–२, घिमिरेगाउँ काभ्रेपाल्चोक, नेपाल घर भई हाल बैदेशिक रोजगारीका सिलसिलामा जाबिराह हायल सिमेन्ट कम्पनी साउदी अरबमा सवारी चालकको रुपमा कार्यरत रामचन्द्र तिमिल्सिना सोहि कम्पनिमा कार्यरत पाकिस्तानी नागरिक मारिएको अभियोगमा बिगत २१ महिनादेखि हायल सेन्ट्रल जेलमा छन् ।
मृतक पाकिस्तानी नागरिक परिवारका तर्फबाट वकालत गर्दै आइरहेका ओकिल मुनिर अव्वास र तिमिल्सिनाको मुद्दा नजिकबाट नियाल्दै आइरहेका राम प्रसाद सापकोटाद्वारा नेपाली राजदूतावास रियादलाइ प्रेषित गरिएको पत्रको आधारमा करिव एकलाख बिस हजार साउदी रियाल ब्लडमनि दिए मृतका परिवारले मुद्दा फिर्ता लिनेछन र तिमिल्सिना जेल कारावासबाट फर्किन सफल हुनेछन् ।
निज तिमिल्सिनाले मादक पदार्थ सेवन गरि गाडी चलाएको र सोहि कारण गाडी अनियन्त्रित भई उक्त कम्पनीमै कार्यरत पाकिस्तानी नागरिक सवार कारलाई ठक्कर दिदा उनि घटनास्थलमै मारिएको पिडित पक्षको कथन छ, भने पीडक अर्थात् रामचन्द्र तिमिल्सिनाको बयान भिन्न प्रकारको छ।
पीडक तिमिल्सिना भन्छन-'मैले मादक पदार्थ सेवन गरि गाडी चलाएको नभई पार्किङ राखिएको मेरो मालबाहक गाडीमा पाकिस्तानी नागरिक चढेको कार ठोक्किदा उक्त कारमा सवार पाकिस्तानी नागरिकको घटनास्थलमै मृत्यु भएको हो, र पाकिस्तानी बाहुल्य भएको सो कम्पनीका पाकिस्तानी नागरिकहरु मिलि मैले चलाउने गाडीमा रक्सि र बियारहरुका बोतल राखी मलाई षडयन्त्रमुलक तरिकाले फसाइयो।' यद्दपी उनि साउदी कानुन अनुसार सडक दुर्घटनाका कारण मान्छे मारिएको आरोपमा बिगत लामो समय देखि जेल जीवन बिताई रहेका छन्।
रामचन्द्र तिमिल्सिना त प्रतिनिधि पात्र मात्र हुन्। उनि जस्ता दर्जनौं नेपालीहरु सडक दुर्घटनाकै क्रममा ज्यान मारेको आरोपमा साउदी अरबका विभिन्न जेलहरुमा लामो समय देखि ब्लडमनी तिर्न नसकेर कठोर जेल जीवन बिताउन बाध्य छन।
सडक दुर्घटनाकै क्रममा मान्छे मारिएको आरोपमा साउदी अरबका विभिन्न कारागारहरुमा अन्य नेपालीहरु पनि तोकिएको ब्लडमनी तिर्न नसक्दा बन्दि जीवन बिताइरहेका छन्।
को - को छन् त् साउदीको जेलमा बन्दि जीवन बिताउन बाध्य नेपालीहरु ?
