विदेशी जेलमा ब्लडमनी कुरिरहेका नेपालीलाई छुटाउन ५ लाख सीडमनी, ज्यान गुमाएकाको परिवारले थप २ लाख राहत पाउने
सरकारले विदेशी जेलमा रहेर ब्लडमनी कुरिरहेका नेपाली कामदारलाई छुटाउन ५ लाख रुपैयाँ सीडमनी दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री भएपछि पहिलो पटक संसदलाई विहीबार सम्बोधन गर्दै प्रचण्डले ब्लड मनी अभावका कारण विदेशी जेलमा रहेका नेपालीहरुलाई छुटाउन पहल गर्ने बताए । यसका लागि सरकारले ५ लाख रुपैयाँ सीडमनी दिने बताए । बाँकी रकम भने देश-विदेशबाट जुटाउने उनले बताए ।
अहिले विदशेमा ब्लड मनी कुरिरहेकाहरुलाई सरकारले ५० हजारसम्म सीड मनी दिन सकिने व्यवस्था छ । सरकारी तथ्यांक अनुसार यो रकम अहिलेसम्म एक जनाले मात्र पाएका छन् । सरकारले दुबईको जेलमा ब्लडमनी कुरिरहेका अनिल खालिङलाई ५० हजार दिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने राहत पनि बढाएको घोषणा गरे । उनले थप २ लाख रुपैयाँ दिने संसदमार्फत घोषणा गरेका हुन् ।
अहिले वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख रुपैयाँ दिइन्छ । तर, कोषले कार्यविधि परिवर्तन गरेर ५ लाख पुर्याउने तयारी भइरहेको थियो । प्रधानमन्त्रीले यसलाई बढाएर सात लाख रुपैयाँ बनाउने घोषणा गरेका छन् ।
असोजभित्र स्थानीय तहको टुंगो लगाइने
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजजीतिक सहमतिकै आधारमा असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने बताएका छन् । प्रमुख दलहरुबीच बुधबारमात्र स्थानीय तहबारे तीन दिनभित्र सहमति खोज्ने समझदारी भएको थियो ।
स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगले ५६५ स्थानीय तह बनाउन प्रस्ताव गरेको छ । तर, यसबारे प्रमुख दलहरुबीच साझा धारणा बन्न सकेको छैन ।
साथै चुनावका लागि वातावरण बनाउन सबै दललाई आहृवान गरे । उनले भने, राजनीतिक लाभ-हानी नहेरी चुनावको वातावरण बनाउन म सबैलाई आहृवान गर्छु ।’
आफू निर्वाचन आयोगसँग निरन्तर सम्वादमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले ०७४ माघ ७ भित्र तीनवटै चुनाव गर्न आफ्नो नेतृत्वको सरकार प्रतिवद्ध रहेको बताए ।
भूकम्प पीडित परिवारलाई ८ लाखसम्मको प्याकेज घोषणा
भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज घोषणा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलाई पहिलो किस्ता दिने कामले तीव्रता पाएको बताए । आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको तर, यसमा समेत सन्तुष्ट नभएको बताए ।
४५ दिनभित्र पहिलो किस्ता दिने आफ्नो निर्णय रहेको भन्दै उनले यसमा ढिलासुस्ती मान्य नहुने बताए ।
भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान अपर्याप्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक लाख थप्ने घोषणा गरे । यस्तै सामूहिक जमानीमा ३ लाख निव्र्याजी ऋण दिइने प्रधानमन्त्रीले संसदलाई जानकारी गराएका छन् ।
भूकम्पका कारण आवाससँगै पेशा र रोजगारी गुमाएका परिवारलाई स्वरोजगारमुलक व्यवसायी संचालन गर्न परियोजना धितोका आधारमा सहुलियतपूर्ण व्याजदरमा २ लाखसम्म ऋण दिइने उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘यसरी प्रभावित परिवारले ८ लाखसम्मको सहयोग र सुविधा प्राप्त गर्नेछन् ।’
५ लाखलाई मध्यकालिन र अल्पकालिन अवधिका निःशुल्क सिपविकास तालिम सञ्चालन गरिने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माणमा ढिलासुस्ती गर्नेलाई कारबाही र समय अगावै सक्नेलाई पुरस्कार दिइने बताए । साथै ४० ठाउँमा भूकम्पपूर्व चेतावनी दिइने केन्द्र स्थापित गरिने समेत घोषणा गरे ।
प्रतिकृया दिनुहोस्
Loading...

