एउटा यस्तो पेन्ग्विन जसले हरेक वर्ष ८ हजार किमी पौडी खेलेर आफ्नो विशेष साथीलाई भेट्छ (भिडियो सहित )

यदि कसैका कारण तपाईंको जीवन बचेको छ भने ती व्यक्तिको उपकार तपाईंले जिन्दगीभर पनि बिर्सनुहुन्न । यस्तो सोच मानिसहरुमा मात्र नभई जनावरमा पनि पाइएको छ । यदि विश्वास लाग्दैन भने यो पेन्ग्विनलाई हेर्नुहोस् जो हरेक वर्ष ८ हजार किलोमिटर यात्रा गरेर ती व्यक्तिलाई भेट्न आउँछ जसले सन् २०११ मा उसको ज्यान बचाएका थिए ।



५ वर्ष पहिले ब्राजिलका माझी जोआ पेरिरा डि सुजा, ७१, ले एक सानो पेन्ग्विनलाई मर्न लागेको अवस्थामा भेटेका थिए । शरिरभरी तेल लागेको र मृत्युको नजिक पुगेको यो पेन्ग्विनलाई ढुङ्गामा सुतिरहेको अवस्थामा स्थानीय समुन्द्रको तटमा भेटेका थिए ।

जाओले तत्काल पेन्ग्विनको प्वाँखबाट सारा तेल सफा गरिदिए र ताकतका लागि उनलाई दैनिक माछाको सुप खुवाए । त्यसपछि उनले नै त्यो पेन्ग्विनको नाम राखिदिए, डिन्डिम ।


उनी भन्छन्, भेटेको एक वर्षपछि उनले त्यो पेन्ग्विलाई समुन्द्रमा छोड्न प्रयत्न गरे । तर, त्यो जान मानेन । ‘त्यो पेन्ग्विन मसँग ११ महिना बस्यो । शरिरमा नयाँ प्वाँख पलाएपछि त्यो बेपत्ता भयो,’ जोआले सम्झिए ।

मेट्रो डट कम का अनुसार त्यसको एक वर्षपछि डिन्डिम फर्कियो । समुन्द्रको तटमा आफ्नो ज्यान बचाउने माझीलाई देखेपछि उनलाई घरैसम्म पछ्यायो ।

विगत पाँच वर्षदेखि वर्षको आठ महिना डिन्डिमले जोआसँग समय बिताउने गर्दछ । आफ्नो ज्यान बचाउने व्यक्तिसँग पुर्नमिलनका लागि डिन्डिमले ८ हजार किलोमिटरको यात्रा गर्ने गरेको विश्वास गरिन्छ ।

‘मलाई यो पेन्ग्विन मेरो आफ्नै सन्तान जस्तो लाग्छ । मलाई यसको औधी माया लाग्छ र यसले पनि मलाई उत्तिकै माया गर्छ भन्ने मलाई विश्वास छ,’ जोआले ग्लोबो टिभीलाई बताए । ‘यसलाई कसैले पनि छोएको मन पर्दैन । कसैले छोएमा यसले ठुङ्छ । तर यो मेरो काखमा बस्छ, मैले नुहाइदिदा, ख्वाउँदा र बोक्दा निकै आनन्द मान्छ र चुप लागेर बस्छ ।’



‘सबैले मलाई यो अब फर्केर आउँदैन भन्छन् तर विगत पाँच वर्षदेखि यो नियमित आइरहेको छ । यो प्रत्येक वर्ष जुनमा यहाँ आउँछ र फेब्रुअरीमा आफ्नो घर फर्कन्छ । र प्रत्येक वर्ष यसले मलाई निकै माया गर्छ र मलाई भेट्दा असाध्यै खुसी भएको जस्तो देखिन्छ ।’

ग्लोबो टिभीका लागि अन्र्तवार्ता लिने जीव वैज्ञानिक प्राध्यापक क्रजिविस्किले इन्डिपेन्डेन्टलाई बताए, ‘मैले यस्तो घटना पहिले कहिले पनि देखेको थिइनँ । जोआले पनि पेन्ग्विनलाई आफ्नो घरको सदस्यको रुपमा हेर्छन् र सायद पेन्ग्विनले पनि ।’


‘जब पेन्ग्विनले जोआलाई भेट्छ तब कुकुर निकै रमाएको बेलाजस्तै यसले मज्जाले पुच्छर हल्लाउँछ ।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...