१ - सडक दुर्घटनामा बंगलादेशी नागरिकको मृत्युको कारक बनेका सुरेश मण्डल मृतकका परिवारले माग गरेको ५ लाख टाका (६ लाख ८० हजार रुपैयाँ) तिर्न नसक्दा अलहसा जेलमा छन् । उनीबारे परिवारले समेत सोधखोज गर्न छाडिसके भनिन्छ । मण्डलले जेलजीवन बिताएको साढे ६ वर्ष भइसक्यो ।
२ - धनुषा, पुष्पवलपुर–१, रतनपुरका सञ्जीवकुमार यादव साढे दुई वर्षयता जेलमा छन् । सवारी चलाउने क्रममा एक भारतीयको मृत्यु भएपछि उनलाई ज्यानमुद्दामा जेल चलान गरियो ।
मृतकका परिवारले ९७ हजार ७ सय साउदी रियाल मागेकामा बुझाउन नसक्दा उनी अलहासा जेलमा छन् । उद्धारका लागि उनी आफैंले दूतावासमा लिखित निवेदन पठाएका थिए ।यादवको रिहाइका लागि परिवारबाट बारम्बार दूतावासमा अनुरोध गरिएतापनि ब्लडमनी बुझाउने व्यवस्था नहुँदा मुक्त हुन सकेका छैनन् ।
३ - सर्लाही, कर्मैया–५ का विष्णुहरि पाण्डे रियादस्थित मलाल जेलमा बसेको तीन वर्ष बढी भयो । सडक दुर्घटना क्रममा एक साउदी नागरिकको मृत्यु भएको मुद्दामा उनीसँग ३ लाख साउदी रियाल ब्लडमनी माग गरिएको छ । सोही रकम तिर्न नसकेर माफी पाउने समयको प्रतीक्षामा जेलमै भित्ता कोरेर बस्ने गरेका छन् उनी ।
४ - तीन वर्षअघि मुद्दा खारेज भइसक्दा पनि नेपाली दूतावासले पहल नगर्दा बेलबारी–८, मोरङका भीमबहादुर दाहाल पनि जेलमै छन् । आफूजस्तै मुद्दा खेपेका अन्य राष्ट्रका मानिस धमाधम जेलमुक्त भएको हेरेर बसेका उनी भने छिट्टै छुट्दै छन् ।
वादी अल दवासिरस्थित कविर सिजन जेलमा चार वर्ष तीन महिना बिताइसकेका उनी साउदीको कामदार हुने सर्तमा जेलमुक्त हुन लागेका हुन् । उनी भन्छन्, ‘यसपटक चैं प्रहरीकै एक उच्च ओहोदाका साउदी नागरिकले कागजपत्र तयार गरेर पहल गर्दैछन्, अब चैं जेलमुक्त हुनेभएँ ।
५ - उनी रहेकै जेलमा बुधबारे–६, झापाका मदन पन्दाक लिम्बू पनि छन् । मदन साउदी आएको चार महिनामै सडक दुर्घटनामा परेका थिए । उनको गाडीको पछाडि आएर ठोक्किएको टाटा पिकमा सवार एक यमनी नागरिकको मृत्यु भएको थियो ।
जेल परेका उनीलाई मृतकको परिवारले माफी दिएको तर कम्पनीले छुटाउने पहल नगर्दा एक वर्षदेखि जेलजीवन बिताइरहेका छन् । लिम्बू भन्छन्, ‘एक वर्षअघि एम्बेसीमा फोन सम्पर्क गरेर भनेको, आउँछु भन्थे, कोही आएनन् । मेरो मुद्दा के भइरहेको छ, केही पनि थाहा छैन, पहल गरिदिने र बुझिदिने कोहि भएन ।'
सोही जेलमा रहेका दाहालले उनका बारे जानकारी दिँदै भने, ‘सोझा लिम्बू छन्, चुपचाप बसिरहन्छन् । तपाईंले सम्पर्क गर्नु भनेको छ भन्दा पनि विश्वास नै गरेनन् ।’
मृतकका परिवारले माफी दिँदा पनि छुट्न नसक्नुमा सम्बन्धित कम्पनीमा कसैले सोधपुछ र साउदी सरकारसमक्ष पहल नगरिदिँदा लिम्बू जेलमै बस्न बाध्य भएका हुन् । कम्पनीले उनलाई कागजपत्ररहित लाइसेन्सबिनाको सवारीसाधन चलाउन लगाएको थियो ।
