नेदरल्याण्डमाथि नेपालको सानदार जित


दिया चन्द, काठमाडौं, ३१ साउन ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई १९ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर नेदरल्याण्डसामु २ सय १८ रनको चुनौती प्रस्तुत गरेको थियो ।

उक्त लक्ष्य पुरा गर्न जवाफी ब्याटिङ थालेको नेदरल्याण्डले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९८ रन बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मीले २-२ तथा शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले १-१ विकेट लिए।

नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल चार रन जोड्दै बाहिरिएका थिए। त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषवाकर पनि छ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए भने तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो ।


५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिदा नेपालले जम्मा ६५ रन मात्र जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले अाज नेपाली पारी सम्हाले।

खेलको १४ दशमलव ४ ओभरमा भेषवाकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाएका थिए । चौरानब्बे बल खेलेका उनले सात चौका र एक छक्काको मदतमा ८४ रन जोडेका हुन् । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । अठहत्तर बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे ।

त्यसैगरी विनोद भण्डारीले १७, वसन्त रेग्मीले चार तथा सोमपाल कामीले दुई रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।

आज भने नेपाली बलरका सामु नेदरल्याण्ड निरही बनेपछि नेपाली स्पेनरहरु उसकै घरेलु मैदानमा चम्किएका हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...