६ - सडकछेउमा राखेको डोजरमा आफैँ अनियन्त्रित भई आएर ठोक्किई भएको कार दुर्घटनामा एक साउदी बालकको मृत्यु हुँदा सवारीचालक तनहुँ, दुलेगौंडा हलेसी–३ का धनबहादुर थापामगर ताइफस्थित जेलमा छन् । उनलाई ब्लडमनी स्वरुप ३ लाख साउदी रियाल माग गरेर जेल हालिएको छ । ब्लडमनी तिर्न नसकेर उनी पनि एक वर्षदेखि जेलमा छन् ।
७, काभ्रे, कुशादेवी–२ घिमिरेगाउँका रामचन्द्र तिमिल्सिना विगत २१ महिनादेखि हायल सेन्टर जेलमा छन् । सवारी दुर्घटनामा एक पाकिस्तानी नागरिक मारिएको र मृतकको परिवारले ब्लडमनीस्वरुप एक लाख २० हजार साउदी रियाल माग गरेका छन् ।
अहिले देशविदेशमा उनलाई जेलमुक्त गराउन स्वस्फूर्त रुपमा सहयोग संकलन गर्ने अभियान चलिरहेको छ । रामचन्द तिमिल्सिनाको मुद्दा अहिले धेरै सहज बन्दै गरेको छ। उनलाई लागेको ब्लडमनी १ लाख २० हजार साउदी रियल अर्थात् करिव ३३ लाख ६० हजार नेपाली रुपैया देश बिदेशमा संकलन भई रहेको छ। जसको लागि साउदी अरबमा क्रियाशील विभिन्न संघ सस्था, व्यवशायी,तथा स्वत स्फुर्त रुपमा आम श्रमिकहरु एकाकार भएका छन्।
प्राप्त जानकारी अनुसार -
१) सुप्रिम बैंक पनौतिमा रु १०३३७३२
२) वाणिज्य बैंक बनेपामा रु ४३७२८८
३) वाणिज्य बैक धुलिखेलमा रु ८१७८८७
कुल रकम रु २२८८९०७ देखिएको छ। यस्ता हजारौ सहयोगी मन र हातहरु रात दिन नभनी आर्थिक संकलनमा जुटी रहेकाछन। यो रकम अपेक्षा गरिएको भन्दा कैयौ गुणा बढी संकलन हुने आंकलन देखिन्छ।
यो सकारात्कम पक्ष हो, तथापी पिडित रामचन्द्र तिमिल्सिनाको उद्दार पश्चात पनि सहयोगी मनहरुले अन्य दर्जनौ पिडित नेपालीहरुलाई उद्दार गर्न हामी सबैले पहल कदमी गर्नु पर्ने हुन्छ। साथै संकलित रकम कहिँ कतै दुरुपयोग नहुन पनि तमाम नेपालीहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहजकर्ता,संघ सस्थाहरु,व्यवसायी,बिद्धिजिवी,समाजसेवी तथा सम्पूर्ण पत्रकार जगत सजग हुन जरुरी छ।
बिगतमा यस्ता घटनाहरु हामीमाझ सेलाएका छैनन्। अनिश खालिंग राईको बचाउ अभियानमा करोडौ रकम संकलित भएको थियो। त्यो रकम अहिले हुदो हो त यस्ता केसहरु सहजै निराकार हुन् सक्दथे। परन्तु बिगतमा जे भए, त्यसबाट पाठ सिक्दै भविष्यमा सजग हुनु हाम्रो कर्तब्य अनि दायित्व हो।
स्रोत- विभिन्न पत्र पत्रिका,अन्लाईन खबर,फेसबुक वाल,सामाजिक संघ सस्था तथा राष्ट्रिय अन्तराष्ट्रिय रामचन्द्र बचाउ अभियान।
(लेखक - भानु प्रदेशी, नेत्रविक्रम चन्द 'विप्लव' माओवादी निकट नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरब,पुर्व महासचिव हुन् )